×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा कृषि पर्यटन प्रवद्र्धन लागि होमस्टे निर्माण हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा कृषि पर्यटन प्रवद्र्धन लागि होमस्टे निर्माण हुँदै

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।
दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।
बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भन्नुभयो, “उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।” यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उहाँको भनाइ छ । सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ । सो भवनमा २५० जना अट्ने उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताउनुभयो । सामूहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा त्यहाँ भएको काम बहुआयामिक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछाडि परेको समुदायलाई अगाडि बढाएर कृषि पर्यटनमा नमूना काम हुँदैछ ।” यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ । कृषिमा माडी नमूना भएको भन्दै उहाँले अब पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिनुभयो ।
त्यसै वडामा रामको जन्मभूमि अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमा नै वाल्मिकी आश्रम, वैकुण्ठ धाम, सीता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।
सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवारमध्ये ४९ घर दलितको ३४ घर बाहुन क्षेत्रीको र तीन घर जनजातिको रहेको छ । हाल सामूहिक खेती गरिएको क्षेत्रमा टनेलभित्र काउली, खुर्सानी र गोलभेँडा लगाइएको छ । यससँगै धानखेती गरिएको छ । वर्षा बढी भएकाले टनेल बाहिर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिनुभयो । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाइ छ । – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: