काठमाडौँ । मातृभूमी लघुवित्तका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध राष्ट्र बैंकमा उजुरी परेको छ । बैंकबाट कर्जा लिँदा ‘घुस’ खाएको र पदीय जिम्मेवारीको दुरुपयोग गरेको भन्दै संस्थाका अध्यक्ष लोकराज शर्मा र सीईओ लक्ष्मी प्रसाद शर्माविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको हो । संस्थाका लगानीकर्ता खडानन्द सापकोटाले लघुवित्तका अध्यक्ष र सीईओविरुद्ध राष्ट्र बैंकमा उजुरी दिएका हुन् ।
शर्माले दायर गरेको उजुरीमा शर्माद्वयले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै २०८१ असोज मसान्तमा एनआईसी एशिया बैंकबाट ९.०६ प्रतिशत ब्याजदरमा १ अर्ब रुपैयाँ कर्जा लिएको उल्लेख गरिएको छ । तर, सो कर्जा लिएको १४ दिनमै ५० करोड साँवा र ब्याज तथा सेवा शुल्क गरी करिब १७ लाख रुपैयाँ फिर्ता गरेको उजुरीमा उल्लेख छ ।
कर्जा लिएको १४ दिनमै सो साँवा र ब्याज फिर्ता गर्नुको कारण प्रस्ट नभएको र संस्थाका अध्यक्षको मौखिक निर्देशनमा संस्थालाई भार पार्ने काम गरेकोले सो रकम संस्थाका अध्यक्ष र सीईओबाटै असुल गर्न र कमिसनको लागि बदनियत राखी पदको दुरुपयोग गर्ने दुवैजनालाई कारवाही गर्न पनि उजुरीमा माग गरिएको छ ।
समीक्षा कार्यक्रमका नाममा ‘घोटाला’
अर्कोतर्फ संस्थाका सीईओ शर्माले शाखा प्रबन्धक समीक्षा कार्यक्रमका नाममा आर्थिक अनियमितता गरेको पनि उजुरीमा उल्लेख छ ।
उजुरीका अनुसार २०८१ असोजमा संस्थाले बुटवलमा कर्मचारीहरुलाई भेला गराए शाखा प्रबन्धक समीक्षा कार्यक्रम आयोजना गरेको थियो । जुन कार्यक्रममा मेटलाइफ बीमा कम्पनीलाई प्रायोजक बनाएर होटल, खाना र आदी खर्च भुक्तानी गराएको र सोही बिल संस्थामा पेस गरेर दुई दिनको कार्यक्रम खर्च भन्दै ४० लाख देखाएको पनि उजुरीमा उल्लेख छ । सीईओ शर्माले संस्थामा पेस गरेका बिलहरुमा ओभर स्टिमेट गरेर खर्च बढाएको भन्दै छानबिन गरी कारवाही गर्न र सो बराबरको रकम असुल गर्न पनि उजुरीमा माग गरिएको छ ।
सम्झौता विपरित भत्ता
राष्ट्र बैंकमा परेको उक्त उजुरीमा संस्थाका सीईओ शर्माले सम्झौता विपरित भत्ता लिएको पनि आरोप लागेको छ । सीईओ र संस्थाबीच भएको करार नियुक्ति सम्झौता विपरित सीईओ शर्माले संस्थामा नियुक्ति लिएको १ महिना भित्रै दशैँ भत्ताबापत एक महिनाको बराबरको ३ लाख रुपैयाँ तलबभत्ता र उपदान फण्ड पनि लिएको तर अन्य कर्मचारीलाई ६ महिना नपुगेसम्म दशैँभत्ता नदिने नियम लगाएको भन्दै संस्थाको नियम विपरित सीईओ शर्माले लिएको तलब भत्ताबापतको रकम असुल गर्न पनि माग गरिएको छ ।
त्यस्तै, उजुरीमा सीईओ नियुक्तिको विषयमा आवाज उठाएकै कारण आफूलाई कम्पनी सचिव र अध्यक्षको मिलेमतोमा पदमुक्त गरेको र अनलाइनमार्फत सञ्चालक समितिको बैठक गर्ने र बैठको लिर्णय लिपिबद्ध गर्दा आफू अनुकुल फरक निर्णय लेख्ने गरेको पनि उजुरीमा उल्लेख छ । उजुरीकर्ता सापकोटाले नियमविपरीत आफूलाई पदमुक्त गरिएको दाबी गर्दै पुनर्बाहाल गर्र पनि माग गरेका छन् ।
अध्यक्षको दोहोरो जिम्मेवारी
यता संस्थाका अध्यक्ष लोकराज शर्माले नियम विपरीत दुई संस्थाको जिम्मेवारी सम्हालिरहेको पनि उजुरीमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त नेपाल पमेन्ट सोलुसनमा सीईओको जिम्मेवारीमा रहेका शर्मा यता मातृभूमी लघुवित्तमा अध्यक्ष छन् । शर्मालाई दोहोरो जिम्मेवारीमा बस्न नमिल्ने भन्दै पत्राचारसमेत भइसकेकोमा हालसम्म पनि दोहोरो जिम्मेवारी नछोडेको र बदनियतपूर्ण कार्य गरिरहेको भन्दै शर्मालाई पदमुक्त गराएर संस्थागत सुशासन कायम गराउन पनि माग गरिएको छ ।