×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋषिकेश पत्नीको सहकारीलाई बिना धितो ऋण दिँदा एक्सेल डेभलपमेन्ट बैंकको २ करोड डुब्यो, सिइओकै भूमिका शंकास्पद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ऋषिकेश पत्नीको सहकारीलाई बिना धितो ऋण दिँदा एक्सेल डेभलपमेन्ट बैंकको २ करोड डुब्यो, सिइओकै भूमिका शंकास्पद !

सुदर्शन श्रेष्ठ

२ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नीको सहकारीलाई बिना धितो ऋण दिएको एक्सेल डेभलपमेन्ट बैंकको २ करोड रुपैयाँ डुबेको पाइएको छ । बिना धितो बैंकका कामु सीईओ लेखराज कार्कीको स्वार्थमा पोखरेल पत्नी अन्जला कोइराला सञ्चालक रहेको उमा गौरी कृषि सहकारीलाई दिइएको २ करोड रुपैयाँ डुबेको पाइएको हो । 

बैंकको विराटनगर शाखाबाट २०७७ माघ १६ गते उमा गौरी कृषि सहकारीको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरिएको थियो । त्यसपछि २०७७ माघ २६ गते पनि सोही शाखाबाट सहकारीलाई ५० लाख रुपैयाँ ऋण दिइएको थियो । यसबेला सहकारीले बैंकमा धितो राखेको स्रोतले जनाएको छ । 

तर, धितो राखेर सहकारीलाई दिइएको ऋण चुक्ता नहुँदै बैंकले बिना धितो थप २ करोड रुपैयाँ ऋण दिएको भेटिएको छ । अर्थ सरोकारलाई प्राप्त प्रमाणमा बैंकले २०७८ असोज १९ गते सहकारीलाई बिना धितो २ करोड रुपैयाँ ऋण दिएको देखिन्छ । 

तर, बिना धितो प्रवाह गरिएको उक्त ऋण (२ करोड रुपैयाँ) नउठ्ने पक्का देखिएपछि बैंकले उक्त ऋणलाई खराब कर्जामा वर्गीकरण गरेको छ । सहकारीले धितो राखेको सम्पत्तिले पनि बैंकका ऋण नउठ्ने पक्का देखिएको छ । यद्यपि धितोले खाम्नेसम्म ऋणबापतको सम्पत्तिलाई बैंकले २०८१ पुष २४ गते गैर बैंकिङ सम्पत्तिका रुपमा गणना गरेको छ । 

यसो त बैंकले कर्जा लगानी गरेको उमा गौरी कृषि सहकारी संस्था हाल सञ्चालनमा छैन । अर्कोतर्फ सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला उक्त सहकारीको सञ्चालक रहेकाले पनि उक्त सहकारी ठगी प्रकरणमा चासोको विषय बनेको छ । त्यसैमाथि संस्थाका अध्यक्ष शम्भु प्रसाद रौनियारको नाममा रहेको धितो एक्सेल बैंकमा रोक्का राखिएको र सरकारी मुद्दा भएकाले पनि भविष्यमा धितोमा बैंकको दाबी नहुने शङ्का गर्दै ऋण नखाम्ने मूल्यमा गैर बैंकिङ सम्पत्तिमा गणना गरिएको बैंक स्रोतले बताएको छ । 

नक्कली ऋणी खडा गरी असुलीको नाटक !  
बैंकले कामु सिइओको स्वार्थमा ऋषिकेश पत्नी सञ्चालक रहेको उक्त सहकारीमा प्रवाह गरेको ऋण सरासर गलत थियो । कम धितोलाई पनि ‘ओभर भ्यालुएसन’ गरी प्रवाह गरिएको कर्जा नउठ्ने पक्का देखेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्र कुमार कट्टेलको निर्देशनमा बैंकका नक्कली ऋणी खडा गरिएको थियो । २०७९ पुष २० गते श्री भण्डारी हार्डवेयरका प्रोप्राइटर अमोद मण्डलका नाममा ४५ लाख रुपैयाँ कर्जा स्वीकृत गराई सोही कर्जाले उमा गौरी कृषि सहकारीको कर्जा तिरेको तथ्य फेला परेको छ । 

हाल बैंकबाट सहकारीको ऋण नियमित गराउन गरिएको उक्त भण्डारी हार्डवेयरको नाममा प्रवाह गरिएको कर्जासमेत खराब कर्जामा वर्गीकरण भएको छ । यसरी बैंककै सिइओ र डिसीइओ  स्वार्थका कारण बैंकको करोडौँ रुपैयाँ डुब्नुका साथै विभिन्न मितिमा कर्जाको दुरुपयोग भएको तथ्य पनि बैंक स्टेटमेन्टबाट पुष्टि हुन्छ ।

यता हामीले उक्त विषयमा बुझ्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्र कुमार कट्टेलाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर, उनले हाम्रो फोन नै उठाएनन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी