काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) अन्तर्गतको सहकार्यले अहिले विश्व आपूर्ति श्रृंखला प्रणालीमा एक ऐतिहासिक मोड ल्याएको छ । ‘मेड इन इन्डिया, पावर्ड बाइ अष्ट्रेलिया’ भन्ने अभियान अन्तर्गत दुवै देशले औद्योगिक उत्पादन, कच्चा पदार्थ आपूर्ति, ऊर्जा साझेदारी र प्रविधि हस्तान्तरणमा तीव्र प्रगति गरेका छन् ।
भारतमा उत्पादित वस्तुहरू अहिले अष्ट्रेलियाबाट प्राप्त कच्चा पदार्थ तथा प्रविधिको सहयोगमा थप प्रतिस्पर्धी र गुणस्तरीय बन्दै गएको पाइन्छ । विशेषगरी स्वच्छ ऊर्जाबाट सञ्चालित आपूर्ति प्रणाली, हरित प्रविधिमा आधारित उत्पादन प्रक्रिया र श्रमिक हितमैत्री कानूनले यो साझेदारीलाई भविष्यसम्म टिक्न सक्ने मोडेलको रूपमा उभ्याएको छ ।
सन् २०२२ मा लागू गरिएको ईसीटीएले दुवै देशबीच भन्सार शुल्कमा उल्लेख्य कटौती गर्यो, जसले कृषि, वस्त्र, गहना, अटो पाट्र्स र सूचना प्रविधिको क्षेत्रमा तत्काल व्यापार वृद्धि गर्यो । अहिले यसको प्रभाव स्मार्ट म्यानुफ्याक्चरिङ र स्टार्टअप एक्सचेञ्जको माध्यमबाट आपूर्ति श्रृंखलाको समग्र पुनर्संरचनामा देखिन थालेको छ।
विशेषज्ञहरूका अनुसार, यो साझेदारीले चीनमाथिको निर्भरता घटाउने, लोकतान्त्रिक साझेदारबीचको विश्वास बलियो बनाउने र हिन्द–प्रशान्त क्षेत्रको सामरिक स्थायित्वलाई मजबुत पार्ने सम्भावना राख्छ । युरोप र अमेरिकाले समेत यो मोडेललाई नजिकबाट हेरिरहेको पृष्ठभूमिमा, नेपाल जस्ता छिमेकी मुलुकहरूले पनि यस्तो क्षेत्रीय साझेदारीको फाइदा कसरी लिन सकिन्छ भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने देखिन्छ ।
आजको विश्व जहाँ आपूर्ति शृंखलाको सुरक्षालाई राष्ट्रिय सुरक्षाको अङ्गको रूपमा हेरिन्छ, त्यहाँ भारत र अष्ट्रेलियाको सहकार्यले नयाँ दिशाको मार्ग प्रशस्त गरेको छ । यो मोडेलले विश्व बजारमा स्वच्छ, भरोसायोग्य र लोकतान्त्रिक आपूर्ति प्रणालीको नयाँ सम्भावना देखाएको छ ।