काठमाडौँ । एयरपोर्टमा छोरीहरु रोहिरहेछन्, आमाहरु भक्कानिरहेछन् । छोरो विदेशिएको पीडाले बा थाप्लोमा हात राखेर गहभरी आँशु बोकेर घर फर्किंदैछन्, श्रीमती र प्रेमिकाहरु आफ्नो प्राण प्रिय मान्छेलाई बिदाईको हात हल्लाएर मन गरुङ्गो बनाईरहेछ । अनि यो आँशुले धानेको देश रेमिट्यान्स बढ्यो भनेर अर्थतन्त्र लयमा फर्केको गफ दिईरहेछ । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको रेमिट्यान्स बढेको तथ्यांकले देशको अर्थतन्त्रलाई त केही टेवा पुर्यायो होला, तर विदेशिन बाध्यहरुको संकट र बाध्यताले थिचिएको जिन्दगीबारे कसले सोच्ने ?
राष्ट्र बैंकले सार्वजनिक गरेको अर्को तथ्यांक झन् सोचनीय मात्र छैन, डरलाग्दो छ । नेपाल घुम्न आउँदा विदेशी पर्यटकले जति पैसा खर्च गर्छन्, त्यो भन्दा बढी त नेपालबाट पढ्नका लागि विदेशिने नेपालीहरुले लैजाँदारहेछन् । अझ सो तथ्यांकको ठुलो हिस्सा ऋणको रकम छ । यसको अर्थ नागरिक नेपालमा बस्नै नसक्ने गरी देश भित्रभित्र खोक्रो भईरहेछ । अनि हाम्रा नेताहरु अझै पनि कुन्नि कति सालको मिसनको कुरा गरेर थाकेका छैनन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा माछा मासु, कपडा मोबाइल लगायतको आयात बढेको भनिएको छ । यसको अर्थ सोही रेमिट्यान्सको रकमले नेपालीहरु उत्पादनमुखीभन्दा बढी सौखिन देखिएका छन् । चामलको आयात घट्नुले नेपालमा उत्पादन बढ्यो भन्ने बुझ्नुभन्दा पनि नेपालीहरु त्यही रेमिट्यान्सको पैसाले भात भन्दा बढी मःम र पिज्जातर्फ केन्द्रीत भए कि भन्ने बहस सुरु हुने संकेत देखिएको छ । समग्रमा यसले देशको स्थितिसँगै नेपालीहरुको बानीलाई पनि प्रतिनिधित्व गरेको छ ।
श्रीमतीका श्रीमान् खाडीमा, श्रीमानका श्रीमती खाडीमा । प्रेमीले माया गरेर पठाएकी प्रेमिका विदेशमा, प्रेमिकाले सर्वश्व सम्झेकी प्रेमी विदेशमा । अनि यो देशको भन्सार विभागले भन्छ– ‘एक आर्थिक वर्षमा १२ करोड रुपैयाँको त शारीरिक क्रिडामा प्रयोग हुने अस्थायी साधनको मात्र आयात भएको छ ।’ युवाहरु बढ्ने क्रम बढेको छ, यस्ता साधनहरुको आयात बढेको छ । चामल खानेहरु घटेका छन्, मःम पिज्जामा रमाएर मोबाइल र कपडा आयात बढेको छ । छोराछोरीहरु नेपालमा बस्नै छोडे, विदेश पढाउन ऋण लिनुको विकल्प छैन । अनि कता जाँदैछ हाम्रो देश ? कस्तो संस्कारको विकास गर्दैछौँ हामी नेपाली ? एक पटक गम्भीर भएर सोच्ने बेला भएन र ?