×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् ट्रान्सफर्मर सकियो हवाईमार्गबाट नल्याए अनिश्चितकालसम्म अन्धकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युत् ट्रान्सफर्मर सकियो हवाईमार्गबाट नल्याए अनिश्चितकालसम्म अन्धकार

Artha Sarokar

२२ पुष २०७२, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

नेपाल विद्युत् प्राधिकरणसँग ‘फ्रेस’ एक सय केभीएमाथिको ट्रान्सफर्मरको जगेडा(स्टक) सकिएको छ । गोदाम खाली भएको कारण घनाबस्ती भएको ठाउँको ट्रान्सफर्मर जल्यो भने अनिश्चितकालका लागि विद्युत् आपूर्ति बन्द हुने भएको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार, औद्योगिक क्षेत्र, सहरी वा ग्रामीण क्षेत्रका बढी विद्युत् खपत हुने ठाउँमा ट्रान्सफर्मर जल्यो भने त्यसको विकल्प सकिएको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर सकिएको कारण विद्युत् क्षेत्रमा अकल्पनीय बाधा आउने देखिएको हो । ‘प्राधिकरणसँग भएको ट्रान्सफर्मर सकियो’, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले भने, ‘गोदाममा रहेको सबै ट्रान्सफर्मर सकिएको कारण जल्यो भने अर्को राख्नसकिने अवस्था छैन । यसले ठूलो संकट निम्त्याउँछ ।’ उनका अनुसार ५०, २५ र १५ केभीएका ट्रान्सफर्मर थोरै मात्रामा स्टक छ । 
तर, त्यसले काठमाडौं उपत्यका, औद्योगिक क्षेत्र, उपत्यकाबाहिरको सहरी क्षेत्र र विद्युत् खपत बढी हुने ग्रामीण क्षेत्रको लागि काम गर्दैन । जलेका ट्रान्सफर्मर मर्मत गरेर काम चलाइए पनि पर्याप्त मात्रामा नभएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पनि स्वीकार गरे । ‘केही साना क्षमताका ट्रान्सफर्मर छन् भने केही जलेकालाई मर्मत गरेर काम चलाइँदै आइएको छ’, कार्यकारी निर्देशक काफ्लेले भने, ‘साना ट्रान्सफर्मर उपत्यकाजस्ता घना बस्तीको लागि काम नलाग्ने भएकाले केही जटिलता सिर्जना भएको छ ।’ नेपालले ट्रान्सफर्मर आयात गर्दै आएको वीरगञ्ज–रक्सौल नाका गत असोजमा संविधान जारी भएपछि ठप्प भएको कारण ट्रान्सफर्मर ल्याउन हवाई मार्गबाहेक अर्को विकल्प प्राधिकरणसँग छैन । हवाई मार्गबाट ट्रान्सफर्मर ल्याउन मन्त्रिपरिषद्ले मात्र निर्णय गर्नसक्छ । तर, त्यसको लागि मन्त्रालयले कुनै काम नै अगाडि बढाएको छैन । भारतको रक्सौलमा दुई सय पाँचवटा र कोलकातामा तीन सय पचासवटा ट्रान्सफर्मर असोजदेखि रोकिएका छन् भने अन्य देशबाट किन्ने प्रयास पनि सरकारले गरेको छैन । नेपालमा ट्रान्सफर्मर उत्पादन गर्ने नीक कम्पनीले पनि दुई सय केभीए वा सोभन्दा माथिको ट्रान्सफर्मर कम्तीमा दुई महिनासम्म उपलब्ध गराउन नसक्ने जानकारी प्राधिकरणलाई गराइसकेको छ । प्राधिकरणले दुई सय केभीए वा सोभन्दा बढीको ट्रान्सफर्मर कति दिनभित्र दिनसकिने भनेर केही दिनअघि नीक कम्पनीसँग सोधेको थियो । त्यसका प्रमुख कुशकुमार जोशीले कुनै पनि गोदाममा स्टक नभएको र उत्पादन समेत गर्न नसकिने भन्दै कम्तीमा दुई महिना लाग्ने जानकारी प्राधिकरणलाई दिएका थिए । 
मन्त्रिपरिषद्बाहेक अन्य निकायले ट्रान्सफर्मर सिधै खरिद गर्ने निर्णय गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने भएकाले प्राधिकरण भएको ट्रान्सफर्मर सिध्याएर सरकारको मुख ताकेर बस्न बाध्य भएको हो । तर, ऊर्जा मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले प्राधिकरणले मन्त्रालयलाई ट्रान्सफर्मर सकिएको जानकारी नदिएको बताए । ‘ट्रान्सफर्मर सकिएको जानकारी हामीलाई गराएको छैन । सकिएको भए व्यवस्था गर्न पहल गरिन्थ्यो’, सचिव शर्माले भने । चालू आर्थिक वर्ष २०७२/०७३ अर्थात् साउन महिना सुरु भएपछि पुस १४ गतेसम्म उपत्यकामा मात्रै चार सय ४६ वटा ट्रान्सफर्मर जलिसकेका छन् । गत वैशाख १२ गते भूकम्प गएपछि पुस १४ गतेसम्मको यो अवधिमा प्राधिकरणले देशभर झण्डै १८ सय नयाँ ट्रान्सफर्मर वितरण गरेको छ । असोजबाट भारतले अघोषित नाकाबन्दी गरेर बिजुलीको वैकल्पिक ऊर्जाको रुपमा रहेको ग्यास, डिजेल, मट्टितेलजस्ता पेट्रोलियम ऊर्जाको आयात १५ देखि २५ प्रतिशतमा सीमित गरिदिँदा विद्युत् खपत एकैपटक ह्वात्तै बढ्दा ट्रान्सफर्मर धेरै जलेको प्राधिकरणको भनाइ छ । सहरी क्षेत्रमा हिटर, इन्डक्सनजस्ता बत्ती अन गर्दा हाइभोल्ट विद्युत् तान्ने उपकरण एकैपटक सञ्चालन हुँदा ट्रान्सफर्मर, केबुल, फ्युज, एमसीसीबी जलेको प्राधिकरणको ठम्याइ छ । 
प्राधिकरणको काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख प्रकाश श्रेष्ठका अनुसार सो कार्यालयअन्तर्गतका विभिन्न ठाउँमा मंसिरमा ३९ वटा ट्रान्सफर्मर जलेका थिए भने पुसको १४ दिनमा एक सय आठवटा ट्रान्सफर्मर जलिसकेका छन् । त्यस्तै, केबुल/कन्डक्टर मंसिरमा १२ सय ७४ ठाउँमा जलेको थियो भने पुसमा त्यसको दोब्बरभन्दा पनि बढी अर्थात् २६ सय ६९ ठाउँमा जलेको छ । ट्रान्सफर्मर फ्युज मंसिरमा १३ सय ८० ठाउँमा जलेकोमा पुसको १४ दिनमा तीन हजार २६ ठाउँमा जलेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार एमसीसीबी मंसिरमा ७५ ठाउँमा जलेको थियो भने पुसमा एक सय ५७ ठाउँमा जलिसकेको छ । एमसीसीबी मंसिरमा १३ सय ८७ पटक ट्रिप भएको थियो भने पुसमा ३२ सय ३६ पटक ट्रिप भइसकेको छ । 
पेट्रोलियम इन्धन आयातमा भारी मात्राले कटौती हुनुअघि गत वैशाखमा भूकम्पको कारण पनि धेरै ट्रान्सफर्मर जलेको थियो । अहिले प्राधिकरणसँग ५०, २५ र १५ केभीएका केही ट्रान्सफर्मर भए पनि ती ट्रान्सफर्मर उपत्यका तथा बढी जनसंख्या भएको क्षेत्रको लागि काम लाग्दैन । त्यही कारण काठमाडौं उपत्यका, औद्योगिक क्षेत्र वा बढी जनसंख्या भएका उपत्यकाबाहिरका जुनसुकै नगर क्षेत्रमा ट्रान्सफर्मर जल्यो भने अनिश्चितकालको लागि अन्धकारमा बस्नुको अर्को कुनै विकल्प नदेखिएको हो । सरकारले अर्को कुनै देशको सरकारसँग कुरा गरेर मात्र हवाई मार्गबाट ट्रान्सफर्मर ल्याउनसक्छ । त्यसको लागि ऊर्जा मन्त्रालयले कुनै पहल नथालेको कारण आगामी दिन थप जटिल बन्ने निश्चित छ । 
पेट्रोलियम इन्धनको आयात खुम्चिँदा उपत्यका तथा सहरी क्षेत्रमा विद्युत्को माग अघिल्लो वर्षको यही अवधिमा भन्दा झण्डै तीन गुणाले बढ्न गएको प्राधिकरणको बानेश्वर वितरण केन्द्रका प्रमुख टेकनाथ तिवारीले जानकारी दिए । ‘ग्यास, डिजेल, मट्टितेलको आयात मागअनुसार हुनसकेन भने विद्युत्को माग बढ्ने क्रम जारी रहँदा थप ट्रान्सफर्मर जल्ने निश्चित छ’, तिवारीले भने, ‘उपभोक्ताहरुमा विद्युत्माथिको भर गत वर्षको यही अवधिमा भन्दा झण्डै तीन गुणाले बढ्न गएको छ । यसमा कमी आएन भने ट्रान्सफर्मर अझै जल्छ र अन्धकारमा बस्नुको अर्को विकल्प छैन ।’ यो अवधिमा बानेश्वर वितरण केन्द्रले मात्र ४० वटा ट्रान्सफर्मरको क्षमता बढाएर राखेको छ भने २० वटा नयाँ ट्रान्सफर्मर राखिसकेको छ । अन्य ३३ ठाउँमा नयाँ ट्रान्सफर्मर राख्ने तय गरे पनि ट्रान्सफर्मर सकिएको कारण राख्नसकेको छैन । कुनै एक ठाउँमा एक सय केभीएको ट्रान्सफर्मर जलेपछि दुई वा चार सयको राख्दा पनि लोड धान्न समस्या परेर केबुल÷कन्डक्टर नै जल्ने अवस्था आएपछि प्राधिकरणले थप नयाँ ठाउँमा ट्रान्सफर्मर राखेर लोडलाई सन्तुलन मिलाउने काम गर्दै आएको छ । उक्त सन्तुलन मिलाउन समेत ट्रान्सफर्मर नभएको कारण अवरुद्ध बनेको तिवारीले बताए । 
एकैपटक लोड बढ्दा ट्रान्सफर्मर, कन्डक्टरजस्ता महंगा उपकरण जल्दा प्राधिकरण आर्थिक रुपमा समेत थिलथिलो बनेको भन्दै उसले इन्डक्सन हिटर एक हजार वाटमा मात्र चलाउन, विद्युतीय इन्डक्सन हिटर र कुकर प्रयोग गर्दा पानी तान्ने पम्प, आइरन, ओभन एकैसाथ प्रयोग नगर्न, एयर कन्डिसन तथा रुम हिटरजस्ता बढी विद्युत् खपत गर्ने उपकरण प्रयोग नगर्न आग्रह गरेको छ । 
प्राधिकरणसँग अहिले चीनको हुवावे कम्पनीबाट खरिद गरेर ल्याइएका तीन सय केभीएको ७५ थान र दुई सय केभीएको चार सय २५ थान गरी पाँच सय थान ट्रान्सफर्मर खरिपाटीको गोदाममा थुप्रिएको छ । गुणस्तरहीन ट्रान्सफर्मर भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित उच्च अधिकृतहरुलाई पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको छिनोफानो नभएको कारण प्राधिकरणले ती ट्रान्सफर्मर प्रयोगमा ल्याउनसकेको छैन । मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर ती ट्रान्सफर्मर प्रयोग गर्ने निर्णय गरेमा अहिलेको समस्या हल गर्नसकिने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
फेरि बढ्यो लोडसेडिङ
काठमाडौं । मागअनुसार आपूर्ति गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय थप गरेको छ । सोमबारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरेको हो ।  नयाँ तालिकाअनुसार अब दिनको १५ घण्टासम्म लोडसेडिङ हुनेछ । यसअघि साताको ७७ घण्टा लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि ८६ घण्टा पुगेको छ । खासगरी अधिकांश दिन साँझ र बिहानको खाना बनाउने समयमा बत्ती कटौती हुनेछ । -आर्थिक दैनिक 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी