×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी कारलाई बुधबारबाट पेट्रोल (वितरण तालिकासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निजी कारलाई बुधबारबाट पेट्रोल (वितरण तालिकासहित)

Artha Sarokar

२१ पुष २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल आयल निगमले बुधबारबाट निजी कार, जिप, भ्यानलाई पेट्रोल वितरण गर्ने भएको छ । एक सातायता इन्धनको आयात तथा मौज्दात बढेका कारण निजी सवारीसाधनलाई पेट्रोल बाँड्ने निर्णय भएको प्रवक्ता मुुकुन्द घिमिरेले जानकारी दिए । निगमका अनुसार यसपटक पनि दर्ता नम्बर (लट) का आधारमा निजी चारपांग्रे सवारीसाधनले पेट्रोल पाउनेछन् । ‘पुस २२, २४ र २७ गरी तीन दिन पेट्रोल वितरण गर्ने निर्णय भएको छ,’ उनले भने । घिमिरेका अनुसार २२ पुसमा १–६ लट, २४ पुसमा ७–१० लट र २७ पुसमा ११ लट र सोभन्दा माथिका कार, जिप, भ्यानले पेट्रोल पाउनेछन् । 
पेट्रोल भर्नका लागि नवीकरण गरेको बिलबुक साथमै लैजानुपर्नेछ । उपत्यकाका कुन–कुन पम्पबाट इन्धन दिने भन्ने सूचना अघिल्लो दिन नै सार्वजनिक गर्ने निगमले जनाएको छ । प्रत्येक सवारीलाई १५ लिटरका दरले पेट्रोल वितरण गर्ने निगमले जनाएको छ । त्यसका लागि तीन दिनमा करिब १३ लाख लिटर पेट्रोल वितरण गरिनेछ । यसअघि निजी मोटरसाइकल र स्कुटरलाई इन्धन वितरण गरिएको थियो । निजी कार, जिप, भ्यानले तिहारपछि इन्धन पाएका छैनन् । 
यसपटक चारपांग्रे सवारीसाधनलाई लाइन नबसी तेल भर्ने वातावरण मिलाउन एसएमएस प्रणाली लागू गर्ने तयारी भइरहेको प्रवक्ता घिमिरेले बताए । ‘हामीले एसएमएस प्रणालीबाट इन्धन भर्न सक्ने वातावरण मिलाउनेबारे छलफल गर्दै छौँ,’ उनले भने, ‘एक/दुई दिनमा निर्णय होला ।’ 
निगमले ११ मंसिरयता अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई मात्रै इन्धन वितरण गर्दै आएको छ । अस्पताल, औषधि, दमकल, शवबाहन, फाहोरमैला, अत्यावश्यक खाद्य वस्तु, दूध, पानी र तरकारी ढुवानीका साधन अत्यावश्यकमा पर्छन् । त्यस्तै, कूटनीतिक नियोग, राजदूतावास, स्कुल बस, लामो तथा छोटो रुट र स्थानीय रुटका सार्वजनिक बस, पर्यटक बस, निर्माण सामग्री ओसार्ने ट्रिपर, ट्रक, सरकारी तथा सञ्चार गृहका सवारीसाधनले पनि कोटा प्रणालीमा इन्धन पाइरहेका छन् । 
प्रहरीले ज्येष्ठ नागरिक र अपांगता भएकालाई तेल दिने प्रहरीले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आफ्नै पम्पबाट इन्धन दिने भएको छ । प्रत्येक सोमबार प्रहरीको नक्सालस्थित पम्पबाट अपांगता भएका व्यक्तिलाई र सामाखुसीस्थित महालक्ष्मी पम्पबाट ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई इन्धन उपलब्ध गराउने प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए ।
 ‘ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई इन्धन भर्न सजिलो होस् भन्ने हिसाबले हामीले सातामा एकपटक आफ्नै पम्पबाट इन्धन दिने निर्णय गरेका हौँ,’ उनले भने । ज्येष्ठ नागरिकले उमेर खुल्ने प्रमाणपत्रका साथमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिएर जानुपर्ने उनले बताए । 
‘अपांगता भएका व्यक्तिबारे त हेरेरै सजिलै थाहा पाउन सकिन्छ,’ उनले भने । चारपांग्रे र दुईपांग्रे दुवै सवारीसाधन लिएर आउने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई इन्धन दिने उनले जानकारी दिए । तर, एकपटकमा कति परिमाण इन्धन दिने भन्ने यकिन नभएको उनले बताए । ‘आवश्यकताअनुसार र हप्ताभरि पुग्ने तेल दिन सकिन्छ,’ उनले भने । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी