
विगत सात वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो (म्याच फिक्सिङ) गर्ने गरेको खुलेको छ । अन्तर्राष्ट्रिय बुकीहरूसँग मिलेर खेल खेलेको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँचजना बुधबार पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले बुधबार कप्तान थापासहित राष्ट्रिय टोलीका रितेश थापा, सन्दीप राई, पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री, थ्री स्टार क्लबका पूर्वप्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेको हो । कप्तान सागर र सन्दीप राष्ट्रिय टोलीका डिफेन्डर हुन् भने रितेश राष्ट्रिय टिमका गोलरक्षक हुन् । अञ्जन पूर्वराष्ट्रिय डिफेन्डर खेलाडी हुन् ।
‘सन् २००८ देखि विभिन्न देशसँग नेपालले खेलेका खेलमा उनीहरूले पैसा लिएर अरूलाई जिताएको खुलेको छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘उनीहरूले कोसँग कहिले कति रकम लिए भन्ने प्रमाणसमेत हामीले पत्ता लगाएका छौँ ।’
प्रारम्भिक अनुसन्धानमा अरू धेरैको पनि संलग्नता देखिएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । दुई महिना लामो अनुसन्धानपछि अपराध महाशाखाका प्रहरी निरीक्षक सुदीपराज पाठक नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । मलेसिया र सिंगापुरमा रहेका म्याच फिक्सिङ गराउने बुकीहरूसँग मिलेर उनीहरूले लाखौँ रकम लिँदै आएको प्रहरीले दाबी गरेको छ । एकै खेलाडीले एउटा खेलमा मिलेमतो गरेबापत पाँच हजार डलरसम्म लिएको अनुसन्धानमा खुलेको छ ।
एकातर्फ बुकीहरूले विपक्षी देशसँग खेल जिताउन पैसा लिने र नेपाली प्रशिक्षक तथा खेलाडीलाई किन्ने, यसैगरी म्याचको सम्भावित परिणामबारे ‘बेटिङ’ पनि लगाउने गरेको अनुसन्धानमा देखिएको छ । त्यसक्रममा बुकीहरूले नेपाली खेलाडीलाई लाखौँ रकम दिएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा कारबाही गर्ने तयारी गरेको छ । उनीहरूले राज्यलाई नै ठूलो धोका दिएकाले राज्यविरुद्धको अपराध मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ । त्यसका साथै संगठित अपराध मुद्दामा पनि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ ।
पक्राउ परेकाहरूले न्युरोडको सोसाइटी ट्राभल सर्भिस लिमिटेडबाट र साइबर मनी ट्रान्सफरबाट पटकपटक पैसा लिएको भेटिएको एसएसपी खनालले बताए । सोसाइटी ट्राभल सर्भिस लिमिटेडबाट २ लाख २० हजार ७५ मलेसियन रिंगेट उनीहरूले लिएका थिए । त्यस्तै, साइबर मनी ट्रान्सफरबाट २७ हजार ८ सय ७३ डलरसमेत लिएको प्रहरीले प्रमाण फेला पारेको छ । प्रशिक्षकदेखि सबै खेलाडीलाई मिलाएर म्याच फिक्सिङ हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘अफगानिस्तानसँगको खेलमा त दुई पटक पोस्टबाहिर प्रहार गरिएको खुलेको छ,’ एसएसपी खनाल भन्छन्, ‘जोर्डनसँग ९–० ले हार्नुमा पनि म्याच फिक्सिङ नै भएको रहेछ ।’
उनीहरूमध्ये बुकीहरूसँग सागर थापा, अञ्जन केसी र रितेश थापाको प्रमुख मिलेमतो भएको र उनीहरूले अन्य खेलाडीलाई पैसा बाँड्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । दक्षिण कोरियामा गत वर्ष भएको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा समेत म्याच फिक्सिङ भएको प्रमाण भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीले थापालाई थापाथलीबाट, रितेश र सन्दीपलाई बालुवाटारबाट तथा अञ्जन र विकाससिंह क्षेत्रीलाई जावलाखेलबाट पक्राउ गरेको हो । फिलिपिन्स, जोर्डन, प्यालेस्टाइन, इराक, अफगानिस्तान, यमनसँगको खेलमा म्याच फिक्सिङ भएको पुष्टि भएको जनाउँदै प्रहरीले अन्य खेलको विषयमा पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ । रितेश थापा गोलकिपरका रूपमा खेल्ने गर्दथे । ‘कतिसम्म भने विपक्षीले बल हान्दा प्रशिक्षकले छाड्दे छाड्दे भनेकोसमेत अनुसन्धानमा खुलेको छ,’ एक प्रहरी अधिकारीले भने ।
एन्फाका अध्यक्ष गणेश थापाको समेत यसमा संलग्नता रहे/नरहेकोबारे भने अहिले केही बताउन नसकिने प्रहरीको भनाइ छ । एसएसपी खनालले भने, ‘पक्राउ परेकाहरूमाथि अनुसन्धान गरेपछि मात्र त्यसबारे भन्न सकिनेछ ।’ ‘जित्नुपर्ने खेलहरू पनि किन हारियो भनेर एन्फा पदाधिकारीले छानबिन गरेनन्, यसले उनीहरूको पनि यसमा मिलेमतो देखिन्छ,’ उनले भने, ‘जबजब नेपालले महत्त्वपूर्ण खेल हारेको छ, त्यही बेला खेलाडीको खातामा पैसा आएको देखिएको छ ।’ नेपाल प्रहरीले इन्टरपोलबाट म्याच फिक्सिङ गराउने बुकीहरूको बारेमा पनि अनुसन्धान गर्ने जनाएको छ । बुकीले भनेअनुसार नेपाली खेलाडीले खेल हार्ने तथा गोल गर्ने गर्दथे ।
सागर थापा, कप्तान एवं डिफेन्डर
कप्तान सागर थापा नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी मानिन्छन् । उनले १० असोज ०६० मा एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट पहिलो क्याप जितेका थिए । सन् २००९ मा बंगलादेशमा भएको छैटौँ साफ च्याम्पियनसिपबाट उनले पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सातौँ साफ च्याम्पियनसिपमा सागरले गरेको बंगलादेशविरुद्ध उत्कृष्ट फ्रिकिक अहिले पनि चर्चित छ । अहिले उनी थ्री स्टार क्लबबाट खेल्छन् ।
रितेश थापा, गोलरक्षक
नेपाल पुलिस क्लबका गोलरक्षकसमेत रहेका रितेश नेपाली टोलीका सिनियर खेलाडी हुन् । उनी झन्डै एक दशकयता राष्ट्रिय टोलीको नियमित सदस्य रहँदै आएका छन् । तर, उनी सुरुवातका केही समयबाहेक पहिलो रोजाइमा आउन सकेनन् । उनी राष्ट्रिय टोलीमा प्राय: दोस्रो रोजाइकै गोलरक्षकका रूपमा रहे । रितेशले ८ असोज ०६० मा एसिया कपको छनोट प्रतियोगिताअन्तर्गत ओमनविरुद्धको खेलबाट पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् ।
सन्दीप राई, डिफेन्डर
सन्दीप राई नेपाली राष्ट्रिय टोलीका सिनियर र भरपर्दा सदस्य मानिन्छन् । डिफेन्सिभ मिडफिल्डरको भूमिकामा कुशल मानिने सन्दीपले १२ चैत ०६४ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । कप्तान सागर थापापछि वर्तमान राष्ट्रिय टोलीका खेलाडीमध्ये सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने सन्दीप दोस्रा खेलाडी हुन् । सन्दीप थ्री स्टारसँग आवद्ध छन् ।
विकाससिंह क्षेत्री, पूर्वडिफेन्डर
छोटो समयमै राष्ट्रिय टोलीमा स्थान बनाएका डिफेन्डर विकाससिंह क्षेत्री अन्तिमपटक मनाङ मस्र्याङ्दीको जर्सीमा देखिए । घाइते भएका कारण उनले लगभग फुटबल खेल्न छाडिसकेका छन् । सन् २००८ मा विकासले पाकिस्तानविरुद्ध डेब्यु गरेर राष्ट्रिय टिमको सदस्य बनेका हुन् ।
अञ्जन केसी, पूर्वडिफेन्डर
अञ्जन केसी एन्फा एकेडेमीका उत्पादन हुन् । एट्याकिङ डिफेन्डर केसीले सन् २००६ मा एएफसी च्यालेन्ज कपमा भारतविरुद्ध डेब्यु गरेका हुन् । लामो समय थ्री स्टारबाट खेलेका केसी सोही क्लबका पूर्वप्रशिक्षकसमेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्