Skip to content
LAXMI SUNRISE BANK

‘उक्साउन आए मिलेर लखेट्छौं’

अर्थ सरोकार

अत्तरिया (कैलाली)-अत्तरिया नगरपालिका–१२ गेटी गाउँमा यज्ञबहादुर चौधरीको छिमेकमा बाहुन र क्षत्रीका घर छन्। मोहन चन्दको चारैतिर छिमेकमा चौधरीका घर छन्। यज्ञबहादुर र मोहन प्रतिनिधि उदाहरण हुन्।
थारु र पहाडी समुदाय बराबरीजसो रहेको ४ सय ५ परिवारको गेटीगाउँ राना, थारु र पहाडीका एकपछि अर्को घर रहेको यो गाउँ विभिन्न आकर्षक फूलहरुले उनिएको सुन्दर मालाजस्तै छ।

जातीय सद्भाव र सम्बन्धको पनि नमुना गाउँ हो यो।

पछिल्लो डेढ महिनामा जिल्लामा अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान आन्दोलनले जातीय द्वन्द्व बढ्ने खतरा भइरहेका बेला यो गाउँलाई भने कुनै फरक पारेको छैन। दुवै समुदायका अगुवाले गाउँमा सद्भाव बिग्रने गरी आन्दोलनका मुद्दाबारे कुरा गर्न नपाइने नियम बनाएका छन्।

गाउँलेले बाहिरबाट कोही सद्भाव बिगार्ने नेता वा व्यक्ति आए सबै मिलेर लखेट्ने निर्णय गरेका छन्। टीकापुर घटनापछि यहाँका अगुवा जम्मा भएर गाउँमा कायम सद्भाव बिग्रन नदिनेबारे छलफल गरिएको थारु समुदायका गाउँका भलवन्सा यज्ञबहादुर चौधरी बताउँछन्। मर्दापर्दा चाहिने छिमेकीसँग सम्बन्ध र सद्भाव बिगार्नु हितकर हुँदैन भन्ने गाउँका सबैले बुझेको उनको भनाइ छ।

‘मेरा सबै छिमेकी पहाडी समुदायका छन्। घरमा आगो लागेमा निभाउन चाहिने त यिनै हुन्। अनि हामीले किन सम्बन्ध बिगार्ने?’ यज्ञबहादुर भन्छन्, ‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन भन्ने हामीले बुझेका छौं।’

टीकापुरमा भदौ ७ गते प्रहरी र नाबालक मारिएको घटना र दोस्रो दिन टीकापुरमा घर जलाइएको घटनापछि जातीय द्वन्द्व बढ्ने खतरा बढेसँगै दुवै समुदायका अगुवा यज्ञबहादुरको आँगनमा रहेको गोलघरमा बैठक बसे। पहिलेजस्तै मेलमिलाप कायम राख्नेबारे छलफल गरे। दुवै समुदायले आफ्ना अधिकारका लागि गाउँबाहिर गएर आन्दोलनमा सहभागी भए पनि गाउँभित्र आन्दोलनका मुद्दा र झगडाको कुरा कसैले नगर्ने, सम्बन्ध र सद्भाव बिग्रने कुरा नगर्ने सहमति गरिएको वडा नागरिक मञ्चका सहसंयोजक टेकबहादुर बुढा बताउँछन्।

‘गाउँमा कुनै विषयमा झगडा भए त्यसलाई जातीय रुपमा नलिने र व्यक्तिगत मानेर अगाडि बढ्न नदिने समझदारी बनाएका छौं,’ बुढा भन्छन्, ‘हामीले बैठक बसेर मेलमिलाप कायम गर्न के गर्ने र के नगर्ने भनेर समझदारी बनाएकाले कुनै समस्या छैन।’

गाउँका अगुवा आउन सक्ने समस्याबारे पटक–पटक बैठक राखेर छलफल गर्छन्। जस्तोसुकै अवस्था आए पनि गाउँको सद्भावमा असर पर्न नदिनेमा उनीहरु ढुक्क छन्। ‘हामी मिलेर बस्न चाहन्छौं, कसैले थारु र पहाडी भनेर उकास्न र लडाउन गाउँमा आए जोसुकै पक्षको भए पनि मिलेर लखेट्ने सहमति गरेका छौं,’ शम्भुपसाद पन्त र सोना चौधरी भन्छन्।

संघीय राज्यको सीमांकन जहाँ भए पनि आफ्नो गाउँ यही ठाउँमा रहने र यिनै छिमेकी मर्दापर्दा चाहिने राम्ररी बुझेकाले आपसी मेलमिलाप नेताहरुको उक्साहटमा नबिगार्ने स्थानीयको भनाइ छ।

नगरपालिका नहुन्जेल यो गाउँ दुई वडामा थियो। दुई वडा भए पनि एउटै गाउँजस्तै सबै काम मिलेर गर्ने गरेको कर्णसिंह बोहरा बताउँछन्। बोहरा भन्छन्, ‘अहिले पनि दिनहुँजसो बसेर गाउँका समस्या समाधानका लागि छलफल गछौ,’ बोहरा भन्छन्।

भावनात्मक रुपमा थारु, राना र पहाडी पहिलेजस्तै एक रहेको उनीहरु बताउँछन्। ‘टीकापुर घटनापछिको कुरा हो। गाउँका चन्द्रराज पनेरुको मृत्यु हुँदा मलामीमा चौधरीको संख्या बढी भएको उदाहरणले पनि हामी बीचको मेलमिलाप कस्तो छ भन्ने बुझ्न काफी छ,’ वडा नागरिक मञ्चका सहसंयोजक बुढा भन्छन्।

‘हामी त सबैलाई बराबर मान्छौं, कुनै फरक छैन,’ अमेलीदेवी चौधरी भन्छिन्, ‘औँला काट्दा सबैको रगतै आउने हो क्यारे!’

डम्बरबहादुर साउद, ६४, ले ४३ वर्षअघि देउमानी चौधरीसँग अन्तरजातीय बिहे गरेर दुवै समुदायबीच बिहेबारी सुरु गरेका थिए। ‘मैले मात्र होइन, मेरा दुइटै छोराले चौधरीसँग बिहे गरेका छन्,’ उनले भने। ‘मर्दाका मलामी, जिउँदाका जन्ती’ भनेजस्तै भोजभतेर, पूजाआजामा सबै एकैसाथ सँगसँगै हुने गरेको स्थानीय बताउँछन्।

‘हामीबीच नङ र मासुजस्तै सम्बन्ध छ,’ छोटेलाल राना भन्छन्, ‘हामी भोजभतेर सबै काम एक भएर गछर्ौं।’ गाउँमा ४ सय ५ परिवार रहेको बुढा बताउँछन। बुढा भन्छन, ‘थारु र पहाडी बराबर छन्।’

गाउँमा सद्भाव बिग्रन नदिन यो गाउँमा गरेको जस्तै समझदारी अन्य गाउँकाले पनि गर्न उनीहरुले सुझाएका छन्।

‘साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन। प्रदेश जुन भए पनि छिमेकी यिनै हुन्,’ गाउँका अगुवा टेकबहादुर बुढा भन्छन्, ‘वर्षौंदेखि मिलेका हामीहरुबीच आपसमा सम्बन्ध बिगार्नुको कुनै अर्थ छैन।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK