×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोपनियताको विश्वसनीय आधार भयो भने टीकापुर घटनाको प्रमाण उपलब्ध गराउन सक्छु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोपनियताको विश्वसनीय आधार भयो भने टीकापुर घटनाको प्रमाण उपलब्ध गराउन सक्छु

Artha Sarokar

१७ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १२ मिनेटभन्दा कम

योगेश भट्टराई नेकपा एमालेका सचिव हुन् । स्पष्ट वक्ताको छवि बनाएका भट्टराईसँग संविधान निर्माण, मधेशमा चलिरहेको आन्दोलन र ७ भदौंमा कैलालीको टीकापुरमा भएको विध्वंसकारी घटनका विविध पक्षमाथि केन्द्रित रहेर नेपालीपत्रका लागि उद्धव थापा र जनक तिमिल्सिनाले गरेको संवादः   
संविधान विधेयक संविधानसभाले बहुमतले स्वीकृत ग¥यो । अब संविधान बन्ने पक्का भयो भनेर बुझ्न सकिन्छ ? 
संविधानसभाभित्र जुन प्रक्रिया अघि बढेको छ त्यसले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको छ भन्ने बताउँछ । संविधानसभामा संविधानको विधेयक मस्यौदा पेश भइसकेपछि त्यो भन्दा पछि हट्ने ठाँउ हुँदैन । संविधानसभाको कार्यविधिले पनि त्यही भन्छ । विधेयक मस्यौदामाथि केही संशोधन छ भने संशोधन पेश गर्न केही दिनको लागि समय दिइएको छ । त्यसपछि ती संशोधनहरु संविधानसभाको फुल हाउसमा प्रस्तुत हुन्छन् । र, अहिले प्रस्तुत भएको मस्यौदा विधेयक र ती संशोधनकाबीचमा भोटिङ हुँदैं जान्छ । त्यसो हुँदा संविधान निर्माणको प्रक्रिया पछाडि हट्न सक्ने ठाउँ छैन । यत्ति हो कि असन्तुष्ट भएर बसिरहेका कतिपय दलहरुलाई सहमतिका निम्ति केही स्पेश दिनुपर्ने अवस्था भयो भने यही भित्र पनि दिन सकिन्छ ।   
त्यो ‘स्पेश’ भनेको के हो ? 
अहिले हामीले सिमांकन सहितको सात प्रदेश प्रस्तुत गरिरहेका छौं । यो सात प्रदेश बदलिदैंन्, बदल्नु हुँदैंन । यो सात प्रदेश बदल्ने हो भने १६ बुँदे सहमतिमा फर्किनुपर्छ । १६ बुँदेमा फर्किने भनेको संघीयताको सीमांकन संघीय आयोगलाई दिने हो । अहिले जतिपनि असन्तुष्ट र आन्दोलनरत दलहरु छन्, उहाँहरुले त्यही आयोगमा आएर आफ्ना कुराहरु राख्नुहुन्छ । पछि रुपान्तरित संसद्को दुई तिहाई बहुमतले त्यसलाई पास गर्छ । संविधान अहिले घोषणा हुन्छ कतिपय कुराहरु बाँकी रहन्छन् ।   
अहिलेको सीमांकनमा चित्त नबुझाएकाहरुले आयोगले गर्ने सीमांकनमा चित्त बुझाउँछन भन्ने कुनै ग्यारेण्टी त छैन नि ? 
सीमांकनमा सबैले चित्त बुझाउदैंन् । यो चित्त बुझाउने विषयमा पनि होइन् । सबैको चित्त बुझाउन कसैले सक्दा पनि सक्दैंन । एउटा ग¥यो भने अर्को रिसाउँछ, अर्को ग¥यो भने अर्को रिसाउँछ । त्यसैले शतप्रतिशत कसैको चित्त बुझ्दैन । अहिले प्रस्तुत भएको ७ प्रदेश आधारभूत रुपमा ठीक छ । किनभने यसले अघिल्लो संविधानमा छलफल भएको तर, यो संविधानसभामाले अस्वीकार गरेको पक्ष बलजफ्ती ढंगले एकल जातीय प्रदेश र पहिचानका आधारमा पनि एकल जातीय मात्र बनाइनु पर्छ भनेर लागिरहेको छ । भाषा, संस्कृति, ऐतिहासिक निरन्तरता यी सबै पहिचानका आधारहरुलाई त्यति वास्ता गरिएन । खाली जातीय, त्यो पनि एकल जातीय मात्र भनियो । जसलाई हामीले अघिल्लो संविधानसभामा अस्वीकार ग¥यौं । यो संविधानसभाले पनि त्यसलाई अस्वीकार गरेर हामीले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक भएकाले अब बन्ने हाम्रो संघीय संरचना बहुजातीय र बहुपहिचानयुक्त हुन्छ भन्ने कुरा ग¥यौं । 
त्यसअर्थमा अहिले प्रस्तुत गरेका ७ प्रदेश बहुपहिचानयुक्त छन् । प्रदेश नं. १ मा राई र लिम्बुको क्लस्टर छ । प्रदेशमा नं. २ मा दुई वटा ठूला भाषिक समूहहरुलाई सम्बोधन गरेका छौं । ३ नं. प्रदेशमा तामाङ र नेवार समुदायलाई सम्बोधन गरेका छौं । ४ नं. प्रदेशमा गुरुङ समुदाय र केही मगर समुदायलाई सम्बोधन गरिएको छ । ५ प्रदेशमा थारु समुदाय र मगर समुदायलाई सम्बोधन गरिएको छ । ६ नं. प्रदेशमा बाहुन क्षेत्रीहरुको बाहुल्यता छ । ७ नं. प्रदेशमा बाहुन क्षेत्री र थारुलाई संयुक्त रुपमा सम्बोधन गरिएको छ । यी सबै बहुपहिचानयुक्त प्रदेशहरु छन् । यो भन्दा अर्को राज्यको सन्तुलित पुनसंरचना हुनै सक्दैंन ।   
एमालेकै बरिष्ठ नेता झलनाथ खनालले त ५ विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्छ भन्नुभयो नि ? 
सबैभन्दा उपयुक्त त्यही हो । त्यसले पनि बहुपहिचानलाई नै बोकेको छ । पाँच प्रदेशले मुलतः हाम्रो ऐतिहासिक जीवन पद्धतिलाई बोकेको छ । हामीले किन उत्तर दक्षिण भनेका छौं त ? हाम्रो धेरै परनिर्भरता दक्षिणतिर छ । ब्यापार, संस्कृति, आवातजावत दक्षिण केन्द्रित छ । त्यसो हुँदा उत्तरतिर बस्नेले पनि दक्षिणको त्यो अवसरको फाइदा लिन सकुन् ।
अर्कोतिर उत्तरमा चीन छ, जुन नयाँ विकास गरेर अगाडि बढिरहेको छ । उसको त्यो प्रगतिबाट दक्षिणका जनताले पनि फाइदा लिउन भनेर हामीले उत्तर दक्षिण बनाएका हौं । यो नेपालमा अभ्यस्त भएको लामो जीवनपद्धति पनि भइसक्यो । यो सबैलाई उपयुक्त लाग्छ पनि ।  मान्छेहरु भन्छन् यो सोच महेन्द्रवादी भयो । महेन्द्रवादी हुनु र नहुनुको के अर्थ छ र ? महेन्द्रले त्यो बेला हुकुमी शैलीमा १४ अञ्चल ७५ जिल्ला र ५ विकासक्षेत्र बनाएका होइनन् । हर्क गुरुङजस्ता विद्धानहरुको समूहले त्यो बनाएको हो । त्यसमा वैज्ञानिकता छ ।   
अहिले प्रस्ताव गरिएको सात प्रदेश र भइरहेको पाँच विकास क्षेत्रमा पनि वैज्ञानिकता छ भने किन त्यसलाई अस्वीकार गरेर आन्दोलन भइरहेको छ त ? 
यो आन्दोलन त केही जातीय, क्षेत्रीय पार्टी खोलेका नेताहरुको अस्तित्वको लडाइ हो । किनभने अब नेपालमा जातीय/क्षेत्रीय पार्टीहरु भूमिकाबिहीन हुन्छन् र हुनैपर्छ । जबसम्म जातीय÷क्षेत्रीय पार्टीहरु बीचमा बसेर बिचौलियाको भूमिका खेल्छन्, मुलुकलाई बन्नै दिदैंनन् । अबको राजनीतिक ध्रुविकरण एकातिर ‘लिबरल डेमोक्रेसी’को वकालत गर्ने नेपाली कांग्रेस र अर्कोतिर ‘लेफ्ट डेमोक्रेसी’को वकालत गर्ने नेकपा एमालेको बीचमा हुन्छ । यस बीचमा खेल्न चाहने साना पार्टीको भूमिका शून्य हुन्छ । नाङलो पसल खोलेजस्तो पार्टी खोल्ने, टोल–टोलमा पार्टीका झण्डा राख्ने, त्यसका नाममा राज्यबाट सुविधा लिने, जनतालाई तर्साउने ढंगले पार्टी खोल्नुको कुनै औचित्य छैन् । अब त्यसो हुँदैन पनि । त्यसैले उनीहरुले अस्तित्व रक्षाका लागि लडाईं गरेका हुन् ।
तपाइहरु थ्रेसहोल्डको विषयमा चाँही संवैधानिक व्यवस्था गर्न नसक्ने अनि क्षेत्रीय/जातीय पार्टीहरु भएभनेर गुनासो गर्नुको के अर्थ हुन्छ र ? 
साना पार्टीहरुलाई काम गर्ने अवसर हुन्छन् । चुनावमा धेरै भोट ल्याएर एमालेलाई उछिन्नुहोस् । तर, उदण्डता गरेर पार्टी बन्दैंन । यो संविधानमै हामीले थ्रेस होल्ड राख्नुपर्छ भनेका छौं । नेकपा एमालेको तर्फबाट हामी संसदमा थे्रसहोल्डको प्रस्ताव लैजान्छौ ।   
तराई त पूर्वदेखि पश्चिमसम्मै अशान्त छ, यस्तो कहिलेसम्म रहिरहन्छ ? 
जब संविधान घोषणा हुन्छ, यो आफै क्रमशः शान्त हुन्छ ।   
तराइमा भइरहेको आन्दोलनमा धमाधम मान्छे मरिरहेका छन, तर पनि तपाइहरुलाई यो आन्दोलन ठूलो विषय होइन भन्ने लागिरहेको छ ? 
केही पनि होइन । किनभने मधेशको माग जसले उठायो ती मान्छेहरु अहिले बिलखबन्दमा परेका छन् । उनीहरुलाई के लाग्याथ्यो भने– यो कांग्रेस–एमालेले उत्तर दक्षिण ५ वटा प्रदेश बनाउँछन् । मधेश पनि पहाडसँग जोडिन्छ, त्यसपछि हामीले तराइमा आगो बाल्न पाउछौं । मधेश अलग गर्नुपर्छ भन्ने नारा लिएर जान सक्छौ भन्ने मधेश केन्द्रीत दलहरुले ठाँनेका थिए आज तिनीहरुलाई नै अप्ठयारो परिरहेको छ । अहिले मधेशका ८ जिल्ला एउटै प्रदेशमा राखिएको छ । त्यो उनीहरुलाई निल्नु न ओकल्नु भएको छ । अहिले उनीहरु के भन्दैंछन् भने हामीलाई पहाड पनि चाहियो । अहिले चुरेसम्म चाहियो भनिरहेका छन् क्रमसः महाभारत र हिमालसम्म पनि पुग्छन् । उनीहरुको नियत के थियो भन्ने कुरा यहाँ प्रष्ट हुन्छ । उनीहरुलाई मधेश चाहिएको होइन् । मधेशका नाममा नेपालमा अराजकता मच्चाउने, वितण्डा मच्चाउने, केही ठाउँबाट उनीहरुलाई आर्थिकमात्र होइन् धेरै हिसाबले सहयोग छ । त्यसैकै सोझो गरेका हुन ।   
आन्दोलनरत पार्टीहरुलाई यतिकै छाडिदिने त ? 
छोड्ने भनेकै होइन । उहाँहरु संविधानसभामा हुनुहुन्छ, त्यही कुरा राख्नुप¥यो।   
कतिले त संविधानसभा नै छाडिसके नि ? 
संविधानसभामा छोड्न त आएको होइन होला नि । संविधान बनाउन आएको हो । संविधानसभाभित्रै उहाँहरुको स्पेश छ । संविधानसभामा उहाँहरुका एजेण्डा पास भएन भनेर आगो लगाउने त ? संविधानसभाले मैले भनेको मानेन भनेर मान्छे काटन थाल्ने ? यो त कुनै लोकतान्त्रिक पद्धति भएन नि । यदि भनेको कुरा संविधानसभाले मान्दैंन भने नोट अफ डिसेन्ट लेख्छु, दुनियाँका अगाडि मेरा माग मान्य भएनन्, यी हुन भनेर प्रस्तुत गर्छु भन्ने हो नि । जनतामा आफ्नो कुरा लिएर जान स्वतन्त्र छौं । लोकतन्त्रमा सबै विचारहरुलाई स्पेश हुन्छ । मधेशको नाममा खुलेका दलहरुलाई संविधानसभा प्रवेशमा रोक त लगाइएको छैन । उहाँहरु आफै निस्किनु भएको छ । निस्केर तलतिर केही बितण्डा मच्चाउन सकिन्छ कि भनेर कोशिश गर्नुभयो । केही गर्नु भयो पनि । तर, परिस्थिती यस्तो बन्दैंछ कि त्यहाँ जनताको उलेख्य सहभागिता नै छैन् ।   
तराइमा आन्दोलन चर्काइरहेका केही नेताले सशस्त्र संघर्ष गरिरहेकाहरुसँग निरन्तर भेटघाट र वार्ता गरिरहेको कुरा पनि आएको छ । त्यसमा नियन्त्रण आवश्यक छ कि छैन ? 
उचित समयमा राज्यले त्यस्ता प्रवृत्ति र क्रियाकलापसँग सम्बन्धि मानिसहरुलाई  कानुनको दायरामा ल्याएर कारवाही गर्नुपर्छ । कुन बेला आफ्नो शक्ति प्रयोग गर्ने भन्ने कुरा राज्यले विश्लेषण गरिरहेको हुन्छ । दुनियाँमा राज्यसँग मात्र त्यस्तो अधिकार हुन्छ, जसले बल प्रयोग गर्न पाउँछ । कुनै सर्वसाधारण मानिस र कुनै संगठनले बल प्रयोग गर्न पाउँदैन् । राज्य मात्र बल प्रयोग गर्ने ‘लेजिटिमेसी’ प्राप्त निकाय हो । त्यो भन्दैंमा उसले जुनसुकै बेला बल प्रयोग गर्दैन् । उसले त्यसका प्रतिक्रिया बारेमा हेर्छ । सबै कुराको विश्लेषण गरेपछि मात्रै त्यसतर्फ ध्यान दिन्छ ।   
कतिपयले त सीमांकनमा भारत असन्तुष्ट भएका कारण मधेश अशान्त भएको बताइरहेका छन त ? 
दक्षिण छिमेकी हामीसँग रिसाउनुपर्ने कारणै छैन । नेपालमा कस्तो संघीय संरचना चाहिन्छ ? कस्तो भाषिक नीति लिने ? नेपालका साँस्कृतिक नीतिहरु के हुन्छन् ? परराष्ट्र नीतिहरु के हुन्छन् ? आर्थिक नीतिहरु के हुन्छन् ? त्यो हामीले निर्धारण गर्ने कुरा हो । हाम्रा छिमेकीहरुले खाली हामीलाई सल्लाह, सुझाव दिन सक्छन् । स्वेच्छा प्रकट गर्न सक्छन् । तर, निर्देशित गर्न सक्दैंनन् । गुजरातको दंगामा यसो गर्नुस् उसो गर्नुस् भनेर हाम्रो प्रधानमन्त्रीले मोदीलाई भने भने मोदीले त्यसमा के प्रतिक्रिया जनाउँछन् ?   
मोदीले त कोइरालालाई फोन गरेरै भने रे त ? 
उहाँले कुनै प्रेसक्रिप्सन दिनुभएन । उहाँले दुःख ब्यक्त गर्नुभयो । त्यो त गर्न सकिन्छ ।   
गृहमन्त्रालयमै राजदूत गएर गृहमन्त्रीसँग असन्तुष्टी ब्यक्त गरे भन्ने पनि सुनियो ? 
गृहमन्त्रीले नै राजदूतलाई बोलाएका हुन् । नेपालको आन्तरिक मामलामा पनि कुनै पनि देशले बढ्ता नबोलुन भनेर सम्बन्धित देशका राजदूतहरुलाई सचेत गराउने विश्वब्यापी कार्य नै हो ।   
गृहमन्त्रीले संसदमा गरेको सम्बोधनमा पनि दक्षिणतिर अलि बढी नै संकेत गरिएको थियो । होइन र ?  
दक्षिणतिर भनेको टीकापुरको दक्षिण पनि नेपाल नै छ । रौतहटको गौरभन्दा दक्षिणतिर पनि नेपाल नै छ । सीमानापारिको दक्षिण भनिएको होइन होला ।   
भारतले नेपालमा संविधान कार्यान्वयन गर्न सहयोग गर्छ भन्ने विश्वासिलो आधार भएपछि मात्रै संविधान जारी हुन्छ । नभए, हुँदैन भन्ने विश्लेषण पनि आएका छन । यसमा के भन्नुहुन्छ ? 
अहिले संविधान निर्माणको सन्दर्भमा सर्वाधिक जनमत एक ठाउँमा उभिएको छ । नेकपा एमाले, कांग्रेस र एमाओवादी एकठाउँमा उभिनु भनेको ८० प्रतिशतभन्दा बढी जनमतलाई प्रतिनिधित्व गर्नु हो । नेपालमा जुन परिघटना देखिदैंंछ यो विश्वमा कतै नदेखिने परिघटना हो । यति धेरै जनमतलाई प्रतिनिधित्व गर्ने दलहरु एकै ठाउँमा आउने कुरा कमै ठाउँमा मात्र हुन्छ । नेपालमा भएको छ । त्यसैले हामीलाई संविधान बनाउन सक्छौं भन्ने हिम्मत बढेको छ । यो संविधान घोषणा हुन्छ । घोषणापछि कार्यान्वयन पनि हुन्छ ।  अर्को कुरा नेपालमा वैधानिक प्रक्रियाबाट बन्ने संविधानलाई विश्व जनमतले स्वागत गर्छ । हाम्रो अपेक्षा छिमेकी मुलुकलगायत सम्पूर्ण विश्व जनमतले लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाबाट बनेको संविधानलाई समर्थन गर्छन् भन्ने हो ।   
भारतले लागु गर्न सघाउँदैंन् भन्छन् नि ? 
उसले लागु गर्न नसघाउनुपर्ने कारण के ? नेपालमा अस्थिरता मच्चाएर के फाइदा छ ? ऊ त विश्व महाशक्ति राष्ट्र बन्ने दौडमा छ । शक्ति राष्ट्र बन्ने दौडमा रहेको कुनै पनि राष्ट्रले आफ्ना छिमेकी राष्ट्रहरुसँग झगडा गरेर बस्दैंन । ऊ यहाँ इङ्गेज भएर बस्दैन । अमेरिकालाई जित्नु छ, चीनलाई जित्नु छ, युरोपलाई जित्नु छ । यदि उसले पूरानो ब्यवहारलाई नै निरन्तरता दिएर बस्यो भने उसको सपना पूरा हुँदैंन । निकै ठूलो महत्वकांक्षाका साथ भारत दुनियाँमा प्रस्तुत हुँदैंछ । उसले आफ्ना छिमेकीहरुलाई सँगै लिएर हिडेमा मात्र यो बाटोमा सफल हुन्छ । छिमेकमा किचलो खडा गरेर ऊ सफल हुन सक्दैंन ।   
थरुहट र मधेशी दलहरुसँग वार्ताको कुरा चलिरहेको छ । उनीहरुले शर्त अगाडि सारेका छन् । कसरी अगाडि बढ्छ यो प्रक्रिया ? 
वार्ता भनेको शर्तपूर्ण होइन । वार्ता विना शर्त हुनुपर्छ । राज्यले पनि भन्नसक्ला की टीकापुरमा पुलिसलाई जलाउने आन्दोलनकारीलाई हस्तान्तरण नगरेसम्म वार्तामा बोलाउँदैनौ । त्यो शर्त हो । त्यस्ता शर्तहरु राज्यले पनि राख्दैंन ।   
कैलालीको टीकापुर घटनालाई कसरी हेर्नुहुन्छ ? 
नेपालको इतिहासमा एउटा कलंक हो । नेपाली भन्नेहरुले गर्न नहुने र गर्नै नसक्ने कुरा हो । नेपाली मनले त्यो गर्न सक्दैंन ।   
केही दलका नेताहरुसँग जोड्दैं प्रमाण पनि दिन्छु भयो तपाईंले त ? 
राजनीतिक पार्टीका कतिपय मानिसहरु त्यसमा संलग्न छन तर, संस्थागत निर्णयबाट संलग्न भएका होइन्, ब्यक्तिगत तवरबाट त्यो घटनाको योजना बनाउन संलग्न थिए ।   
प्रमाण दिन सक्नुहुन्छ ? 
त्यो त सरकारले उच्चस्तरीय छानविन आयोग बनाएको छ, त्यसले ल्याउँछ ।   
भनेपछि राजनीतिका दलका केही नेता संलग्न भएको पक्कै हो ? 
राजनीतिक दलका मानिसहरु पनि त्यहाँ संलग्न थिए ।   
कतिपयले वैद्य माओवादी, विप्लव माओवादी र एकीकृत माओवादीको योजना भन्दैं शंका गरिरहेका छन् ?
यो सबै हामीले भन्ने कुरा होइन । किनभने सरकारले नै छानविन आयोग बनाएको हुनाले उसले निष्पक्षतापूर्वक छानविन गरोस भन्ने हाम्रो भनाइ छ । यदि साँच्चै निष्पक्ष तरिकाले त्यसको छानविन गर्छ र रिपोर्ट ल्याउँछ भने हामीले नदेखेका, नसोचेका र कल्पना नगरेका धेरै तथ्यहरु बाहिर आउँछन् ।   
छानविन समितिले टीकापुर घटनाको बारेमा तपाईंबाट प्रमाण खोज्यो भने दिनसक्नुहुन्छ ?
गोपनियताको विश्वसनीय आधार भयो भने छानविन समितिलाई टीकापुर घटनाको विषयमा प्रमाण उपलब्ध गराउन केही समस्या छैन ।   
निष्पक्ष छानविन अगाडि बढ्यो र तपाइले भनेजस्तो कुरो बाहिर आयो भने संविधान निर्माणका लागि एक ठाउँमा भएका कांग्रेस, एमाले र एमाओवादीको गठबन्धन बिग्रेला नि ? 
संविधान निर्माण र टीकापुर घटनालाई एक ठाउँमा राखेर हेर्नु हुँदैन । संविधान निर्माण एक ठाउँमा छ र टीकापुर घटना नेपालमा अस्थिरता मच्चाउने, अशान्ति मच्चाउने, जातीय र साम्प्रदायिक दंगा भड्काउने उद्देश्यका साथ भएको छ । तर, त्यो विषय संविधान निर्माणसँग जोडिदैंन र त्यसले संविधान निर्माणलाई कुनै असर पनि गर्दैन् ।  
कैलाली घटनाका विषयमा तपाईंको चर्को अभिब्यक्तिपछि पार्टी अध्यक्षले नै तपाइलाई करेक्सन हुन दबाब दिनुभएको हो ? 
होइन । हामीले आक्रामक अभिब्यक्ति पनि दिएका छैनौं । हामीले पार्टी स्थायी समितिकै बैठकबाट कैलाली घटनालाई मानव सभ्यतामाथिको आक्रमण भनेका छौं । पार्टी अध्यक्षले नै यो आतंकवादी क्रियाकलाप हो भन्नुभयो । त्यो भन्दा माथिल्लो विशेषण यसमा अर्को हुँदैंन । हामीले नै सरकारलाई निष्पक्ष ढंगले छानविन गर्न आग्रह गरेका छौं । उसले जे रिपोर्ट ल्याउँछ, त्यसपछि हामी आफ्नो धारणा बनाउँछौं ।     
टीकापुर घटनाका र त्यसपछिका क्रियाकलापका विषयमा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले धेरैलाई उक्साउने खालको अभिब्यक्ति सोसल मिडियामा दिए । यसलाई कसरी हेर्न सकिन्छ ? 
त्यस विषयमा उहाँले नै विचार गर्ने कुरा हो । उहाँले किन त्यो बोल्नुभएको छ ? त्यो बोल्दा उहाँलाई के फाइदा भएको छ ? त्यो लेभलको नेताले त्यस्तो बोल्दा राष्ट्रलाई के फाइदा भयो ? अहिले हामी संविधान बनाउने निर्णायक चरणमा भएकाले सबै कुराको सार्वजनिक प्रतिवाद गर्ने पक्षमा छैनौं । हाम्रो उद्देश्य संविधान निर्माण गर्नु हो । यी सबै को कति पानीमा छन् ? कसले कसको हितमा काम गर्दैछन् ? यो पनि नेपाली जनताले बुझ्नुपर्छ । जान्न पाउनुपर्छ । जान्न पाउने अधिकार हो । त्यसैले अहिले सबैले आफ्नो आफ्नो हैशियत र आफू कहाँबाट कसको सहयोगमा चलिरहेको छु भन्ने कुरा प्रकारान्तरले देखाइरहेका छन् । यो राम्रो छ कि मानिसका देखाउने एउटा र नदेखाउने अर्को अनुहार हुन्छन् । अहिले नदेखाउने अनुहार पनि देखिन थाल्यो । जुन जनताले बुझिरहेका छन् ।   
संविधान जारी गर्ने क्रममा सिडिओलाई सेना परिचालन गर्ने अधिकार पनि दिइएको छ । त्यसमा केही आन्दोलनरत पक्षको असन्तुष्टी देखियो नि ? 
सेनाका बारेमा पनि धारणा बदल्नुपर्छ । हिजो सेनालाई जुन रुपमा हेर्ने, बुझाउने, बुझ्ने गरिन्थ्यो अब सेना त्यस्तो होइन । सेना पूर्ण रुपमा संविधानको मातहतमा छ । सेना पूर्ण रुपमा नागरिक प्रशासनको मातहतमा छ । संसदको सर्वोच्चतालाई उसले स्वीकारेको छ । त्यसैले सेनाले गतल क्रियाकलाप गर्न भनेर आशंका गर्नुहुँदैंन । अब नेपालको राष्ट्रिय एकताको महत्वपूर्ण खम्बा नेपालको राष्ट्रिय सेना हो । यसलाई बलियो बनाउनुपर्छ । यसको मनोबल बलियो बनाउनुपर्छ ।   
राष्ट्रपतिले पनि सेना परिचालनमा निरन्तर असन्तुष्टी जनाइरहेका खबरहरु आइरहेका छन त ? 
राष्ट्रपतिको असन्तुष्टी के मा हो, त्यो उहाँको अफिसले नै प्रष्ट गर्ने कुरा हो । यो कुनै राष्ट्रियस्तरको सेना परिचालन होइन । यो विशेष जिल्लाहरुमा स्थानीय ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग भएका अधिकारहरु प्रयोग गर्न पाउने अख्तियारी सुरक्षा परिषद्ले दिएको छ । प्रजिअको अध्यक्षमा रहने जिल्ला सुरक्षा परिषद्को निर्णयबाट आवश्यक केही स्थानहरुमा सेनाले आफ्नो गतिविधी बढाउने हो । त्यतिमात्र हो, सेना कुनै दमन गर्न गएको होइन ।   
अर्को सडकमा नेपाली–नेपाली मारकाट गरिरहेका छन्, हिंसात्मक घटना घटिरहेका छन् । त्यो नियन्त्रणभन्दा बाहिर छ । अनि त्यो सबै ब्यारेकमा भएको सेना चुपचाप मोजमस्ती गरेर बस्नुपर्छ भन्ने होइन् । त्यसले आफ्नो कर्तब्य त्यहाँ पालना गर्नुपर्छ । र, अहिले नेपाली सेनाले आफ्नो त्यो कर्तब्य पालना गरेको हो । यसमा राष्ट्रपतिका केही जायज प्रश्न छन् भने यसलाई नेपाल सरकारले प्रष्ट गर्नुपर्छ । राष्ट्रपतिमा कुनै कन्फ्युजन छ भने त्यसको निवारण गर्ने दायित्व प्रधानमन्त्रीको हो ।        
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी