
विदेशीले थोपरेको संघीयताको यो गलपासो अन्ततः नेपाली जनतामा यी नेताहरुले भिराएरै छाडे । नेपाली राजनीतिलाई बर्षौसम्म उस्कन नसक्ने गरी फसाइयो । ‘अरुको भरिया म के गरुँ ?’ भनेझै यी प्रमुख दलका प्रमुख नेताहरुले अरुको भरियाको रुपमा, अरुकै निर्देशनमा नेपाललाई टुक्र्याउने खेललाई अन्तिम रुप दिएका छन् । अहिले जिल्ला टुक्रियो, अब देश टुक्रन्छ ।
मेरै जिल्ला बाग्लुङलाई टुक्रा पारिएको छ । बाग्लुङका जनताले बुझिसके कि चित्रबहादुरले भनेको ठीक रहेछ । टुक्रेका जिल्लाका बासीन्दा धेरै निराश छन् । आज बिहानै मलाई जिल्लाका धेरैले फोन गरेर निराशा जनाए ।
पालैपालो आफ्ना भरियालाई दिल्लीले बोलाएर सीमांकन गरेर मात्रै संविधान जारी गर्न निर्देशन दियो । भरियाहरु आफैले गरेको १६ बुँदे सम्झौताविपरीत गएर एउटा अध्याँरो कोठामा बसेर सीमांकन गरे । १६ बुँदेमा सीमांकन गर्दा भूगोलविद्, समाजशास्त्री लगायत विज्ञहरुको सुझावका आधारमा सीमांकन गरिने उल्लेख थियो । यो एक जटिल प्रक्रिया पनि हो । तर भारतका भरियाहरु एउटा कोठामा बसे । अनि आफुखुसी जिल्ला टुक्र्याए ।
संघीयता नेपालको शन्दर्भमा कुनै पनि अर्थमा ठीक होइन मैले भन्दै आएको छु । वर्तमान, पूर्वमन्त्रीहरुले समेत यो गलपासो हो भन्ने बुझेका छन् । मसँगको व्यक्तिगत कुराकानीमा उनीहरुले संघीयता मुुलुकका लागि अनिष्टकारी छ भन्छन् । तर सबै चुपचाप छन् ।
काकरभिट्टादेखि महेन्द्रनगरसम्मको तराईको भूभाग बेग्लै प्रदेश बनाउने र कालन्तरमा भारत महासंघमा आवद्ध गराउने दीर्घकालिन योजनाअनुसार नै अहिले संघीयताको विजारोपण भएको हो । आठवटा तराईका जिल्लाको एक प्रदेश बनाएर यसको सुरुवात भएको छ । संघीयता बनाउने, आत्मनिर्णय नामक अधिकार दिएर छुट्टिन पाउने व्यवस्था गर्ने र अन्ततः भारतीय महासंघमा तराई लगेर मिसाउने योजनाअनुसार नेपालका भरियाहरु अहिले सल्बलाइरहेका छन् ।
हिजोसम्म सीमांकनसहितको संघीयता चाहिन्छ भन्दै मधेस केन्द्रीत राजनीति गर्नेहरु छट्पटाइरहेका थिए । एक छिनलाई मानौं अब सीमांकन भयो । तर पनि उनीहरु विद्रोहको कुरा गरिरहेका छन् । यसको भित्री कारण चाहीँ के भने प्रमुख दल र यी विद्रोहको कुरा गर्नेका स्वामी एउटै हुन् । एकथरीलाई दिल्ली बोलाएर सीमांकन पहिले गर भन्छ । अर्को थरीलाई विरोध गर, आन्दोलन गर भनेर उक्साउँछ । यी दुवैथरीले हामीलाई उचाल्ने पछार्ने मिलाउने, फुटाउनै एउटै हो भन्ने बुझेका छन् । तर सत्ता र शक्तिका लागि यीनीहरु जे पनि गर्छन् ।
भारतले हिन्दू राष्ट्र खोज्नेहरुलाई उचालेको छ । मधेसीलाई अधिकार माग भनेर उचालेको छ । आदीवासी, जनजाती, पृथकतावादी, संघीयतावादी सबैलाई खेलाउँछ । यसो गर्दा राजनीकि अस्थिरता हुन्छ । यस्तो अस्थिरतामा हस्तक्षेप गर्न पाइन्छ । मुलुकमा अस्थिरता भएन, शान्ति समृद्धि भयो भने स्वाभिमानी नेताहरु जन्मन्छन् । स्वाभिमानी नेताहरुले उनीहरुले भनेको मान्दैनन् । अनि नेपालको राजनीतिमा उनीहरु खेल्न पनि सक्दैनन् । यसो हुन नदिन भएजति सबैलाई उचालेर सधै अस्थिरता सिर्जना गरिएको छ ।
बितेका ६५ वर्षमा १३ सय त नेपालमा मन्त्रीहरु बने । ६४ वटा सरकार बदलिए । यसको अर्थ विदेशीको कठपुतली हुने र सत्तामा जाने प्रयत्न वर्षौअघि देखि भइरहेको थियो । अहिले पनि नेताहरु यही गरिरहेका छन् ।
राष्ट्रियता कमजोर पार्ने गरी तयार पारिएको नागरिकताको प्रावधान पनि घातक छ । बाबु वा आमाको नामबाट वंशजको आधारमा नागरिकता दिने यो प्रावधान हुनु पर्छ भनेर महिलाअधिकारवादीहरु, मानवअधिकारकर्मी, विभिन्न दलहरु उफ्रिरहेका छन् । तर यसको प्रभाव पछि गएर के पर्छ भन्ने यीनीहरुले सोचेकै छैनन् । सजिलै विदेशीलाई नागरिकता दिन सकिने गरी यस्तो प्रावधान राखिएका हो । नेपालमा जनसंख्याको चाप थेगिनसक्ने गरी बढाउने र विदेशीको हातमा नेपाल पुर्याउने खेल हो यो । तर ठूला दलका नेताहरुलाई जसरी पनि चुनाव जित्नु छ, यसका लागि यीनीहरुले ४६ सालयता जन्मेका सबैलाई नागरिकता दिएर लाखौ विदेशीलाई भित्र्याए । पञ्चायतकालमा पनि लाखौ विदेशीको नाम मतदाता सुचीमा राखेर निर्देलीय पञ्चायती व्यवस्थालाई टिकाइयो ।
यति भन्दाभन्दै पनि म एउटा कुरामा चाहिँ अलिकति सन्तुष्ट छु । ६ वटा प्रदेश बनाउने कुरामा दलहरुले सम्झौता गरे । संघीयता नै हुन हुँदैन, हुनै नै भए थोरै संख्यामा हुनु पर्छ भनेको थिएँ । अहिले ६ वटा प्रदेश बनाउने सहमति भएको छ । यसमा केही सन्तोष गर्ने ठाउँ छ ।
(अध्यक्ष केसीसँग ध्रुव रिजालले गर्नुभएको कुराकानीमा आधारित)