
सधैँको दिनझैँ बिहान उठेँ। यस्तो बिहान! आफ्ना सहकर्मी साथीहरुको प्राण लिने दिनको बिहान। सूर्य पूर्वबाट पश्चिम सर्दै आउँदा सहकर्मी साथीहरुको मृत्यु पनि सर्दै आएको रहेछ सायद।
साथीहरूले देखिरहेको आकाशको सूर्य मैले पनि देखेँ हुँला। मिजासिला साथीहरू जोसँग दिनहुँ बिहान उठेदेखि बेलुकी नसुतेसम्म भेट भईरहन्थ्यो। यो तितो यथार्थलाई बिश्वास गर्न कत्तिको अप्ठेरो!
विश्वास नगरेर एकछिन बाँचेकै छन भनेर आफैलाई ढाटीरहुँ जस्तो। मनभरी सम्झनाको बर्षा भइरहन्छ। झल्-झली यादहरू मनको डिल-डिलै दौडीरहन्छन्। अनि कसरी बुझाउँ आफूलाई।
रोइदिन्छु एकान्त पाउने बितिकै। सक्दीन थाम्न आँशुहरू। कैँयौ पटक आँशुहरू परेलीमा आएर अड्किन्छन्। विगतका सम्झना जब मनभरि आउँछन् मन सिमलको भुवा झैँ कता-कता हावासँगै पर-पर भागी हिड्छ।
टिकापुर हत्याकाण्डमा मारिने सबै मेरा सहकर्मीहरू हुन्। तिनीसँग मेरो पारिवारिक साइनोको अलावा राष्ट्रिय साइनो जोडिएको छ। राष्ट्रलाई दु:ख परेको बेला आफ्नो घर-परिवार, आफन्त, इस्टमित्रलाई भुलेर वा आफ्ना व्यक्तिगत रहरहरूलाई तिलान्जली दिएर राष्ट्र निर्माणमा अहोरात्र खटिरहने अहम जिम्मेवारीको साइनो छ।
डाँडामाथिका जुनजस्ता घरमा रहेका भगवान झैँ लाग्ने बुढा बा र आमा, आफ्नो मुटुभन्दा पनि प्यारा लाग्ने छोरा-छोरी, जिन्दगीका प्रत्येक पाइलामा प्रेमको बर्षा गराई रहने जीवनसंगीका कैयन रहरहरु मारेर राष्ट्रको सेवामा सधै समर्पित भइरहने निःस्वार्थ भावनाको साइनो छ। कठोर मुटु भएकाहरूको पनि मुटु पगाल्ने गरी एकतामा बाँधिन सक्ने सामर्थ्यको साइनो छ।
तर के गर्नु यो छातीभित्र ढुंगा नभई रक्त-संचार गराउने कमलो मुटु छ। सुखमा हाँसोको एक थुंगा फूल फुलाउने र दु:खमा आँशुको बर्षा गराउने कमलो मन पनि छ। बिगतका तिता- मिठा सम्झनाहरू थन्काई राख्ने कुन्नि कहाँ निर हो छातीभित्र सानो एउटा घर छ।
लाग्छ जुन घरको ढोका कहिले बन्द नभई सधैँ खुला भइरहन्छ जस्तो। त्यहीँ घरको आँगनमा आजभन्दा ७ वर्ष पहिलेको सम्झनाको बर्षा भइरहेछ। म चाहेर नि सक्दिन यसलाई रोक्न। मेरा केही समय यताका प्रत्येक दिन र रात त्यहीँ सम्झनाहरुले पोतीई रहेका छन् कमेरोले घर पोतेझै। ती सम्झनाहरु यति बलवान् भइ दिन्छन् कि लाग्छ म त्यहीँ सम्झनाको हुरीले उडाईरहेको सिमलको भुवा भित्रको बिज हुँ जस्तो।
७ वर्ष पहिले म प्रहरी भई पहिलो पल्ट खटिएर गएको आफ्नो पहिलो कार्य क्षेत्रको सम्झना।
टिकापुर हत्या काण्डमा मारिएका मेरो पहिलो कार्य क्षेत्रका कमाण्डरको सम्झना।
बिक्रम सम्बत २०६५ साल मङ्सिरताको समय। चिसो बढ्दै गरेको नेपालगन्ज। राष्ट्रिय प्रहरी प्रतिष्ठानबाट १२ महिनाको प्रहरी अधिकृत आधारभूत तालिम सकेर हामी करिब बीस जना आफ्नो कार्य क्षेत्रमा सँगै आएका थियौं।
हामी आफ्नो कार्य क्षेत्रमा आउँदा नेपालगन्जको दंगा नियन्त्रण प्रहरी गणमा तत्कालिन गणपति हुनुहुन्थ्यो लक्ष्मण न्यौपाने सर। हामी आएको दोस्रो दिन सुबेदार मेजरलाई संचार सेटबाट ‘नयाँ असई साबहरुलाई लिएर मेरो निवासमा आउनुहोस्’ भन्नु भएको थियो। हामी कमिलाको एक तातीं झैँ सुबेदार मेजर पदम खड्का सरको पछि लाग्दै उहाँको निवास अगाडि गएर तीन पंतीमा सामेल भएका थियौं।
एक छिनपछि भित्रबाट केहीं चपाए झैँ गरी उहाँ हाम्रो नजिक आएर ‘नयाँ आ’को असई सा’बहरु तपाइँहरू नै हो?’ भन्दै सोध्नु भएको थियो।
‘हो सर!’ हामीले एक स्वरमा भनेका थियौं।
‘तपाइँहरुलाई यो कार्यालयमा स्वागत छ,’ उहाँले हाँस्दै भन्नुभएको थियो।
‘धन्यवाद सर!’ हामीले दुई खुट्टा जोडेर सहर्स स्वीकार गरेका थियौं।
एकै छिनको परिचयात्मक कार्यक्रमपछि उहाँले केही कुरा संक्षेपमा भन्छु ध्यान दिएर सुन्नु होला भनेपछि हामिले आफ्ना कान टट्कारो पारेका थियौं। उनले अगाडि भन्नुभएको थियो –
‘प्रत्येक मान्छेले आफ्नो धरातलीय यथार्थ भुल्नु हुँदैन। ‘म’ को हुँ र मैले के गर्नुपर्छ भन्ने कुरा सबैले थाहा पाउनुपर्छ। काम गर्ने मान्छेको हातबाट गल्ति हुन्छ। जानी-जानी गल्ति गर्नु हुँदैन। अन्जानमा गरेको गल्ति क्षम्य हुन्छ। कोसँग कस्तो ब्यवहार गर्नुपर्छ थाहा पाईराख्नुपर्छ। संगठनको हित बिपरित जानुहुँदैन। हामी जनताका सेवक हौँ। त्यसैले जनहितलाई ध्यानमा राखेर काम गर्नुपर्छ। यति कुरामा तपाईँले ध्यान दिनैपर्छ। यो कुरा तपाईँले दिमागमा लेखेर राख्नुहोस्। कुरो त बुझ्नु भा छ?’
‘बुझ्यौं सर।’ हामीले भनेका थियौं।
करिब १० महिना संगैको बसाइपछि उहाँ सरुवा भएर जानुभयो। सरूवा भएर जाँदै गर्दा अन्तिममा ‘पृथ्बी गोलो छ, एक दिन भेट कसो नहोला? अझ हामी त एउटै संगठनको सदस्य कहीं न कहीँ हाम्रो भेट भै हाल्छ,’ भन्नु भएको थियो। समयक्रम सँगै हाम्रो पनि भिभिन्न फरक-फरक ठाउँमा सरूवा भयो। संजोगले भन्नुपर्छ फेरि उहाँ र मेरो भेट धनगढ़ीमा भयो।
यसपाली भने उहासँग मैले नजिक भएर काम गर्ने अवसर पाएको थिएँ। बिहान उठेदेखि बेलुका नसुतेसम्म भेट भइरहन्थ्यो। कहिले काँही काम पर्दा सुतेको बेला नि फोन गरेर उठाई दिन्थेँ। लाग्छ झस्काई दिन्थेँ। जे-जस्तो गरे नि रिसाउने बानी उहाँमा थिएन। सबैसँग हाँसी-हाँसी काम गराउने उहाँको बानी थियो। उहाँ सबैसँग मायाले बोल्नु हुन्थ्यो। आफूभन्दा माथिल्लो कमान्डरलाई आदर र तल्लो दर्जालाई खुबै माया गर्नुहुन्थ्यो। धेरै नआत्तिने बानी थियो। उहाँ सधैं भन्नुहुन्थ्यो-‘आत्तिएर काम हुँदैन। धैर्य भएर काम गर्नुपर्छ।’
उहाँ आम मानिससँग कहिले पनि झर्किएर बोल्नु हुदैनथ्यो। कुनै ठाउँमा केही घटना भए आफै गएर जनमानसलाई सम्झाई बुझाई गर्ने उहाँको कलाबाट जो कोही पनि प्रभावित बन्न सक्थ्यो। त्यसैले टीकापुरमा भएको बिरोध कार्यक्रममा समेत सम्झाई बुझाई गर्न उहाँ स्वयम् जानुभयो।
भीडलाई अन्तिमसम्म पनि सम्झाई-बुझाई गरी राख्नुभयो। तर भीडले सम्झाएको मानेन। अन्तिममा भाला तथा घरेलु हतियारले शरीर छिन्न-भिन्न बनायो। सँगैका धेरै अन्य प्रहरीहरुलाई पनि लखेटी-लखेटी विभत्स तथा पासविक किसिमले हत्या गरियो। कैयौं घाइते बनाइए।
म त शान्ति स्थापनापछि प्रहरीमा भर्ति भएकोले होला जेष्ठ सदस्यहरुले आफूले युद्वकालमा कैंयौ ठाउँमा लडेका, मान्छे मरेका बिभिन्न घटनाहरुको बारेमा सुनाइरहन्छन्। घटनाहरु सुनीरहँदा पनि मन थाम्न सक्दिन रून मन लाग्छ। सोच्छु मर्ने र मार्नेहरू जो भए पनि हाम्रै दाजुभाइहरू त हुन् नि। मनलाई फराकिलो बनाएर हेर्छु संसारका सबै मानिस एउटै लाग्छन्। अझ फराकिलो बनाएर हेर्दा पशु, रूख-बिरूवा, ढुंगा-माटो यी सब सजिव र निर्जीव चिजबस्तु पनि हाम्रै नजिकका साथी हुन झैँ लाग्छन्।
यो धर्तीमा सबैको बाँच्ने अधिकार छ हुनु पनि पर्छ। अब पशु बलिलाई अधिकार जोडेर पशु अधिकार बनाइँदै छ र मन्दिरमा पशु बली दिन इन्कार भइरहेको बेला घरेलु हतियारको प्रयोग गरी विभत्स किसिमले मारिएका मेरा निहत्था सहकर्मीहरुको मृत्युसँग कुन अधिकार जोडिएला आउँछ? यसको उत्तर खोजिनु जरूरी छ। उहाँ सँगसँगै एउटा फक्रिदै गरेको कोपिला पनि चुँडियो।
उसले थाहा पायो वा पाएन मेरो देशमा संबिधान बन्दै गर्दा म मारिए भनेर? ऊ ठूलो भएपछि एक शिक्षक,वकिल,डाक्टर बन्न सक्थ्यो होला। अझ त्यो भन्दा पनि माथि अर्कै उचाई पो लिन सक्थ्यो कि? ऊ त्यो अभागी कोपिला बन्यो जसले फक्रिएर आफ्नो सुवास छर्न नपाउँदै चुडिनु पर्यो। उसलाई यो धर्तिको माटोमा हुर्किने अधिकार थिएन र? उसका अगाडि विश्वब्यापी बाल अधिकारका घोषणापत्रहरू किन निस्प्रभावी बनाइए? त्यो उही कोपिला चुडाल्ने पापीलाई थाहा होला।
***
अब सहकर्मीहरुका आनीबानी पनि सम्झनामा मात्र सीमित रहे। अब कहिले पनि कुनै गुनासो र कार्यालयको काम लिएर उहाँको अगाडि उभिन पाउने छैन म। अब आँखाका डिलमा झर्न खोजिरहेका दुई थोपा आँसु अड्याएर कार्यालयका भित्तामा अड्याएका उहाँका तस्बिरसँग बात मारीरहने छु। तस्बिर हेर्दा उहाँ बोल्नुहुन्छ वा बोल्नु हुन्न थाहा छैन। तर म भने अवश्य बोलिरहने छु। उहाँका तस्बिर हेर्दा सम्झनाको प्रत्येक पत्र किताबको पानाझैँ मनभित्र फर्काइ रहने छुँ।
अन्तमा दिबंगत आत्माहरु जाओ! जाओ!! जाओ!!! पर जाओ। एक दिन चाँडो या ढिलो सबैले आउनैपर्छ तिमी गएको बाटो। क्रुर व्यक्तिहरुले निर्मताका साथ भाला रोपेर तिमीहरुको हत्या गरेको ठानेता पनि हामी माझ मरेका छैनौ तिमीहरु।
तिम्रो साहस र बीरताको प्रत्येक प्रश्वासले हामी बाँचिरहने छौँ। तिमिहरुले आफ्नो बलिदानी दिएर संयमताको पाठ सिकाएर गएका छौ। हामीमा रहेको संयमताको उदाहरण प्रस्तुत गरेर गयौ। हामी त्यही बाटोलाई पछ्याई रहनेछौँ। आफू मरेर गयौ तर अर्काको ज्यान लिएनौं। हो त्यही तिम्रो बहादुरी र संयमताको प्रत्येक पाइला हामी पछ्याई रहने छौं।
तिम्रो असामयिक मृत्युले मन दुखेता पनि राष्ट्र सेवाको लागि हिडिरहेका यी पाइला किन्चित पनि बिचलित/कमजोर भएका छैन। मनोबल गिरेको छैन। थप हौस्याएको छ तिम्रो बलिदानीले। राष्ट्र-सेवक भएर आफ्नो कर्तब्य पुरा गरेकोमा तिमिप्रति गौरबको बर्षा भइरहेछ यो छातीभित्र।
अझ काम गर्ने साहस र प्रेरणा मिलेको छ। आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र नेपाली जनताको हितमा काम गर्ने तिमीजस्ता देशभक्त र कर्तब्यनिष्ठ कर्मचारीहरुले नेपाल प्रहरीको गौरवपूर्ण गाथालाई झन फराकिलो बनाई दिएका छन्। शिर उचो पारि दिएका छन्।
तिम्रो योगदानको उच्च मुल्यांकन गरी रहेछन् नेपाली जनता। शुक्रराज शास्त्रीले ‘मर्नु फेरि जन्मनु हो’ भनेझै तिमी मरेर फेरि नेपाली माझ जन्मिएका छौं। बाँचेका छौ। बाँची रहने छौ। तिम्रो हत्या गर्ने ती कायर व्यक्ति आफूभित्र मरेतुल्य छन्। तिनले आफूलाई सरापीरहेछन्। एक दिन तिनी पक्कै पनि आफ्नो पापको प्रायश्चित गर्न जनताको अदालतमा उपस्थित हुने छन्। आफूलाई धिकार्ने छन र पापको फल भोग्ने छन्। अन्तमा तिम्रो मृतात्माले चीर शान्तिको कामना र घाइतेको शिघ्र स्वास्थ्यको कामना गर्दै यो हातको कलम अहिलेलाई यहीँ रोकेँ। जय नेपाल!
मनोज सिंह साउँद
नेपाल प्रहरी (धनगढी)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्