×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्या भण्डारी किन जाँदिनन् एमाले मुख्यालय ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्या भण्डारी किन जाँदिनन् एमाले मुख्यालय ?

Artha Sarokar

१ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

२३ साउनमा बल्खुबाट धुम्बाराहीमा पार्टी  कार्यालय सार्ने औपचारिक कार्यक्रममा नेकपा (एमाले)का कार्यकर्ताले उपाध्यक्ष विद्या भण्डारीलाई नदेखेपछि खिन्न माने । र, धेरैले सोधीखोजी गरे । उपाध्यक्ष भण्डारी, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईजस्तो उपत्यका बाहिरको पार्टीकै कार्यक्रममा व्यस्त भएर उपस्थित नभएका होइनन् ।

उपाध्यक्ष भण्डारीले ‘शीर्ष बैठकमा सिंहदरबारमा अर्को कार्यक्रममा व्यस्त हुनुपरेकाले सहभागी हुन नसकेको’ बनावटी जवाफ मिडियालाई दिइएपनि कसैले पत्याउन सक्ने आधार थिएन । किनकी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमसमेत त्यही कार्यक्रममा व्यस्त रहेपछि पक्कै शीर्ष बैठक हुँदैन भन्ने त प्रष्टै छ ।

त्यो कार्यक्रममा मात्र होइन, त्यसयता भएका पार्टीअध्यक्षले गरेका दुई औपचारिक पत्रकार सम्मेलन र एक वृहत कार्यकर्ता भेलामा समेत उपाध्यक्ष भण्डारी राजधानीमै भएर पनि उपस्थित भइनन् । अरु बेला गुटको भेलामा सबैभन्दा सशक्त ढंगले लाग्ने उनी कार्यालय स्थानान्तरण गर्ने सवालमा सुरुदेखि नै फरकमतमा भएकाले धुम्बाराहीमा हुने हरेक औपचारिक कार्यक्रम अघोषित रुपमा बहिस्कार गर्दै आएकी छिन् ।

जनसंगठनका अगुवा कार्यकर्ताको धुम्बाराहीमा भएको वृहत भेलामा त स्वयम् एक जनसंगठन प्रमुख अखिल नेपाल महिला संघको अध्यक्ष भएका नाताले मात्र पनि कार्यक्रममा सहभागी हुनुपर्ने थियो । तैपनि उनी सहभागी नभएपछि एमाले पंक्तिमा हल्लीखल्ली नै भएको छ ।

के हो विद्याको असन्तुष्टिको जड ?

एमाले स्रोतका अनुसार, विद्याले मदन भण्डारीको नामबाट स्थापित भइसकेको मदननगरबाट कार्यालय कुनै हालतमा सार्न नहुने बरु बल्खुकै भवनलाई रातारात गरेर सबै कार्यकर्ता परिचालन गरी पुनर्निर्माण गर्न सकिने तर्क राखेकी थिइन् । मदन भण्डारीसँग भावनात्मक सम्वन्ध गाँसिएको स्थानमा कार्यालय छाड्नु हुँदैन भन्ने उनको तर्क बलशाली बनेन र अन्तत कार्यालय धुम्बाराही सरेरै छोड्यो । बुझिएअनुसार, उनले अध्यक्ष केपी शर्मा ओलीलाई ‘धुम्बाराहीस्थित कार्यालयमा भएका कार्यक्रममा आफू अनुपस्थित रहने जनाउ दिएकाले’ त्यसयता बसेका स्थायी समिति बैठक पनि धुम्बाराहीमा बस्दैन । संसदीय दलको कार्यालयमा डाकिन्छ ।

कृपासुरलाई कृपा गर्न नहुने तर्क

एक अबोध महिलासँग नजायज सम्बन्ध राखेर छोरो जन्मिसक्दा पनि लामो समय औपचारिकता र पहिचान दिन नमानेका कृपासुर शेर्पा जस्ता अनैतिक मान्छेलाई कारबाही गर्न भन्दै भण्डारी आफैँ अध्यक्ष रहेको अखिल नेपाल महिला संघमा उजुरी प¥यो । उनले शेर्पाको कारबाहीको माग गर्दै स्थायी समितिमा प्रस्ताव राख्दा कारबाहीको सट्टा उल्टो मन्त्री बनाउने कुरामा अधिकांश नेता एकमत देखिएपछि विद्या असन्तुष्ट हुनु अस्वाभाविक थिएन ।

शेर्पाकै तारतम्यबाट पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको परिसर एमालेले पाउनु र मन्त्रीपदसँग साटफेर गरेजस्तो देखिनु संयोगमात्र नभएपछि विद्याले धुम्बाराही जान मन मारेको उनीनिकट कार्यकर्ता बताउँछन् । ‘उपाध्यक्ष भण्डारीलाई आफ्नै पतिका नाममा नामकरण भएको मदननगर बल्खुबाट केन्द्रीय कार्यालय सार्न लागेको पनि पटक्कै चित्त बुझेको थिएन,’ एक कार्यकर्ताले भने, ‘बल्खुसँग हाम्रा नेता कार्यकर्ताको भावना जोडिएको भन्दै उहाँले चित्त दुखाउनुभएको छ ।’

महासचिव हाबी भएको गुनासो

पछिल्लोसमय एमालेभित्र अध्यक्ष ओलीले परम्परागत ढंगमा गुटको उत्तराधिकारी को भन्ने सवालमा केही विवाद उत्पन्न भएको आभाष हुन थालेको छ । महासचिव ईश्वर पोखरेल र उपाध्यक्ष भण्डारीमध्ये भावी नेतृत्वको रुपमा कसलाई अघि सार्ने भन्ने विषय पनि संस्थापन पक्षले टुंग्याउन सकेको छैन । कार्यकर्ता र गुटका मान्छेलाई गजबसँग संरक्षण र सहयोग गर्न तत्पर हुने उपाध्यक्ष भण्डारी र दायाबाया सबैतिर मिलाएर ऐनमौकामा आफूलाई बलियो रुपमा प्रस्तुत गर्न सक्ने पोखरेलबीच पहिलेदेखि अघोषित द्वन्द्व देखिएपछि एकै गुटका कार्यकर्ता पनि दुईतिर बाँडिएका छन् ।

अध्यक्ष ओलीले सबैसँग काम लिन सन्तुलनमा दुवैलाई मिलाएर काम दिएकामा पोखरेलले बढी भूमिका पाएको भन्दै विद्याको चरम असन्तुष्टि रहेको एमाले वृत्तमा चर्चा छ । त्यसो त पछिल्लोपटक अध्यक्ष ओलीले अकस्मात् आफ्नो प्रतिनिधिका रुपमा महासचिव ईश्वर पोखरेलसहितको टोलीलाई चीन पठाएपछि विद्या झनै रुष्ट भएको बताइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख वाङ जिया रुईको निमन्त्रणामा चीन प्रस्थान गरेको प्रतिनिधिमण्डलमा महासचिव पोखरेलका अतिरिक्त पोलिटब्युरो सदस्य विष्णु रिमाल र महासचिवको सचिवालयका निजी सचिव दीपेन्द्र श्रेष्ठ सम्मिलित थिए ।

त्यसो त उनले महासचिव पोखरेलको भूमिका बढ्दै आफूलाई कम भूमिका दिइएपछि अघिल्लो केन्द्रीय कमिटी बैठकमै गुनासो राखेकी थिइन् । ‘हामी त राखिदिएको कुर्सीमा बस्ने, बैठकमा आफ्ना कुरा राखेर जाने मान्छे हौँ । अरू जो–जो साथीहरू हर्ताकर्ता हुनुहुन्छ, उहाँहरूलाई मैले स्थायी समितिको पहिलाको बैठकमा पनि भनेकी थिएँ, बल्खुबाट कार्यालय नसारौँ । तर, मान्नुभएन । आज पनि भन्छु, केन्द्रीय कार्यालय नसारौँ ।’

कहिले जालिन् त अब ?

पार्टीमा कुनै छलफल नै नगरी बहुपत्नीका धनी कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाएर पुरस्कृत गरिएको एमालेका धेरै नेतालाई झैँ उपाध्यक्ष भण्डारीलाई पनि चित्त बुझेको छैन । उनले स्थायी समिति बैठकमा बारम्बार त्यसलाई एजेन्डा बनाउन लगाए पनि अध्यक्ष ओलीले त्यसलाई कुनै महत्त्व दिएनन् । त्यहीकारण असन्तुष्ट भण्डारीले अनैतिक मानिसलाई किन संरक्षण गरिएको भन्दै प्रश्न गर्दा पनि नेताहरुले केही जवाफ दिन सकेनन् । त्यसहिसाबले उनी शेर्पा मन्त्री पदबाट नहटेसम्म कार्यालय नजाने सम्भावना पनि रहनेको कार्यकर्ताहरु बताउँछन् । यद्यपि भण्डारी कार्यालय नगएका विषयमा अहिलेसम्म कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन । भित्रभित्रै कसरी असन्तुष्टि भुसमा आगो झैँ सल्किएको छ भन्ने चैँ नजिकबाट हेरिरहेकाहरुले राम्रै अनुभूति गरिरहेका छन् ।

– शन्तराम बिडारी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी