×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो, गभर्नर नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो, गभर्नर नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध !

Artha Sarokar

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

गभर्नर डा. चिरञ्जीवी नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध
१. असार ०७० मा तीन बैंकिङ संस्था मिलेर बन्यो एपेक्स
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । टेम्पो व्यवसायबाट उन्नति गरेका धिताल कांग्रेस लमजुङका क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि थिए । यो राजनीतिक प्रभाव उनले उन्नतिमा होइन, आप्mनै बैंकको दुर्गतिमा प्रयोग गरे ।
२. सञ्चालककै सक्रियतामा एपेक्सभित्र घोटाला जारी
एपेक्स डेभलपमेन्ट बैंकको दरबारमार्ग, लोकन्थली र इटहरी शाखाबाट नक्कली ऋणी खडा गरेर, कमसल धितो राखेर, सम्पत्तिको नक्कली कागज बनाएर तथा मूल्यांकनसमेत नगरी कर्जा प्रवाह थालियो । एपेक्सका दरबारमार्ग र लोकन्थली शाखाले प्रवाह गरेको ऋणमध्ये ८०% र इटहरी शाखाको ७०% ऋण खराब कर्जा भएको राष्ट्र बैंकको प्रतिवेदनले नै देखाउँछ । यसरी एपेक्सको प्रणालीबाट अस्वाभाविक रूपमा दुई अर्ब ऋण प्रवाह भएको थियो ।
३. ०७० माघमा एनसिसी पस्यो राष्ट्र बैंक, मर्जरको हतारो
एनसिसीका प्रमुख दुई लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानबीचको विवाद अनियन्त्रित भएपछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको थियो । राष्ट्र बैंकको प्रतिनिधिका रूपमा तत्कालीन निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा रमेश आचार्य र रेशमराज रेग्मीको समूहले ०७० माघमा एनसिसीको व्यवस्थापन नियन्त्रणमा लिएको थियो । एनसिसीको विवाद सल्टाउने र कुनै पनि समूहको सेयर अनुपात १० प्रतिशतभन्दा तल कायम गर्ने, मर्जरमार्फत पुँजी पुनर्संरचना गरेर नयाँ व्यवस्थापनलाई बैंक सुम्पेर फर्कने कार्यादेश यो समूहलाई थियो । मर्जरमा जाने तर कोसँग भन्नेमा राष्ट्र बैंकको प्रतिनिधि व्यवस्थापनले तर्कसंगत प्रक्रिया अघि बढाउन सकेन । राष्ट्र बैंककै व्यवस्थापनले इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंकसँगै एपेक्स डेभलपमेन्ट बैंकलाई पनि एनसिसीमा भित्राउने प्रक्रिया सुरु ग¥यो । एउटा बैंकको सुधार गर्न आएको व्यवस्थापनले अर्को खराब बैंकलाई भित्राउन भने कुनै संकोच मानेन ।
४. घोटालाको आशंकामा स्थलगत निरीक्षण, सँगसँगै मर्जर पनि
एनसिसीमा रहेको राष्ट्र बैंक व्यवस्थापनले मर्जरको प्रक्रिया चलाइरहँदा राष्ट्र बैंकको अर्को टोलीले एपेक्सको घोटालामाथि छानबिन गरिरहेको थियो । विकास बैंक सुपरीवेक्षण विभागको टोलीले २६ भदौदेखि ३ कात्तिक ०७३ सम्म स्थलगत छानबिन गर्दा दुई अर्ब घोटाला भएको प्रतिवेदन नै तयार पारेको थियो । घोटालाले थलिएको एपेक्सको नेटवर्थ सयबाट शून्यमा झरेर त्यसबाट पनि तल गई माइनस २५ रुपैयाँमा पुगेको थियो । तर, त्यहीबीचमा योजनाबद्ध रूपमा गरिएको पुनर्मूल्यांकनले नेटवर्थ ४८ रुपैयाँ पुर्‍याइयो । त्यसैले एनसिसीका बहुमत सेयरहोल्डरले एपेक्ससँग मर्जरको कडा विरोध गरेका थिए । तर, राष्ट्र बैंकको टोलीले सल्लाह होइन, निर्देशनात्मक निर्णय गरेपछि १७ पुस ०७३ मा चार विकास बैंक र एनसिसी मर्जर भई संयुक्त कारोबार नै सुरु भयो ।
५ .एपेक्सको घोटालाको रिपोर्ट मर्जरपछि मात्रै तयार
विकास बैंक सुपरीवेक्षण विभागले छानबिन गरिरहेकाले एपेक्स र एनसिसीको मर्जरको विषयमा राष्ट्र बैंकले धैर्य गर्न सक्थ्यो । तर, प्रतिवेदन आएपछि कठिनाइ हुन्छ भन्ने जानेर नै एकीकृत कारोबार सुरु गरियो । १७ पुस ०७३ मा एकीकृत कारोबार सुरु भयो । ११ दिनपछि २८ पुस ०७३ मा प्रतिवेदनको ठहर थियो, ‘घोटालाले एपेक्सको अवस्था खराब छ ।’ साथै २ माघ ०७३ मा बसेको विकास बैंक सुपरीवेक्षण विभाग, नीति निर्देशन कार्यान्वयन समितिको बैठकले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीलाई कारबाही गर्न गभर्नरसमक्ष सिफारिस गरेको थियो । कारबाही गरिनुपर्ने एपेक्सका अध्यक्ष विष्णु धिताल भने राष्ट्र बैंककै संरक्षणमा एनसिसीको बोर्डमा पुगिसकेका थिए ।
६. गभर्नरले कारबाही रोके, अर्को समिति बनाए
राष्ट्र बैंककै प्रतिवेदनले २ माघ ०७३ मै कारबाही सिफारिस गरे पनि १२ वैशाख ०७४ सम्म गभर्नर डा. चिरञ्जीवी नेपाल मौन बसे । किनकि, विष्णु धितालले राजनीतिक मात्र होइन, गभर्नर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए । त्यसैले कारबाहीमा आलटाल गर्ने मनसायका साथ राष्ट्र बैंकले एपेक्समा कर्जा प्रवाहमा अनियमितता भए–नभएको अनुसन्धान गर्न पाँच सदस्यीय निरीक्षण टोली बनायो । १२ वैशाखमा काम थालेको टोलीले १६ असारमा प्रतिवेदन तयार पार्‍यो, जसमा भनिएको थियो, ‘एपेक्सको दुई अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाहमा अनियमितता भएको छ ।’ यो प्रतिवेदनले पनि कारबाहीको सिफारिस गरेको थियो ।
७. दुई–दुई समितिले सिफारिस गर्दा पनि कारबाहीमा ढिलाइ
राष्ट्र बैंकका दुईवटा प्रतिवेदनले एपेक्समा संगठित आर्थिक अपराध भएको भन्दै कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंंकको नेतृत्वले दोषीलाई संरक्षण दिइरह्यो । पहिलो समितिले पुसमै र दोस्रो समितिले असारमा प्रतिवेदन दिए पनि राष्ट्र बैंक नेतृत्वले कारबाही टार्न कसरत गरिरह्यो । यसबीचमा राष्ट्र बैंक बोर्डमा विवाद पनि भयो । तर, गभर्नर नेपाल आफैँ संगठित अपराधी धितालको पक्षमा उभिएकाले निर्णय हुन सकेन । थाम्नै नसक्ने भएपछि मात्र प्रहरीमा उजुरी भयो, धिताललगायतका योजनाकार पक्राउ परे । सामान्य विषयमा परिपत्र जारी गर्ने, कारबाही गरिहाल्ने गभर्नर यति ठूलो आर्थिक अपराधमा संरक्षक बनेर बसेको यो घटनाले राष्ट्र बैंकको इतिहासमा दाग लगाएको छ । -नयाँ पत्रिकाबाट 

(स्मरण रहोस् यो घोटाला प्रकरणलाई पहिलो पटक नेपाली मिडियामा अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी