आदरणीय, राजन सिंह भण्डारीज्यू !
नमस्कार !
बैंकमा बिहिबार, र शुक्रबार भेट्न आएँ, तपाईंलाई भेट्न दिइएन । बैंकमा केहि समय अगाडी भएको सुनकाण्डका बारेमा बोदराज देवकोटालाई सोधें, ‘आजलाई समय छैन, कल गरेर आउनुहोस्’ भनेर फर्काउनुभयो । हो पनि, समय नलिइ भेट्न जानु मेरो पनि गल्ती थियो । केहि दिनमा जाँदैछु उहाँलाई भेट्न । सुन काण्डमा के भएको हो, कसको भएको हो, बैंकको आधिकारिक धारणा बुझ्नेछु । र घटनाको भित्री रहस्य जनताका अगाडी ल्याउनेछौं ।’ यसो त उहाँले केहि दिन अगाडी हामीलाई खुलेआम ढाट्नु भएको तथ्य पनि कसैमाझ लुकेको छैन । खैर, यो प्रसङ्गमा अर्को बहस गरौँला, बैंकको कुरा सुनौंला । फोन गरेर बोदराज देवकोटालाई राम्रै समय लिएर आउनेछु ।
बैंकमा सुनकाण्ड घटीरहँदा बैंक यस विषयमा बोलेन भन्दापनि कर्पोरेट कम्युनिकेसनमा रहेकी तपाईंकि एक कर्मचारीले हामीलाई गरेको दुर्व्यवहारबाट हामी अचम्ममा परेका छौं । बैंकको नामचाहिं इन्टरनेशनल अनि व्यवहारचाहिं यस्तो तल्लो स्तरको ? आज घटनाको फेरिहस्त तपाईंलाई भन्नै पर्ने भयो । किनकि कर्मचारी आउँछन्, जान्छन्, नाम बिग्रिने बैंकको हो ।
सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेललाई नेपाल चार्टड एकाउन्टेन्ट्स् संस्थाले कारवाही गरेको विषय त तपाईंलाई थाहा नै होला । तपाईंपनि सोहि संस्थाको सदस्य भएकाले थाहा नहुने कुरै भएन । हो, सिटिजन्स बैंकका डेपुटी सीइओले गैरकानुनी काम गरेको प्रमाणित भएको खबर हामीले सार्वजनिक गरेपछि तपाईंको बैंककि कर्मचारीले मलाइ फोन गरेकी थिइन् । फोनमा खास अरु इस्यूमा कुरा भएन । उहाँले अनलाइनको बिज्ञापन दर माग्नुभयो, हाम्रो मार्केटिङ टिमले पठाईदियो । भोलिपल्ट उनले फोनमै सर्त राखिन्, ‘म तपाईंलाई मासिक बिज्ञापन पठाउँछु, समाचार हटाईदिनुहोस्। ‘ यो कुरा स्वीकार्ने कुरै थिएन । त्यसमाथि भन्न पनि यसरी भनियो कि मानौं हामी उनका नोकर हौँ, र हामीले ठुलै गल्ती गरेका छौं । हामीले समाचार हटाउने कुरै भएन । म परिक्षा हलमा भित्र छिर्दै थिएँ, त्यसैले पछी कुरा गर्छु भनेर फोन राखिदिएँ ।
भोलिपल्ट आइक्यानले कारवाही गरेका पोख्रेल सीइओ बन्न पाउँछन् कि पाउँदैनन् भन्ने एउटा विश्लेषणसहितको समाचार प्रकाशित भयो । उनले फोन गरेर निकै चर्को भाषामा थर्काईन्, ‘के गरेको त्यो ? झन् बिज्ञापन दिन्छु भनेको होइन ?’ म उनीसँग बहस गर्ने मुडमा थिइन । उनी एनआइसी एसिया बैंकमा हुँदा पनि उनको दुर्व्यवहारले मलाइ नमज्जा लागिसकेको थियो । त्यो बेला मैले बैंकका सीइओ लक्ष्मण रिसाललाई उक्त दुर्व्यवहारका बारेमा सुनाएको थिएँ । उहाँले म सम्झाउंछु भन्नुभएको थियो । पछी उहाँलाई बैंकले मिडियासँग दुर्व्यवहार गरेको भन्दै निकालेको भन्ने सुनें । हो कि होइन थाहा छैन । त्यसपछि केहि समयपछी थाहा भयो, उहाँ तपाईंको बैंकमा आउनुभएको रहेछ ।
कुरा यतिकैमा सकिएको थियो । बीचमा सिटिजन्स बैंकमा भएको सुनकाण्डको बारेमा हामीले समाचार लेख्यौं । सोहि बीचमा एक दिन उनले फेरि फोन गरेर, ‘तपाईंको बिज्ञापन ‘अप्रुभ’ गरेको छु, बैसाख ७ गते हाम्रो एनिभर्सरी छ, त्यो दिन देखि राख्नुहोला ।’ तर हाम्रो डेपुटी सीइओको समाचारचाहिं हटाउनुपर्छ भनेर सर्त राखिन् । म फेरि पनि उनीसँग बहस गर्ने मुडमै थिइन । समाचार र बिज्ञापनको विषय फरक विषय भएको र प्रेस काउन्सिलको नियमअनुसार समाचार हटाउन मिल्दैन भन्ने कुरामा म प्रष्ट थिएँ । त्यो मेरो नैतिकताले दिने कुरा पनि थिएन । मैले फोन राखें ।
नभन्दै ७ गते दिउँसो एम्निल टेक भन्ने कम्पनीबाट सिटिजन्स बैंकको बिज्ञापन हाल्नु भनेर रिलिज अर्डर आएछ । स्टाफले जानकारी दिनुभयो । खास बिज्ञापन राख्ने भन्ने विषयमा हाम्रो डिसिजन भएको थिएन । किनकि बैंकको सर्त हामीलाई कुनै पनि हालतमा मन्जुर थिएन । कुरा के रहेछ भनेर मैले ती कर्मचारीलाई फोन गरें, उनले केहि समयमा फोन गर्ने बताईन् । परीक्षाको समय चलिरहेकाले मैले बिज्ञापन पठाउने एजेन्सीसँग कर्फरमेसन मागें । त्यहाँकी कर्मचारीले, ‘नीतिकाजीले पठाउनु भन्नुभएको हो, बिज्ञापन हाल्नुहोस्’ भनेर खबर गर्नुभयो । सोहि जानकारी मार्केटिङ विभागलाई गराएँ ।
केहि समयपछी बैंककि कर्मचारीको फोन आयो, ‘समाचार हटाउने भए बिज्ञापन पठाउँछु, नत्र पठाउँदिन । भन्नुहोस् के गर्ने हो ?’ बिज्ञापन त अघि नै आएर पनि, कन्फरमेसन लिएर पनि हालिसकियो । उनले मलाइ थर्काएको महसुस भयो । म एउटा बैठकमा भएकाले उनलाई केहि भन्न मन लागेन । एनआइसी एसिया बैंकदेखि नै उनको व्यवहारबाट म आजित थिएँ । मैले अफिसमा सल्लाह गरेर कुरा गरौँला भनेर फोन राखें । मैले बिज्ञापन पठाउनुहोस् अनि सल्लाह गरौँला भनेर जिस्क्याईपनि दिएको थिएँ । त्यो दिन त्यतिकैमा सकियो ।
केहि दिनपछी फोन आयो ! बाघले स्याल झम्टेको जसरी, जड्याहा बुढालाई बुढीले थर्काएजसरी । ‘बिज्ञापन कसलाई सोधेर राखेको ?’ मैले जे भएको थियो त्यहि भनें । उनले पुन : दोहोर्याईन्, ‘बिज्ञापन राखीरहने भए त्यो समाचार हटाउनु ! होइन भने बिज्ञापन हटाउनु !’ मैले समाचार हटाउन नसक्ने बरु बिज्ञापन हटाइदिने भन्दै फोन राखें । र सोहि अनुसार गरें !
माथिको घटना एउटा प्रतिनिधि घटनामात्र हो । जसकाबारे मलाइ थप बहस गर्नुपनि छैन । हिजो आज र भोलि सधैं म एउटा कुरामा स्पष्ट छु, बिज्ञापनका नाममा समाचारमा सौदाबाजी हुनै सक्दैन । कसैले त्यो गर्छ भने त्यो गलत काम हो । जहाँसम्म बैंकका डेपुटी सीइओको समाचारको कुरा थियो, मैले उहाँलाई भेटेर यस विषयमा थप कुरा सोधेको पनि थिएँ । उहाँको बाध्यता पनि बुझेको थिएँ । उहाँलाई भेटेर फर्किएको दिन कता कता यस विषयमा थप लेख्न उचित हुन्छ कि हुन्न भनेर आफैंलाई प्रश्न पनि गरिरहेको थिएँ । तर अचानक एउटी बैंककि कर्मचारीले एउटा सञ्चारकर्मी माथि यति धेरै दुर्व्यवहार गर्छिन् भने किन माया गर्ने गलत काम गर्नेलाई भन्ने कुरामा अहिले म स्पष्ट भएको छु । उनले मलाइ पटक पटक फोन गरेर पत्रकारिता सिकाउने प्रयास पनि गरेकी छिन् । उनको टेलिफोन रेकर्ड मसँग सुरक्षित छ । अर्को अंकमा प्रकाशित गर्नेछु ।
पीर बुढी मरी होइन, काल पल्क्यो भन्ने कुराको हो । पछिल्लो समय बजारमा चर्चा चलेको छ, ‘अर्थ सरोकारले सुन काण्ड उठाएपछी अरु मिडियालाई मेनेज गर्ने बिज्ञापन प्लान बनाइयो ।’ यो कुरा कतिको सत्य हो, तपाइँलाई नै थाहा होला, ‘तर जनतालाई असुरक्षामा राख्ने र त्यो कर्तुत लुकाउन पठाइएको बिज्ञापनमा हाम्रो खास इन्ट्रेष्ट पनि छैन ।’ कुरा बैंककि कर्मचारीले मिडियालाई गरेको पटक पटकको दुर्व्यवहारको हो । यसले मिडिया सञ्चालकलाई एउटा अचम्मको ‘इगो’ पलाउनु अस्वाभाविक होइन । नचाहेरै पनि त्यस्तो हुने गर्छ । तपाईंजतिको पढेलेखेको मान्छेलाई मैले अरु कुरा बुझाउनु पर्दैन । तर ती कर्मचारीले मिडियालाई रैतीजसरी गरेको व्यवहारको प्रतिकार हामीले समाचारमार्फत गर्नु नै पर्छ भन्ने कुरामा हामी स्पष्ट छौं । बैंकमा भएका विभिन्न घोटालाका समाचारमा हामी अनुसन्धानको प्रक्रियामा छौं ।
मीठो बोले ढुंगा त गल्छ भन्छन्, हामी त मान्छे । काग र कोहिली उस्तै देखिन्छन्, तर मान्छे कोहिलीलाई किन मन पराउँछ ? कारण एउटा मात्र हो ,’काख रुखो बोल्छ, कोहिली मिठो। ‘ हामीलाई वा जो कोहीलाई गरिने दुर्व्यवहारले नकारात्कम नतिजा ल्याउने कुरामा कुनै शंका छैन । हामीले एनआइसी एसियाको प्रयोजनका लागि दिएको डिटेलको उनले मिसयुज गरेको प्रमाण हामीसँग छ । उनका प्राय फोनहरु रेकर्ड गरेका छौं । अर्को अंकमा प्रकाशित गर्छौं, सुनेर धारणा बनाउनुहोला ।
उनी त प्रतिनिधि पात्र मात्र हुन्, कर्मचारीले कर्पोरेट म्यानर सिक्नुपर्छ । अझ त्यो त पब्लिक कम्पनी हो । जहाँ जनताको पैसा छ । जागिरे हुँ भन्दैमा कसैले पनि दादागिरी देखाउनु हुन्न । बिज्ञापनको फुर्ती लगाउँदैमा बिक्ने मिडिया हामी परेनौं । भेट्ने अवसर जुर्यो भने बाँकी कुरा त्यहि गरौंला । तिनको व्यवहार सुध्रिएको देख्न पाए, निकै खुसी हुने थियौं ।
अर्थ सरोकार डटकम
काठमाडौँ।
यो पनि पढ्नुहोस्
सिटिजन्स बैंकको कुपन्डोल साखा असुरक्षित प्रमाणित भएपछि ग्राहक आत्तिए, कर्मचारीकोसमेत मनोबल खस्कियो !