×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड भाडामा बस्दै आएका ठेकेदार अधिकारीमाथि सुनकाण्डमा निगरानी

PRIME CA
GLOBAL IME BANK

प्रचण्ड भाडामा बस्दै आएका ठेकेदार अधिकारीमाथि सुनकाण्डमा निगरानी

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाण्डौं – विवादास्पद बन्दै गएको ३३ किलो सुन तस्करी प्रकरणमा ‘क’ श्रेणीका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको पनि संलग्नता रहेको आशंका गर्न थालिएको छ । सुन प्रकरण : धमाधम प्रहरीकै फन्दामा प्रहरी
उक्त सुनकाण्ड छानबिन गर्न मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गरेको ‘छानबिन समिति’ र गृह मन्त्रालयका त्यससम्बन्धी क्रियाकलापलाई प्रभाव पार्न ठेकेदार अधिकारीले प्रयास गरेको गृह मन्त्रालयस्थित उच्च स्रोतको दाबी रहेको छ ।
ठेकेदार अधिकारीले सुनकाण्डको छानबिनलाई प्रभाव पार्न सुन अवैध ओसारपसार लागूऔषधको कारोबार वा ज्यान मार्ने उद्योगजस्तो नभएकोले यसलाई खोतल्दै र चर्काउँदै लैजान नहुने भनेर लबिङ गर्नथालेपछि छानबिन समितिले उक्त सुनकाण्डमा उनको संलग्नता हुनसक्ने आशंका गरेर उनीमाथि निगरानी बढाएको स्रोतको दाबी छ । उनी सैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक हुन् ।
यसअघि उनी साझा भवनमा रहेको एउटा कम्प्युटर इन्स्च्यिुटको सामान्य कर्मचारी थिए । अहिले उनी नेपालमा छोटो समयमा अत्यन्त धनी बनेका व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा पर्दछन् ।
रातारात धनी भएका नुवाकोटको सामान्य परिवारका ठेकेदार अधिकारीले सुनकाण्डको छानबिनलाई अवरुद्ध गर्न मन्दविषको प्रयोग गरेपछि छानबिन समितिले उनीमाथि नै निगरानी गर्नुपरेको स्रोतको दाबी छ । उक्त सुनकाण्डमा निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संलग्नताको लगभग टुंगो लागेको स्रोतको दाबी छ । अर्याललगायत उनको नेतृत्वकालका केही एआईजीहरु पनि सो काण्डमा संलग्न रहेको आशंका गरिएको छ ।
सुनकाण्डमा निवर्तमान प्रहरी महानिरीक्षक अर्याललगायत अन्य सुरक्षाकर्मीमाथि छानबिन सुरु भई पक्राउ समेत पर्नथालेपछि ठेकेदार अधिकारीले विशेष चासो राखेको स्रोतको दाबी रहेको छ । ठेकेदार अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भाडामा बस्दै आएका छन् । ठेकेदार अधिकारीको सुनकाण्डमा संलग्न रहेका आशंका गरिएका व्यक्तिहरुसँग बाक्लो उठबस हुने गरेकोले पनि उनलाई निगरानीमा राखिएको स्रोतको दाबी रहेको छ । उनी कुनै पनि हालतमा सो सुनकाण्डलाई ‘पेण्डिङ’ राख्ने गरी ‘सेटिङ’ मिलाउँदै आएका छन् ।
ठेकेदार अधिकारीले आफ्नो हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग विशेष सम्बन्ध रहेको बताउँदै आएका छन् । उनले महानिरीक्षक खनालकै नाम लिँदै सो काण्डको छानबिनमा अवरोध पु-याउने कोसिस गरेको स्रोतको भनाइ छ । संगठित रूपमा सुन तस्करीका घटनामा एकपछि अर्को वरिष्ठ प्रहरी अधिकारी मुछिएपछि अदालतमा मुद्दा दार्ता गराएर सामान्य मुद्दाको रुपमा राखी सुनकाण्डको प्रकरणलाई निष्क्रिय बनाइराख्ने योजनामा रहेको स्रोतको दाबी रहेको छ ।
छानबिन कार्यलाई बीचमै रोकेर जतिसक्दो चाँडो अदालतमा मुद्दा दर्ता गराई विचाराधीन अवस्थामा सुनकाण्ड प्रकरणलाई राख्न लगाई सो विषयमा मुछिएकालाई उन्मुक्ति दिने ‘सेटिङ’मा ठेकेदार अधिकारीले जिम्मेवारी समेत लिएका छन् । सोहीअनुसार उच्चपदस्थ कर्मचारीदेखि नेतालाई समेत प्रयोग गर्दै आएका छन् ।
गत फागुन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको तस्करीको ३३ किलो सुन ओसारपसारका क्रममा हराएको थियो । त्यही सुन खोज्ने क्रममा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि यो प्रकरण सार्वजनिक भएको हो । शाक्यको हत्या अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी नेतृत्वको टोलीकै भूमिका शंकास्पद देखिएपछि मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गरेको थियो ।
मोरङ, उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती नै पछिल्लो सुन प्रकरणका मुख्य व्यक्ति भएको भन्दै उनको खोजी भइरहेको थियो । लामो समय दुवई बसेर फर्केका उप्रेतीले नै प्रहरीका उच्चपदस्थ अधिकारी र विमानस्थलका कर्मचारी हातमा लिएर संगठित रूपमा सुन तस्करी चलाएको अनुसन्धान अधिकारीहरूको ठहर रहेको छ । स्रोतका अनुसार उप्रेतीकी श्रीमतीसमेत हाल दुवई बस्दै आएकी छिन् । उप्रेतीकै योजनामा दुवईबाट आउने सुन विमानस्थल हुँदै बाहिरिन्थ्यो र स्थलमार्ग हुँदै त्यसलाई भारतीय बजार पु-याउँदै आएको अनुसन्धानबाट खुलेको हो । उनले आफू र आफूनिकटका प्रहरी उच्चपदस्थ अधिकारी र सुन व्यापारीलाई समेत साथमा लिएका थिए ।
प्रहरी सहायक निरीक्षकबाट अवकाश पाएका बाबुका छोरा भएकाले उनलाई केही प्रहरी अधिकारीले विश्वास गरेको पाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित नौ सदस्यीय विशेष अनुसन्धान समितिले अहिलेसम्म २० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् । समितिकै निर्देशनमा प्रहरीले चैत अन्तिम साता तस्करीको सुन कारोबारमा संलग्न भन्दै आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एयरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतलाई पक्राउ गरिसकेको छ ।
समितिले ११ वैशाखमा मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाललाई बयानपछि नियन्त्रणमा लियो भने सोही दिन इटहरीमा कार्यरत डीएसपी सञ्जय राउतको बयान लियो । डीएसपी राउत भने बयान सकिनै लागेका बेला समितिका सदस्यलाई झुक्याएर बेपत्ता भएका छन् ।
उच्च प्रहरी अधिकारीसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको विशेष समितिले घटनाको लहरो तान्दै जाँदा संगठित तस्करीको जालो क्रमशः खुल्दै छ । समितिले १० वैशाखमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई बयानपछि नियन्त्रणमा लिएको थियो ९ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्वडीआईजी गोविन्द निरौलालाई समेत बयानपछि नियन्त्रणमा लिएको थियो ।
गत फागुन १४ गते काठमाडौंको गौरीघाटबाट हराएका सनम शाक्यलाई सुन तस्करकै समूहले हत्या गरेपछि सो काण्ड बाहिर आएको हो । फागुन १९ गते महाशाखाले जारी गरेको विज्ञप्तिमा शाक्यको हत्या काभ्रेका टेकराज मल्ल, मोरङ, उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मिलेर गरेको निष्कर्ष निकालेको थियो ।
समितिले महाशाखाको टोली आफू तालुकदार निकाय महानगरीय प्रहरी कार्यालयलाई जानकारी नगराई कार्यक्षेत्रभन्दा बाहिर गएर काम गरेको, महाशाखाका सई बालकृष्ण सञ्जेल र गोरे लामो समयदेखि सम्पर्कमा रहेको, उनैको सूचनाका आधारमा गोरे भागेको आशंका गर्दै डीएसपी केसी, सई सञ्जेलसहित महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई जिम्मेवारीमुक्त गर्दै हेडक्वार्टर तानिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण काफ्लेले भने मन्त्रिपरिषद्ले गठन गरेको समितिको कामकारबाहीबारे आफूलाई थाहा नहुने बताउँदै आएका छन् । समितिले हालसम्म पक्राउ गरेका व्यक्तिका आधारमा गोरेले संगठित तवरमै सुन तस्करीको -याकेट चलाइरहेको प्रारम्भीक अनुसन्धानबाट थाहा भएको छ ।
विमानस्थलका कर्मचारी, थाई एयरवेजका कर्मचारी, भन्सारमा खटिने लोडरदेखि प्रहरीका अधिकारीसम्मलाई मिलाएर संगठित तवरमा विमानस्थलबाट सुन बाहिरिएको देखिन्छ । समितिको निर्देशनमा प्रहरीले नेपाल एयरलाइन्सका तीन र थाई एयरलाइन्सका आठ कर्मचारीलाई पक्राउ गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट संगठित रूपमा टनका टन सुन तस्करी भइरहेको बताएका थिए ।
सुन तस्करीमा यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो होस् वा महानगरीय अपराध महाशाखाले गरेका अनुसन्धानमा प्रतिवादीहरूको ठूलो संख्या देखिने तर प्रमाण अभावमा उनीहरू अदालतबाट सजिलै छुट्ने गरेको पाइएको छ । २०७३ पुस २१ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाएका ३३ मध्ये २० जना सामान्य धरौटी बुझाएर छुटिसकेका छन् । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन तस्करीको अभियोगमा प्रमुख योजनाकार भनिने रसुवाका कांग्रेस नेता मानबहादुर तामाङसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । जसमा काठमाडौंका पाँच जना सुनचाँदी व्यवसायी र गाडीका तीन चालकसमेत थिए ।
तर अदालतबाट धरौटी बुझाएर चालकबाहेक सबै छुटिसकेका छन् । १५ भदौ २०७२ मा केरुङबाट भित्रिएको २२ मध्ये १५ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । ब्युरोले उक्त सुन तस्करीका मुख्य नाइके सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल रहेको ठहर गरेको थियो । तर घटना सार्वजनिक भएलगत्तै फरार भएका पौडेल खुसुक्क अदालतमा उपस्थित भएर एक लाख धरौटी बुझाई छुटेका छन् ।
३३ किलो सुन तस्करीमा अनुसन्धान गरिरहेको समितिको निर्देशनमा दुई बहालवाला प्रहरी अधिकारीलाई पक्रिन प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यालय र ७७ वटै जिल्लामा बुधबार दिउँसो आन्तरिक सर्कुलर गरेको छ ।
एसएसपी श्याम खत्री र ११ गते गृह मन्त्रालयमा बयान चल्दाचल्दै भागेका डीएसपी सञ्जय राउतलाई पक्राउ गर्न यस्तो सर्कुलर जारी गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल भन्सारबाट बाहिरिएको सुन विमानस्थल गोल्डेन गेट हुँदै बाहिरिएलगत्तै समातेको थियो । उक्त सुन पास गराउन एसएसपी खत्रीको समेत संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो । तर खत्रीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए । सुन तस्करीका मुख्य नाइके गोरेसँग एसएसपी खत्रीको नियमित सम्पर्क देखिएको भन्दै अनुसन्धान समितिले उनको खोजी गरेको हो ।
फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गायब पारिएको ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै रहमस्यमय मृत्यु भएको थियो । पक्राउ परेका चौधरीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको थियो । चौधरी ३० वर्षदेखि त्रिभुवन विमानस्थलस्थित नेपाल वायुसेवा निगमको जहाजमा लोडरको काम गर्दै आएका थिए ।
त्यस्तै थाई एयरवजको टेक्निसियन ५५ वर्षीय सानु बनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्महत्या गरेका थिए,आर्थिक दैनिकमा उल्लेख छ  ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय विशेष अनुसन्धान समितिले सो सुनकाण्डबारे छानबिन गरिरहेको छ । – न्युज अभियानबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: