×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

PRIME CA
GLOBAL IME BANK

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौं –  ३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् । प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको ३३ किलो सुनको सोधखोज गर्न अझैसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विमानस्थलस्थित अध्यागमन कार्यालय र पर्याप्त रूपमा हवाई एजेन्सीलाई छानबिनको दायरामा ल्याइएको छैन । समितिले केही व्यापारी र प्रहरी नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । यो अन्नपुर्णपोस्टमा खबर छ ।
प्रहरी मात्रैको मिलेमतोमा विमानस्थलबाट सुन बाहिरिने हो त ? , छानबिन समितिमाथि अहं प्रश्न तेर्सिएको छ । सुन बरामद घटनाबारे विस्तृत अनुसन्धान नगरिएका कारणसमेत तस्करले उन्मुक्ति पाउने गरेका छन् । भन्सारको एक्सरे मेसिन छलेर सुन बाहिरिएको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीको जफावदेहिताबारे गृहसहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समिति मौन छ । झन्डै एक महिनासम्म अनुसन्धानमा तल्लीन समितिको निष्कर्ष छ, ‘यसअघिका सुन बरामद घटना राजस्व अनुसन्धान विभागमा बुझाउने पुरानो प्रथाका कारण सुन हराउने र तस्कर मौलाउने गरेको देखियो ।’
नयाँ फाइल खोल्दै समिति
समितिका संयोजक पौडेलले प्रारम्भमा प्रहरी, केही व्यवसायी र एयरलाइन्सका केही कर्मचारी पक्राउ गरिए पनि छानबिनको दायरा अब फराकिलो पारेर लगिने बताए । ‘अहिले झट्ट हेर्दा प्रहरी मात्रै समातिए भन्ने गुनासा आएका छन् । तर, त्यो मात्रै होइन’, समितिका संयोजक पौडेलले भने, ‘भन्सारका कर्मचारी पनि हाम्रा निगरानीमा छन् । विमानस्थल मात्रै नभई स्थलमार्गबाट हुने तस्करीबारे पनि अनुसन्धान गर्छौं ।’
पौडेलका अनुसार सबैभन्दा बढी सुन तस्करी हुने भनिएको तातोपानी र केरुङ भन्सारको फाइल पनि अनुसन्धानका लागि खोलिएको छ । प्रहरीले पछिल्लो दुई वर्षयता मात्रै सुनमा पक्राउ परेका व्यक्तिविरुद्ध संगठित अपराध मुद्दा चलाउँदै आएको छ । त्यसअघि सुन बरामद भएपछि घटना सार्वजनिक गर्ने र थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाउँदै आएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेको ३३ किलो सुन र महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुन प्रकरणमा सामान्यतया गहिरो छानबिन भएको भनिएको थियो । केरुङ नाकाबाट तस्करी भएको उक्त सुन प्रकरणका मुख्य आरोपी चिनियाँ नागरिक उम्किए भने प्रहरी संलग्नताको विषय अझै रहस्यपूर्ण छ ।
३३ किलो सुन प्रकरणमा अनुसन्धान हुँदा समितिको सिफारिसमा पक्राउ परेर मुद्दा चलाइएका प्रहरी अधिकारी पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल र एसएसपी खत्रीका सवारी चालक विष्णु खड्का मोरङ प्रहरीको हिरासतमा छन् । यीबाहेक अन्य व्यापारी र होटल व्यवसायी पनि छन् । फरार एसएसपी खत्रीलाई पक्राउका लागि प्रहरी मुख्यालयले देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिसकेको छ ।
एसपी खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहँदा सीआईबीले ३३ किलो सुन बरामद गरेको थियो । तत्कालीन समयमा गोरे उपनामका चूडामणि उप्रेती सुनका मुख्य कारोबारी रहेको भन्दै उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखिएको छ । विमानस्थलमै रहँदा मानवतस्करी मुद्दामा मुछिएका एसपी खनाललाई तत्कालीन डीआईजी नवराज सिलवाल नेतृत्वको सीआईबीले ‘क्लिन चिट’ दिएका थिए । एसएसपी खत्री मुछिए तर गोरेसँग प्रत्यक्ष सम्पर्क रहेका खनालको कतै नाम आएन । सीआईबीले गोरेलाई फरार सूचीमा राख्दा उनको सम्पर्क खनालसँग रहे÷नरहेको विषयमा समेत समितिले अनुसन्धान गरिरहेको छ ।
खनाल विमानस्थलमा रहँदा विमानस्थलको सुरक्षा नेतृत्व डीआईजी विजयलाल कायस्थ (हाल अवकाशप्राप्त एआईजी) ले गरेका थिए । एसएसपी खत्री कायस्थका सहयोगी (ट्वाईसी) थिए । सीआईबीले ३३ किलो सुन बरामदको समयमा कायस्थसँग समेत सोधपुछ गरेको थियो । कायस्थ र सिलवाल एउटै ब्याची भएका कारण पनि अनुसन्धान प्रभावित भएको आकलन सुरक्षा अधिकारीहरूको छ । तत्कालीन समयमा मुछिएका आरोपीमध्ये एक एसएसपी श्याम खत्री अदालतको आदेशमा धरौटीमा छुटे ।
खनालले अहिले समितिको बयानमा तर्क गरेका छन् ‘गोरेसँग मेरो सम्पर्क भएकै हो तर सुन तस्करी प्रकरणमा होइन । विमानस्थलमा मेरो भूमिकाले मात्रै सुन तस्करी सम्भव छैन, त्यहाँ भन्सार छ । भन्सारमा प्रहरीको कुनै भूमिका हुँदैन ।’ खनालले बयान दिएजस्तै सीआईबीले तत्कालीन समयमा भन्सार अधिकृतदेखि एक्सरे मेसिनमा ड्युटी गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । तर, तस्करले भन्सार मिलाए पनि तस्करीको सामग्री विमानस्थल बाहिरसम्म निकाल्न प्रहरीको भूमिका रहने दाबी विमानस्थलमै बसेका पूर्वअधिकृतहरूको छ ।
सुन बरामद घटनामा यसअघि प्रहरीले नै छानबिन गर्दै आएको थियो । तर, यसपटक भने प्रधानमन्त्री केपी ओलीले नै चासो दिएपछि गृहले सहसचिव पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको हो । प्रहरी मात्रैको छानबिन पूर्वाग्रही हुने र आफ्नै संगठनका सदस्य मुछिएपछि छानबिन फितलो देखिने भएकाले गृहले सहसचिव नेतृत्वको समिति बनाएको हो । समितिले हालसम्म केलाएको पाटोअनुसार माघ ९ गते विमानस्थलबाट सानु बनले सुन ल्याएर मध्यबानेश्वर पु¥याउँछन् । बनले सुन सनम शाक्य (गोरेद्वारा हत्या गरिएको भनिएका व्यक्ति) लाई बुझाउनुअगाडि नै सुन गायब भएपछि अनुसन्धान रहस्यको मोडमा पुगेको हो । समितिले अहिले यही बिन्दुमा रहेर सुनको सोधखोज गरिरहेको छ ।
संगठित अपराध अनुसन्धानमा अनुभवी मानिने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी विमानस्थलबाट हुने सुन तस्करी प्रहरी मात्रैका भूमिकाबाट सम्भव नभएको बताउँछन् । विमानस्थलमा प्रहरी निरीक्षक भएर काम गरिसकेका उनले भने, ‘विमानस्थलमा भन्सार छ, विभिन्न एयरलाइन्स कम्पनी छन् र त्यसबाहेक अन्य सुरक्षा एजेन्सी छन् । संगठित अपराध भएकाले प्रहरी मात्रै मतियार हुन सक्दैन । समितिले अन्य एजेन्सीमाथि पनि छानबिन अगाडि बढाउनुपर्छ ।’ विमानस्थलमै डीआइजी हुँदा सुरक्षा नेतृत्व गरेका पूर्वएआईजी विज्ञानराज शर्मा पनि विमानस्थलमा प्रहरी मात्रैको मिलेमतोमा तस्करी सम्भव नभएको बताउँछन् । समितिलाई उनले सुझाव दिए, ‘छानबिनको दायरा फराकिलो पार्दै जाने हो भने धेरै रहस्य बाहिर आउन सक्छ ।’
न सुन छ, न मुख्य अभियुक्त
गायब भनिएको ३३ किलो सुन र सुनका मालिक भनिएका गोरे उपनामका चूडामणि उप्रेती फेला नपरेपछि छानबिन समिति अहिले प्रहरी वरपर मात्र घुमिरहेको देखिन्छ । समितिले फोन ‘कनेक्सन’का आधारमा पूर्व र बहालवाला प्रहरी पक्राउ गर्दै मुद्दा प्रक्रियामा गएको छ । मुख्य अभियुक्त उप्रेतीको ‘कनेक्सन’ खोज्दै जाँदा प्रहरी कर्मचारीको भूमिका देखिएको आरोप छानबिन समितिको छ ।
पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा.युवराज संग्रौला मुद्दा चलाउँदैमा अभियुक्त दोषी करार नहुने बताउँछन् । उनले शंका वा आरोपित देखिएपछि समितिले मुद्दा चलाउन मिल्ने बताए । ‘आरोपित व्यक्तिले आफू गलत होइन भन्ने कुरा प्रमाणित गर्न पाउँछ । त्यस्ता आरोपीमाथि प्रिजेन्स अफ इनोसेन्ट थ्यौरी लागू हुन्छ । भोलि प्रमाण पुगेन र ऊ छुट्यो भने उसले क्षतिपूर्ति मागदाबी गर्न पाउँछ,’ डा. संग्रौलाले भने, ‘मुद्दा लगाएकै आधारमा उसले सजाय पाउनुपर्छ भन्ने हुँदैन ।’
यता, छानबिन समितिका सदस्य एसएसपी वसन्त लामा भने ‘फोन कनेक्सन’ का आधारमा मात्रै मुद्दा प्रक्रिया अघि बढाइएको भन्ने तर्कको खण्डन गर्छन् । उनले भने, ‘मुद्दा प्रक्रियामा जाँदा प्रमाणलाई समातेरै अघि बढिएको छ । हामी दुई÷चार दिनभित्रै प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्छौं ।’ छानबिन समितिका अर्का एक सदस्यका अनुसार गायब पारिएको भनिएको सुन भारत पुगिसकेको छ । तर, छानबिन र अनुसन्धानको रूपरेखा तथा यसको परिणामप्रति भने बहस–विमर्श जारी छ ।

को को पक्राउ परे
– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ
– थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी
– व्यापारी गोपालकुमार श्रेष्ठ
– व्यापारी दोराम खत्री
– व्यापारी सम्भिरप्रसाद तोलाङे,
– व्यापारी हेमन्त गौतम
– गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा
– व्यापारी वीरेन्द्रमान श्रेष्ठ
– थाई एयरवेजका कर्मचारी लालबहादुर मगर
– व्यापारी राजु महर्जन
– व्यापारी, भारतीय नागरिक महावीर गोल्यान
– लाक्पा शेर्पा (हत्या आरोपी)
– मदन घिमिरे (हत्या आरोपी)
– आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य
– जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल
– गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की
……
प्रहरीतर्फ
– पूर्वडीआईजी गोविन्द निरौला
– एसपी विकास खनाल
– डीएसपी सञ्जय राउत
– डीएसपी प्रजित केसी
– सइ बालकृष्ण सञ्जेल
– जवान विष्णु खड्का
फरार
– एसएसपी श्याम खत्री
– मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती
यस्तो छानबिन समिति
– गृहका सहसचिव ईश्वरराज पौडेल
– राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा
– एसएसपी वसन्तकुमार लामा
– गृहका उपसचिव भविश्वर पाण्डे
– उपन्यायाधिवक्ता हरि रेग्मी
– डीएसपी सुदीप पाठक
– प्रहरी निरीक्षक भीष्म हुमागार्इं
– कानुन अधिकृत भोजराज दाहाल
– सइ सुमन कार्की
नसुल्झेका यी पक्ष
– मुख्य तस्कर आरोपी गोरे कहाँ छन् ?
– तस्करीको सुन कहाँ छ ?
– भन्सारका कर्मचारीको संलग्नता किन खुलेन ?
– विमानस्थलका अन्य एजेन्सीको संलग्नता
– अहिले देखिएका पात्र मात्रै हुन् कि अरू पनि छन् ?
सुन तस्करीको सिलसिला
०४२ फागुन – राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा २२ तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
०४३ – राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर गुरुङ अवैध सुनसहित विमानस्थलबाटै पक्राउ
०४४ – अधिराजकुमार धीरेन्द्रका अंगरक्षक भरत गुरुङ र आईजीपी डीबी लामा सुन तस्करीको विमानस्थलमा हुने सुनसँगै अन्य अपराधमा संलग्न आरोपमा पक्राउ
०५२ – एक डीएसपी चालक समातिएपछि सम्पूर्ण सुरक्षाकर्मी फेरिएको
०७० असार – तातोपानीबाट भिœयाइएको ३५ किलो सुन सीआइबीद्वारा जफत
०७३ पुस – विमानस्थल हुँदै तस्करी भएको सीआईबीद्वारा ३३ किलो सुन जफत
०७४ भदौ – केरुङबाट भिœयाइएको ८८ किलो सुन महानगरीय प्रहरी अपराध महाशाखाद्वारा जफत ।
०७४ भदौ – सीआईबीद्वारा बरामद १५ किलो सुन बरामद घटनामा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल मुछिए ।
०७४ माघ – ३३ किलो सुन गायब बनाएको आरोपमा सनम शाक्यको हत्या ।
०७५ वैशाख – ३३ किलो सुन प्रकरणमा तस्करलाई सघाएको अरोपमा प्रहरीका पूर्वडीआईजीसहित ६ प्रहरी अधिकृत पक्राउ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: