×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैते धान भित्र्याउन व्यस्त किसान, व्यापारीले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चैते धान भित्र्याउन व्यस्त किसान, व्यापारीले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता

Artha Sarokar

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भजनी । कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त छन् । उनलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहेका छन् । रासायनिक मलको खोजीमा रहेका उनले मल पाएको भए आजसम्म खेत रोपिसकिने बताए ।

चौधरीले तीन बिघा जमिनमा चैते धान रोपेका छन् । भजनीका अधिकांश किसान चैते धान भित्र्याउनमै व्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन् । “मौसमले निकै साथ दिएको छ । धान काट्न र सुकाउनका लागि मौसमले साथ दिएपछि खेत रोपाइँभन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौँ,” रामप्रसादले भने, “हाम्रा लागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षेधान त बाढी र डुबान भएन भन मात्रै भित्र्याउन पाइन्छ । त्यही पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।”

भजनीका किसानमा हिउँदे खेती गर्न पाए पनि वर्षे खेतीमा आकर्षण निकै कम हुने गरेको छ । बर्सातमा बाढी र डुबानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुबानमा पर्छ । लामो समयसम्म डुबान रह्यो भने लगाइएको अन्नबाली कुहिएर जाने भएकाले लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालीमा आकर्षण कम हुँदै गएको भजनीका अर्का किसान सुन्दर चौधरीले बताए । “कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नगरपालिकाको आसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुने गरेको छ,” सुन्दरले भने, “चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन् । मौसम राम्रो भयो भने चैते धान सहजै भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाँझै राख्ने गरेका हुन् ।”

भजनी नगरपालिका–६ का विष्णुप्रसाद डगौंराले दुई बिघा जमिनमा चैते धान रोपेका छन् । उनले केही धान भित्र्याइसकेका छन् । अहिले पनि विष्णुप्रसाद खेतमै व्यस्त छन् । वर्षे धानभन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्ठाबाट सुरु गरेका चैते धानको खेती दुई बिघामा पुर्याएको बताए । “वर्षभरिका लागि खाने धान हामी असारमै भित्र्याउने गछौँ । बर्सातको त भरै हुँदैन ।” विष्णु प्रसादले भने, “खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ ।”

वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा भए पनि सिँचाइका लागि बढी समस्या हुने गरेको किसानहरुको गुनासो छ । घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भए पनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएका कारण विद्युत्को बिल महँगो हुनजाने गरेको अर्का किसान जङ्गबहादुर साउँदले बताए । उनले सरकारले अनुदान दिनुभन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुन्थ्यो भने । “दिनभर सिँचाइ गर्दा दुई हजारसम्म पनि बिजुलीको बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिए सहज हुने थियो ।” जङ्गबहादुरले भने, “स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौँ । आश्वासन आउँछ तर बिजुलीमा किसानलाई अनुदान आउँदैन ।”

चैते धानका लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउनपछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मूल्यमा नभई व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्माको गुनासो थियो । “उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ । उत्पादन भएको वस्तुको भनेजस्तो मूल्य पाइँदैन ।” राजेन्द्रले भने, “बजारीकरणमा सरकारले ध्यान दिएको भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।” भजनी, जोशीपुर, कैलारीलगायत क्षेत्रमा सयौँ बिघा क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । केही वर्षपहिले परीक्षणका रुपमा मात्रै हुने गरेको चैते धानको खेतीमा भजनी नगरपालिकाले किसानलाई बीउलगायतमा अनुदानसमेत दिँदै आएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी