काठमाडौँ । नेपाल बैंकमा घुस खाएको नलेख्न इन्टरनल अडिटरलाईसमेत घुसकै अफर गरिएको पाइएको छ । विभिन्न शाखाको अनुगमनका क्रममा बैंकका घुस खाने मेनेजरले आफुले घुस खाएको तथ्य अडिटरले फेला पारेपछि सो विवरण रिपोर्टमा नलेख्नसमेत घुसकै अफर गरेको पाइएको हो ।
बैंकको इन्टरनल अडिटमा कार्यरत एक कर्मचारीले यस्तो तथ्यको खुलासा गरेका हुन् । ‘हामीले एक शाखाका कर्मचारीले घुस खाएर दिनै नमिल्ने ऋण दिएको पायौँ । सो तथ्य रिपोर्टमा नलेख्न बैंकका ब्राञ्च मेनेजरले हामीलाई नै घुसको अफर गरे । तर हामीले सो विवरण रिपोर्टमा लेख्यौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने । आफुले घुस खाएर रिपोर्ट लुकाउन नमानेपछि ती ब्राञ्च मेनेजरले माथि सीइओसँग नै कुराकानी गर्ने भन्दै धम्कीसमेत दिएका थिए ।
‘हामीले घुस खान मानेनौँ । प्रतिवेदनमा लेख्यौँ । त्यसपछि ती शाखा प्रबन्धकले माथि सीइओ सरसँगै कुरा गर्छु भने । पछि हाम्रो प्रतिवेदन कतिपय मिडियामा समेत सार्वजनिक भयो । त्यति हुँदा पनि ती कर्मचारीलाई कारवाही गर्नुको साटो उन्मुक्ति दिइयो ।’ ती कर्मचारीको गुनासो थियो, ‘अव सीइओ सरसँग के कुरा भयो थाहा भएन । तर ऋणीसँग घुस लिएको प्रमाणित तथ्य हामीले रिपोर्टमा राखेका थियौँ । अहिले अख्तियारले यो विषयमा सीइओ तिलकराज पाण्डे सरउपर पनि छानविन गरिरहेको सुनेको छु ।’
आन्तरिक लेखापरीक्षणका क्रममा बैंकका विभिन्न शाखामा खुलेआम घुस मागिने गरेको भेटिएको ती कर्मचारीको दाबी छ । ‘अझ मधेशका शाखाहरुमा त कतिपयको रेट नै रहेछ । हुन त केहि डराउने र केहि इमान्दार कर्मचारी पनि त्यहाँ छन्, तर धेरै कर्मचारी घुस लिनेदिने काममा संलग्न छन् । बैंकका अन्य थुप्रै शाखामा पनि घुस लिने दिने कम भएको छ । हामीले प्रतिवेदनमा लेखिएका विषय पनि बैंकले सिरियसली लिएन ।’