काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा देशभरका भ्यालुएटर्स (मूल्यांकनकर्ता) इन्जिनियरहरुले ऐक्यबद्धता जनाएका छन् । साउन १४ गते (बुधबार) संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका मूल्यांकनकर्ता इन्जिनियरहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
बैंकविरुद्ध गत साउन ५ गते नै विज्ञप्ति जारी गर्दै नेपाल भ्यालुयर्स एसोसिएसन (एभिए)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
बैंकले सम्झौताविपरीत मूल्यांकनकर्तालाई दुःख दिने गरेको, राष्ट्र बैंकको निर्देशिका विपरीत मूल्यांकनकर्तालाई शर्तनामा गराउने तथा एकपक्षीय रुपमा बिना सुनुवाइ कालोसूचीमा राख्नेसम्मको कारबाही गरेको भन्दै एसोसिएसनले आन्दोलनको घोषणा गरेको थियो ।
तर, माग सम्बोधन नहुने देखेपछि एनभिएले साउन १२ गतेदेखि काम नै ठप्प गरेर आन्दोलन जारी राखेको छ । सोहीबीच उक्त आन्दोलनलाई देशभरका मूल्यांकनकर्ता इन्जियरहरुले साथ दिएका छन् । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको उक्त आन्दोलनमा मूल्यांकनकर्ताहरुले सबै काम ठप्प पारेका छन् ।