काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी खुद नाफा कमाएको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा २० लाख रुपैयाँ ऋणात्मक थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशत र अन्य सञ्चालन आम्दानी १८.४८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमै लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ५२.७७ प्रतिशतले बढेको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ३५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा पनि गत आर्थिक वर्षको चौथो मसान्तसम्म १३ करोड ११ लाख रुपैयाँ धनात्मक रहेको छ । नाफासँगै यसअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा लघुवित्तको ईपीएस ६३ पैसा ऋणात्मकबाट बढेर २८ रुपैयाँ ७० पैसा पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.३८ गुणा छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ ।