Skip to content
LAXMI SUNRISE BANK

रावाका कर्मचारीको गुनासो- ‘हिसाब भद्रगोल छ, सिइओकै साढुदाइ अडिटर भएर होला, लायबलिटी बुक नगरेकोसमेत हेरिएन’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा सिइओकै साढुदाइ नाता पर्ने प्रकाश लम्साल लेखापरीक्षक भएका कारण बैंकले गरेका बदमासीमा अडिटरले आँखा चिम्लिएको पाइएको छ । बैंकले अप्रुभल दिएर काम लगाएका भेण्डरहरुलाई भुक्तानी गर्न बाँकी रकम बुक गर्नुपर्नेमा त्यसो नगरिएको, कतिपय केसमा काम नै नसकी भुक्तानी भएको समेत नहेरिएको, कतिपय फाइलमा कैफियत देखिँदा पनि अडिटरले आँखा चिम्लिएको भन्दै बैंकभित्र चरम असनतुष्टी भएको पाइएको छ । अर्थ सरोकारले सिइओअडिटरबीच स्वार्थपूर्ण सम्बन्ध देखिएको विषयमा एक्सक्लुसिभ समाचार ब्रेक गरेपछि बैंकका उच्च अधिकारीहरु थप गुनासासहित अर्थ सरोकारको सम्पर्कमा आएका हुन् ।

यसरी लायबिलिटी बुक नगरिएको केस सबैभन्दा बढी मार्केटिङमा शाखामा छ। बैंकले अप्रुभल दिएर भेण्डरले काम गरेका छन् । असार मसान्तसम्म काम गरेका उनीहरुले साउनमा बिल पुर्याउँदा भुक्तानी पाएका छैनन् । यसको कारण भनेको दिनुपर्ने दायित्वलाई लायबिलिटीमा बुक गर्नुपर्नेले गरिदिएकै थिएनन् । 

बैंकमा मार्केटिङ शाखामा काम गर्ने कर्मचारी दिनेश गौतमले लायबिलिटी बुक नहुँदा थुप्रैको भुक्तानी रोकिएको पुष्टी गरेका छन् । ‘तोक लगाइएको छ, काम पनि भएको छ, तर भुक्तानी भएको छैन । भुक्तानी नभएको मात्र होइन, सो रकम भुक्तानी गर्नुपर्ने दायित्व पनि हो भनेर समेत बुक गरिएको छैन । जसको अपजश अहिले यो विभागमा बस्नेले पाइरहेका छन् ।’ उनका अनुसार अघिल्लो पटक सो विभागमा रहेका विभागीय प्रमुखले गर्नुपर्ने काम राम्रोसँग नगर्दा बैंकलाई तिर्नुपर्ने भुक्तानी कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । तर यति धेरै कैफियत हुँदा पनि अडिटरले सिइओलाई अफ्ट्यारो पर्ने देखेपछि केही पनि लेखेका छैनन् ।

बैंकले यतिसम्म बदमासी गरेको छ कि, असार मसान्तसमा बिल लगेकालाई ‘असार मसान्तसम्म त काम नै सकिएको छैन, बेलुकी १२ बजेसम्म त काम नै हुन्छ नि’ भनेर पछि बिल ल्याउन भनिएको छ । पछि बिल लैजाँदा असार मसान्तसम्मको पेमेन्ट असारमै भइनसकेको खण्डमा पेमेन्ट नहुने भनेर फिर्ता पठाइएको छ । उही प्रकृतिको भुक्तानी, कसैको गरिएको छ, कसैको गरिएको छैन । कसैको सबै कागजात पुग्दा पनि भुक्तानी रोकिएको छ, कसैको कागजात नै नपुगीसमेत समेत भुक्तानी गरिएको छ । तर यस्तो बेथितिबारे पनि अडिटरले कतै केहि उल्लेख गरेका छैनन् ।

बैंकले गरेको अडिटरको दुरुपयोग यतिमा मात्र सीमित छैन । खासै कैफियत नदेखिने ठाउँमा प्रकाश जंग थापाले अडिट गरेका छन् । अलिअलि कैफियत देखेको ठाउँमा अनुप श्रेष्ठले अडिट गरेका छन् । तर, सीइओमाथि प्रश्न उठ्ने ठाउँमा सिइओकै साढुदाई प्रकाश लम्सालले अडिट गरेका छन् । र आफ्ना साढुभाइ नै भएका कारण प्रकाश लम्सालले खासै कैफियत नै लेखेका छैनन् ।

प्रकाश जंग थापाले आफुले हेरेका फाइलहरुमा बैंकमा खासै धेरै कैफियत नदेखिएको बताए । यता लम्सालले भने आफुले गरेको अडिटमा आफुले कोड अफ इथिक्सअनुसारको बहस गर्न नसक्ने स्वीकारे । ‘कानुनले साढुभाइ सिइओ भएको बैंकको अडिट गर्न रोक्दैन, म कोड अफ इथिक्सका बारेमा भने तपाईंसँग बहस गर्न सक्दिन ।’ उनले भने ।

बैंकका सिइओ देवेन्द्र रमण खनाल स्वयम् चार्टर्ड एकाउन्टेन्ट हुन् । तर उनी असार मसान्तको राती १२ बजेसम्म गर्नुपर्ने कामको भुक्तानी पनि असार मसान्तभित्रै भईसकेको हुनुपर्ने, नत्र बैंकले भुक्तानी नगर्ने बताउँछन् । असार मसान्तमै बिल लग्यो भने फेरी उनी त्यसलाई मिल्दैन भनिदिन्छन् । यसरी उनको बुझाई नै कन्फ्युजनमा पार्ने खालको हुँदा अहिले बैंकका अन्य कर्मचारीहरु वाक्कदिक्क भएका छन् । कतिपय फाइलमा कागज नमिल्दा पनि काम गर्ने, कतिपयमा कागज पुग्दा पनि काम अड्काउने उनको व्यवहारले बैंकका थुप्रै कर्मचारीहरु आजित छन् ।

बैंकभित्र सीइओमात्र नभई सीइओका नजिकका कर्मचारी जोडिएको लेखाबारे कैफियतबारे पनि अडिटर मौन छन् । तर, सिइओ खनाल भने बैंकको अडिट आफ्ना आफन्तले गर्न पाउने जिकिर गर्छन् । ‘मेरो अडिट गरेको हो र ? बैंकको अडिट गरेको हो नि, नमिल्ने भएको भए महालेखाले कसरी नाम पठाउँथ्यो र ?’ उनले भने ।

यता महालेखा भने आफुले पठाएको नाममा आफुले अडिट गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा स्वयम् अडिटर सचेत हुनुपर्ने बताउँछ । महालेखाका निर्देशक एवं सूचना अधिकारी रमेश सुवेदीले यस विषयमा अडिटर स्वयम् जिम्मेवार हुनुपर्ने बताउँछन् ।

नियमनकारी निकाय आइक्यानको कोड अफ इथिक्सले आफन्तसँग स्वार्थ बाझिने खालेको काम नगर्नु भनेको छ । तर, स्वयम् सीए नै सिइओ भएको बैंकमा नै आइक्यानको कोड अफ इथिक्स विपरित काम भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK