काठमाडौँ । अहिले कुमारी बैंकको किर्ते काण्ड सतहमा छ । पूरै बैंकिङ क्षेत्र यहि प्रकरणले तातेको छ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाई भू-माफियाहरुले सो उपर १९ करोड ऋण लिएको भेटिएपछी अहिले सीआइबीले ऋणी, बैंकका कर्मचारी र जग्गाको मूल्यांकनकर्तालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कुसन प्रधानको अगुवाईमा, बैंककै कामु सीइओ अनुजमणि तिमिल्सीनाको मिलेमतोमा सो जग्गाउपर १९ करोड ऋण दिएको आरोप यतिबेला लागेको छ र प्रहरीले कुसन प्रधान लगायतका ऋणीलाई पक्राउ गरेर यसको अनुसन्धान गरिरहेको छ भने राजनीतिक दबाबमा बैंकका सीइओ अनुजमणि तिमिल्सीनालाई पक्राउ नै नगरी यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ । आखिर अमात्यको जग्गाउपर कसरी अरुले ऋण निकाल्न सफल भए त ? यो प्रकरण बुझ्न गत साउनमा फर्किनुपर्छ । कथा कुनै फिल्मको कहानीभन्दा कम छैन ।
…अनि योगेश्वरले थाहा पाए भूमाफियाको हर्कत…
गायक योगेश्वर अमात्य यसै पनि धनाड्य परिवारका व्यक्ति हुन् । उनको पूर्ख्यौली सम्पत्तिको मूल्य नै अहिले अरवौं पर्छ । सोखिन र रमाइला गायकका रुपमा परिचित उनले केही वर्ष अघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए । अहिले त्यसको मूल्य एक अर्व बढी पर्छ । कलैयानजिकै मुल सडकमा छोएको जग्गा धेरैको रोजाईको जग्गा थियो त्यो । यसो त उनलाई सो जग्गा बेच्ने हो ? भनेर यतिसम्म फोन आएको थियो कि, उनी जग्गा किन्छु भन्नेहरुदेखि नै दिक्क भईसकेका थिए । जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि सो जग्गाको मूल्य पनि दिनानुदिन आकासिंदै थियो । दिनदिनै जग्गा दलालदेखि जग्गा व्यापारीसम्म उनको सो जग्गा पछ्याईरहेका थिए । यसो त किनेको २५ विघा जग्गामध्ये उनले १३ विघा जग्गा बीचमा बिक्रे पनि गरे । बाँकी रहेको जग्गामा उनले पर्खाल लगाएका छन् । विरुवा भूमि बनकाली कम्पनीका नाममा राखिएको कित्ता नम्बर २०६९ को जग्गाको मूल्य दिनानुदिन यस कारण पनि बढ्दै थियो कि सो जग्गा निजगध विमानस्थलबाट करिब २० किलोमिटरको दुरीमा मात्र थियो ।
सार्है राम्रो जग्गा, त्यसमाथि मूलबाटोले छोएको, उनको जग्गा बेच्नुपर्यो भनेर जग्गा दालालहरु हरेक दिनजसो फोन आउन थाले उनलाई । अलि रमाइला स्वभावका अमात्यलाई जग्गा दलालहरुको फोन अत्याधिक आउन थालेपछि उनले सो तनावबाट मुक्त हुन एउटा जुक्ति निकाले । त्यो हो, जग्गामै ‘यो जग्गा बिक्रीमा छैन भन्ने बोर्ड टाँगीयो ।’ त्यसपछि फोन आउने क्रम केहि रोकिएको थियो। दलालहरुको फोन केहि साम्य भएको थियो ।
उनले आफ्नो जग्गा रेखदेखका लागि अशोक पाण्डे नाम गरेका व्यक्ति राखेका थिए । उनले को को आयो, जग्गाको विषयमा के कुरा गर्यो ? लगायतका कुरा ब्रिफिङ गर्थे अमात्यलाई ।
…केहि दिन यता सो जग्गामा अलि चहलपहल बढ्यो । सो चहलपहल पाण्डेलाई अश्वभाविक लागिरहेको थियो । मानिसहरु आउने, जग्गा हेर्ने बढी गर्न लागेका थिए । यसको ब्रिफिङ अमात्यलाई पाण्डेले गरिरहेका थिए । केहि समय त उही दलालहरुको पूरानो काम होला भनेर अमात्यले खासै चासो दिएनन् । तर यो क्रम अलि बढी नै हुन थाल्यो । यतिसम्म कि कोहि आएर जग्गा नापजाँच नै गर्न थालेको रिपोर्ट पाण्डेले अमात्यलाई गरे । सधैं ‘चिल’ भएर रमाइलो गरिरहनुपर्ने अमात्य यति बेला काठमाडौँ आइपुगेका थिए । त्यसपछि उनी कुरा के रहेछ भनेर बुझ्न सक्रिय भए । बुझ्दै जाँदा त उनी यस्तो तथ्यसम्म पुगे, जुन फिल्ममा कुनै भिलेनले गर्ने हर्कत भन्दा कम थिएन । अर्थात उनको जग्गा अरु कसैले किर्ते गरेर बैंकमा राखी १९ करोड ऋण झिकिसकेको रहेछ ।
उनले मालपोतमा बुझे, मालपोतमा उनको जग्गा रोक्का छैन । तर उनको जग्गाउपर ऋण लिएको डकुमेन्ट उनको हातमा परिसकेको थियो । र सोहि कित्ताको उनको जग्गा अरु कसैका नाममा लालपूर्जासमेत बनाएर बैंकमा बुझाइएको पत्ता लागेपछि उनले गत कार्तिक २ गते सीआइबीमा उजुरी गरे । सीआइबीमा उजुरी गरेपछि यो केस बैंकले पनि थाहा पायो ।
‘पोल खुलेपछि बैंकमा यस्तो सेटिङ’
स्रोतका अनुसार अमात्यले आफ्नो हर्कत थाहा पाएको तथ्य सीआइबीसम्म पुगेपछि घटनाका मुख्य योजनाकार कुसन प्रधानले बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनालाई खबर गरे । उनीहरुबीच यो बीचमा पटक पटक भेटी कसरी यो केस सल्टाउने भन्ने छलफल चल्यो । तिमिल्सीनाले बाँकी २ ऋणीको नाममा रहेको अरु सक्कली धितो राखेर यो केस सल्टाउने सल्लाह दिए र प्रधान सोहि काम गर्न राजी भए । अव यो प्रकरण बाहिर आउने डरले र आफु समातिने डरले तिमिल्सीना अनेक तिकडम गर्न थाले । नेताहरुलाई भेटेर सीआइबीमा ‘कुरा मिलाइदिनु पर्यो’ भने । नगर्नु गल्ति गरिसकेका उनी राष्ट्र बैंकमा पनि ‘रुवाबासी’ गर्दै पुगे । केहि समय अगाडी बैंक अफ काठमान्डूको केसमा अजय श्रेष्ठलाई पक्राउ गरेको प्रकरणले झन् तर्सिएका उनलाई अन्य केहि बैंकरहरुले पनि ‘केहि हुन्न,हामी छौं’ भनेर आश्वासन दिए । र केहि सक्कली धितो राखेर र केहि अन्य तरिकाले सेटल गरेर उनले सो ऋणको केस मिलाए । तर नहुनु अपराध भईसकेको थियो । र अमात्य त्यसै छोड्नेवाला थिएनन् । त्यसैले सीआइबीले यो केसको अनुसन्धान अगाडी बढाउनुपर्छ भनेर लागे अमात्य । नभन्दै केहि दिनपछी कुसन प्रधानलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै उनका पार्टनरहरुलाई पनि प्रहरीले पक्राउ गर्यो ।
यतिबेलासम्म सीआइबीलाई विभिन्न ठाउँबाट बैंकका सीइओलाई पक्राउ नगर्ने गरी कन्भिन्स गराईएको स्रोतको दाबी छ । तर ‘ऋणी पक्राउ पर्ने, अनि बैंकको कोहि नपर्ने ?’ गर्दा अनुसन्धानमाथि नै शंका हुने भएपछी सीआइबीले जग्गा किर्ते भयो वा भएन भन्ने जानकारी नै नहुने भ्यालुएटरलाई पक्राउ गर्यो । बैंकको कसलाई समात्ने भनेर दिमाग लगाउँदा कि ब्रान्च मेनेजरलाई पक्राउ गर्ने कि सो काममा अरु कसैको हस्ताक्षर भए त्यसलाई समात्ने गरी विभिन्न समूहले सीआइबीलाई नै सल्लाह दिएको दाबी र आरोप यतिबेला चौतर्फी छ । यो कुरा थाहा पाएपछि बैंकले ब्रान्च मेनेजरलाई यस विषयमा खबर गरेको र सोहि खबर पाएपछि उनलाई भगईएको चर्चा पनि छ । अव फसे को त भन्दा बैंकमा जुनियर एशिष्टेन्टको जागिर खाईरहेका सोनु ठाकुर । उनले १९ करोड प्रकरणमा के गल्ती गरे त ? गल्ती केहि थिएन । ब्रान्च मेनेजरले उहाँहरुको पेपरमा सहि गरेर आउनु, मालपोतको काम सकेर आउनु भनेर अर्हाएका थिए । उनी मालपोत पुग्दा सबै काम सकिसक्यौं हामीले, सहि गरिदिनुस् भनेर ठुलाले अर्हाएपछी त्यसमाथि फाइल सीइओको ‘जिग्री साथी’को भन्ने थाहा पाएपछि उनले खुरुखुरु सहि गरे । तर यो काण्डका योजनाकार प्रधानले त्यतिबेलासम्म मालपोतमा जग्गा रोक्का गरेको नक्कली कागज बनाएका थिए । अर्थात ठाकुर मालपोत पुगे, तर उनी मालपोत नछिर्दै काम सकिएको कागज ल्याए यो काण्डका माफियाहरुले । र त्यसैमा सहि गर्दा उनी फसे ।
‘आफु १९ करोड ऋणमा किर्ते गर्ने अनि सानालाई फसाउने ?’ हाम्रो प्रश्नमा बैंकका डेपुटी सीइओ मनिष तिमिल्सीनाको जवाफ छ- ‘मालपोत जानेले मालपोतको जिम्मेवारी पूरा गर्नुपर्यो नि । सीइओ मालपोत जाने कुरा भएन क्यार । वा हामी मालपोत जाने कुरा भएन । सीइओ मालपोत जाँदैन ।’ उनको यो जवाफले पनि यो घटना कति योजनाबद्ध छ भन्ने बुझ्न गाह्रो छैन ।
अव के हुन्छ ?
कुरा बुझ्न गाह्रो छैन, सबैतिर सेटिङ मिलिसकेको छ । सोझा सोनु ठाकुरलाई केहि मुद्धा लाग्नेछ र उनको करियर सकिन्छ । भ्यालुएटरको केहि गल्ती नै छैन, त्यसैले अहिले तर्साईएकोमात्र हो, उनलाई खासै केहि हुन्न भन्ने कानुन व्यवसायीहरुको तर्क छ । ऋण सल्टाईसकेको भन्दै बैंकका कामु सीइओ अनुजमणिलाई क्लिन चिट दिइन्छ । उनलाई सबै प्रकरण थाहा भएपनि ‘थाहा भएको’ प्रमाण नष्ट भईसकेको चर्चा चौतर्फी छ । किन कि यो प्रकरणमा न बैंकले सीआइबीलाई खबर गरेको देखिन्छ, न सीआइबीले बैंकका उच्च अधिकारीलाई पक्राउ गरेको देखिन्छ । त्यसैले उपलब्ध केहि प्रमाण सबै नष्ट भईसकेको हुनुपर्छ । अमात्यको जग्गा यसै पनि सुरक्षित छ । ऋण सल्टीसकेकाले यो प्रकरण अव सोनु ठाकुरको करियर सिध्याएर र ऋणीलाई बैंकिङ कसुर नभई किर्ते मुद्धा चलाएर नैसियत दिएर यो केस सकिने सम्भावना ठुलो छ । यहि योजनामा उनीहरुविरुद्ध बैंकिङ कसुर नभई किर्ते मुद्धा चलाइएको आरोप सीआइबीतिर पनि तेर्सिएको छ ।
अनुज र मनिष तिमिल्सीनालाई के हुन्छ ?
केहि हुँदैन । उनीहरु बैंकका ठुलाठालु हुन् । उनीहरु हाम्रो काम त बैंक बचाउने हो र हामीले बचायौं भन्दै हिंडेका छन् । यस अघि पनि अनुजमणि सेन्चुरी कमर्सियल बैंकमा हुँदा डलर काण्डमा मुछिएका थिए । त्यो बेला पनि उनले सो काण्ड भित्र भित्रै मिलाए र बैंक छोडे । बैंक छोडेपछि उनी कुमारी डेपुटी सीइओ हुन गए । अव यो प्रकरणले उनलाई के चाहिं घाटा हुनेछ भने अव उनी सो बैंकमा सीइओ हुने छैनन् । बोर्डलाई राष्ट्र बैंकले नै अव सीइओचाहिं उनलाई नदिनू भनिसकेका छन् । अव अरु कोहि सीइओ आउनेछ । केहि समयमा उनले बैंक छोड्नेछन् । मनिष तिमिल्सीनालाई पनि यस्तो केसको बानी परिसकेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै नै उनले भनेका छन्- ‘बैंकमा यस्ता फ्रडहरु भईरहन्छन् ।’ ‘बिचरा’ एउटा करियर बनाउँदै गरेको र १९ हजार हाराहारीको जागिर खाने केटो १९ करोडको प्रकरणमा फस्छ ।
(सोनु ठाकुर कसरी फसे त ? एउटा सानो कर्मचारीलाई कसरी ‘सहिद’ बनाईदैछ ? यसको थप तथ्यसहित हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं…’)