
काठमाडौं, भदौ ११ – संघीय सीमांकनको बारेमा भएको छलफलमा सुदुरपश्चिम टुक्रिन नहुने र थारु समुदायहरुलाई सुदुपश्चिमको ‘रौं बराबर’ पनि दिन नसकिने धारणा राखेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा उनको आलोचना हुन थालेपछि नेता देउवाले त्यसको प्रतिवाद गरेका छन् ।
अन्तक्रिया कार्यक्रममा व्यक्त विचार :
अहिले मलाई चारैतिरबाट गाली गर्ने काम भएको छ । फेसबुक, पत्रपत्रिका सवैतिर मैले बोल्दै नबोलेको कुरा बोल्यो भनेर गाली गर्ने गरेका छन् । जिल्ला टुटनु हुँदैन भनेर मैले भनेको कुरालाई थारुलाई रौ बरावर पनि अधिकार दिन्न भन्यो भनेर भन्ने ?
जिल्ला टुक्राउँदा कस्तो अबस्था आउछ भन्ने कुरा बाग्लुङ र रुकुम टुक्राएपछि थाहा भएकै छ । म प्रधानमन्त्री हुँदा थारु कमैयालाई १०/१० कठ्ठा जमिन उपलब्ध गराएको थिएँ । थारुको चाडमा म आफै जाने गरेको थिएँ । तै पनि मलाई थारु विरोधी भन्ने ? के पहाडसँग मधेशलाई अलग गर्ने ? यसरी चरित्र हत्या गर्दे जाने हो भने जसले जसको पनि चरित्र हत्या गर्न सक्छ । लाज पनि छैन । मलाई गाली गर्दा लाज लाग्दैन ? हामी स्वतन्त्र पत्रकारितको पक्षमा छौँ । पत्रकारिता गर्दा जिम्मेवारी बन्ने कि नबन्ने ?
यतिखेर हामी संघीयतासहितको संविधान बनाउने प्रयास गर्दैछौँ । बर्दियाँदेखि नवलपरासीसम्मको क्षेत्रलाई थरुहट प्रदेश नभने पनि त्यसले थारुहरुलाई सम्बोधन गरेको छ ।
अस्ती कैलालीमा भएको घटना थारुहरुको आन्दोलन होइन । खुकरी, भाला, बन्चरो, तरवार लिएर जुलुस निकाल्ने, मान्छे मार्ने, पहाडियालाई निकाल भन्ने मानवता विरोधी घृति अपराध थारुहरुले गर्न सक्दैनन् । यो त सुनियोजित षडयन्त्रमा विचारा थारु परेका छन् । यसले राष्ट्रको हित गर्देन । मधेशी र पहाडीयालाई एकै ठाँउमा बस्नै नसक्ने बनाउने, थारु र पहाडियलाई पनि एकै ठाँउमा बस्नै नसकिने बनाउने, जनजाती र पहाडियालाई एकै ठाँउमा बस्नै नसक्ने स्थिति बनाउने ? यस्तो कुराले नेपाल रहन्छ ? नेपाल नरहे मिडिया कहाँ रहन्छ ? जसले थारुका लागि काम गरेको छ । उसैलाई थारु विरोधी बनाउने ?
अहिले घृणाको राजनीतिफैलाउने काम भैरहेको छ । परम्परगत रुपमा मिलेर बसेको ठाँउमा घृणाको फैलाउने ? यसमा अन्तराष्ट्रिय कानुन पनि लागु हुनुपर्छ । जहाँ मानवता हुँदैन, जहाँ मानवअधिकार हुँदैन र त्यहाँ पत्रकारिता पनि रहदैन । मानवता नरहेको ठाँउमा पत्रकारिता कसरी रहन सक्छ ?
फेसबुकमा आउने सूचना समाचार होइन : मिनेन्द्र रिजाल, संचार मन्त्री
छापिने सवै पत्रकारिता होइनन् । कुन मिडिया हो कुन मिडिया होइन त्यो अव छुट्टटाउनुपर्ने बेला आएको छ । मोवाइल र कम्युटरमा आउने सवै सूचना समाचार होइनन् । आफुले प्रकाशन गरेको सामग्रीको विश्वशनीयता नगुम्ने गरि समाचार तयार गरौँ । हिंसाले थप हिंसा जन्माउँछ । हिंसा अन्त्य नभएसम्म त्यस्तो आधार सृजना हुँदैन, जुन आधारमा राजनीतिक असन्तुष्टीलाई सम्बोधन गर्न सकियोस । मिडियामा अंकुस लगाउन कसैले सक्दैन र चाहदैन पनि । हाम्रो समाज अंकुश सहने पक्षमा छैन ।
(नेपाल प्रेस युनियन र फ्रेड्रिका ईबर्ट स्टिफ्टुङ्ग, नेपालले शुक्रवार राजधानीमा आयोजना गरेको ‘विपतपछिको राष्ट्र निर्माणमा मिडियाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )