×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा टेलिभिजनको कर छली प्रकरण, के भयो, के हुँदैछ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ श्रावण २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

सगरमाथा टेलिभिजनको कर छली प्रकरण, के भयो, के हुँदैछ ?

  • अर्थ सरोकार सम्बाददाता :
काठमाडौँ –  जनतालाई सुसुचित गराउने बाचा लिएर चलेको टेलिभिजनले राज्यलाई ठगी गरिरहेको छ । सगरमाथा टेलिभिजनले कानुन अनुसार जारी गर्नेपर्ने भ्याट बिल जारी नगरी बिक्रि कम देखाएर  कर छल्ने गरेको तथ्य अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि यो बिषय अहिले नेपाली सञ्चार क्षेत्रमा चर्चाको बिषय बनेको छ । सगरमाथा टेलिभिजनले भ्याट रिसिप्ट दिने गरेको तर भ्याट बिल नै नकाट्ने गरेको प्रमाण फेलापरेपछि सगरमाथा टेलिभिजनले बर्षौं देखि लाखौँ भ्याट छल्ने गरेको तथ्य फेला परेको हो ।
समाचार सार्वजनिक भएपछी पत्रकारलाई धम्कीपूर्ण भाषा  :
सगरमाथा टेलिभिजनले गरिरहेको ठगीबारे अर्थ सरोकार डटकमले समाचार स- प्रमाण सार्वजनिक भएपछि सगरमाथा टेलिभिजनका मार्कीटिङ अफिसरले अर्थ सरोकार डटकमका पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । सगरमाथा टेलिभिजन ठूलो संस्था भएकाले तपाइंलाई ‘अफ्ट्यारो’ पर्ला भन्दै उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् । आफ्नो नाम प्रवेश बताउने तीनले अर्थ सरोकार डटकमका पत्रकार सुरज प्याकुरेललाई राती करिव ११ बजे भएको सम्बाद यस्तो थियो :
(फोन बज्छ)
सुरज : हेल्लो 
प्रवेश : हजुर सुरजजी, सुतिसक्नु भएको हो ?
सुरज : हो । हजुर को बोल्नु भएको होला ?
प्रवेश : म प्रवेश, सगरमाथाबाट। 
सुरज : हजुर भन्नुहोस्। 
प्रवेश : न्यूज हाल्नुभएछ । त्यहि भएर फोन गरेको । तपाईंकै सर्कलका साथीले लिंक दिनुभो ।
सुरज : अनि ?
प्रवेश : अनि के ? तपाईंले खास गर्न खोजेको चाहिं के  ? त्यत्रो संस्था छ ।
सुरज : हजुर ?
प्रवेश : सगरमाथा टेलिभिजनजस्तो संस्थासँग तपाईं एक्लै लड्न सक्नुहुन्छ ? हँ ! अफ्ट्यारो पर्दैन ? हँ ! तपाईंलाई अफ्ट्यारो पर्दैन ? हँ ! सक्नुहुन्छ सगरमाथासँग लड्न ।
सुरज : के भयो र ?
प्रवेश : होइन ! के हुनु, तपाईं एक्लै हुनुहुन्छ।  सगरमाथा टेलिभिजन त्यत्रो संस्था छ।  तपाईंलाई अफ्ट्यारो पर्दैन ?
सुरज : भोली कुरा गरौंला है ! अहिले राती भइसक्यो। 
प्रवेश : हहुन्छ दाइ ! ल ! राम्रो सपना देख्नुहोला ! राम्रो काम गर्नुभाको छ ! सपना राम्रो देख्नुहोला। 
सुरज : हस् ! धन्यवाद !
(फोन काटिन्छ) 
यता नेपाल पत्रकार महांसघ, प्रेस चौतारी नेपाल लगायतका केहि संगठनका पधाधिकारीहरुले भने यस्तो धम्की फेरी आए संगठनमा उजुरी गर्न र यस बिषयमा संगठनले प्रक्रिया थाल्ने बताएका छन् ।  
राजश्वमा उजुरी गरिँदै :
सगरमाथा टेलिभिजनले गरिरहेको ठगीबारे आन्तरिक राजस्वमा बुझ्दा त्यहाँका कर्मचारीहरुले उजुरी गरे छिट्टै काम अगाडी बढ्ने भनेपछि सगरमाथा टेलिभिजनले गरेको ठगी विरुद्ध राजश्वमा उजुरी गरिने भएको छ । बर्षौं देखि भ्याट छली राज्यलाई ठगीरहेको आरोप सहित टेलिभिजनमाथि अनुसन्धान गरी पाउँ भनी टेलिभिजनका विरुद्धमा आन्तरिक राजश्व विभागमा उजुरी पर्ने भएको छ । क्लोजीङ र साउन सुरु भएसँगै कामको चाप बढी भएकाले  केहि दिनपछि टेलिभिजनले गरेको ठगी विरुद्ध सम्बन्धि व्यक्ति आन्तरिक राजश्व विभागमा उजुरी लिएर जाने बुझिएको छ ।
अख्तियारमा पनि उजुरीको तयारी :
साथै सगरमाथा टेलिभिजनले राज्यलाई कर छली लाखौँ रुपैयाँ ठगी गरेको भन्दै छानविन गरी पाउँ भनी टेलिभिजनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पर्ने भएको छ । मार्केटिङका कर्मचारी, लेखाका कर्मचारीको समेत मिलेमतोमा यस्तो काम भएको भन्दै टेलिभिजन विरुद्ध अख्तियारमा उजुरी पर्न लागेको बताइएको छ ।      

करविज्ञ भन्छन् : सगरमाथा सरासर दोषी देखिन्छ 
यसबारे अर्थ सरोकार डटकमले बजारमा नाम कहलिएका केहि करविज्ञहरु सँग कुराकानी गरेको थियो । नेपालका चर्चित करविज्ञ मुकुन्ददेव अधिकारी, ट्याक्सपर्टका अभियानता शेषमणि दाहाल लगायतका कर विज्ञसँग बुझ्दा आन्तरिक राजश्व विभागले अनुसन्धान गरेको खण्डमा सगरमाथा टेलिभिजन यो प्रकरणमा दोषी देखिने निश्चित प्राय: भएको उनीहरुको भनाइ छ । यता केहि कानुन व्यवसायीले पनि सगरमाथा टेलिभिजनले ठगी गरेको प्रमाण भएकाले यो प्रकरणमा सगरमाथा दोषी देखिने बताएका छन् ।  

भएको खास के हो ?

जनतालाई सुसुचित गरी देशमा भएका भ्रष्टाचार, छली र गलत धन्दाको खोज खबर गरी जनताका अगाडी प्रस्तुत गर्ने दावी गर्ने नेपालको पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनले भ्याट छल्ने तथ्य फेला परेको छ । टेलिभिजनले साना बिज्ञापनदाताहरुलाई भ्याट बिल नदिने, र भ्याट बिल मागेको खण्डमा आन्तरिक राजश्वको नियम विपरित शुल्क लिएर कर्पोरेट अपराध गर्ने गरेको तथ्य फेला परेको हो ।  टेलिभिजनले करिव ३ बर्ष अगाडी देखि यस्तो गलत कार्य गर्दै आएको तथ्य खुलेको हो । 


विक्री लुकाउन कानुन विपरित कारोबार :
सगरमाथा टेलिभिजनले कम विक्री देखाएर कर छली हुने गरी कारोबार भएको रकममा समेत बिल नै नकाटी रिसिप्ट मात्र थमाएर विभिन्न आफ्ना सोझा क्लाइन्टहरुलाई ठग्ने गरेको छ । टेलिभिजनले पैसा लिएको रिसिप्ट दिने तर भ्याट बिल नदिने गरेको छ । जवकी भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले यस्तो गर्नु अपराध मानिन्छ । भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले अनिवार्य भ्याट बिल दिनुपर्छ । तर टेलिभिजनले भ्याट बिल नदिने तर त्यहि भ्याट बिलका आधारमा दिइने रिसिप्ट भने थमाउने गरेको छ । सगरमाथा टेलिभिजनले भ्याट बिल नदिने र रिसिप्ट दिने गरेको तथ्य फेलापरेपछि बर्षौंदेखि सगरमाथा टेलिभिजनले भ्याट छली गरिरहेको फेला परेको हो ।

हेर्नुहोस् नियम यस्तो छ :

नियम विपरित करार, विक्री नदेखाउन अनेकौं प्रपन्च :
अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणमा सगरमाथा टेलिभिजन र दिव्या एडभर्टाईजीङबीच एक कार्यक्रम प्रशारण गर्ने सम्झौता गरिएको छ, जहाँ भ्याट बिल लिए २०,००० तिर्नुपर्ने र भ्याट बिल नलिए ८००० दिए हुने स्पष्ट लेखिएको छ । जवकी हाल विद्यामान कानुन अनुसार भ्याट भनेको १३ प्रतिशतमात्र जोड्न पाइन्छ ।
 यसरी नियम विपरित करार गरेर सगरमाथा टेलिभिजनले कानुनमाथिनै धावा बोलेको छ भने लाखौँ रुपैयाँ भ्याट छलेको अनुमान लगाउन गाह्रो छैन ।  सगरमाथाले उक्त करारका आधारमा भन्दै करारको अर्को पक्षलाई भ्याट बिल दिएको छैन । तर  भ्याट रिसिप्ट भने दिएको छ ।  सामान्यतया तोकिएको शुल्कमा १३% मूल्य अविवृद्धि कर अर्थात भ्याट जोडिएको वा थप भ्याट लाग्ने भनेर करार गरिएको हुन्छ । तर नेपालको कानुनलाइनै चुनाती दिनेगरी सम्झौतामा कार्यक्रम प्रशारण गरेवापत कुल रकम ८००० र भ्याट बिल लगेको खण्डमा २०,००० लाग्ने उल्लेख छ ।

हेर्नुहोस् आन्तरिक राजश्व विभागले जारी गरेको जानकारीमा यस्तो लेखिएको छ : 



 यसरी छल्छ सगरमाथा टेलिभिजनले कर  :

सगरमाथा टेलिभिजनले पैसा लिएको छ तर बिल दिएको छैन।  यसो गर्दा उसले बिक्रि कम भएको खातामा देखाउँछ र कर छली गर्छ । अझ सकेसम्म बिक्रि नै नदेखियोस् भनेर कानुनविपरित करार गर्छ ।   टेलिभिजनले सन् २०१२, डिसेम्बर १ तारिखदेखि सुरु हुनेगरी एक कार्यक्रम प्रशारण गर्ने करार गरेको छ, जसको दोश्रो बुँदामा पहिलो पक्ष (दिव्या एडभर्टाईजिङ) ले सगरमाथा टेलिभिजनलाइ रु ८००० तिर्नुपर्ने भन्ने उल्लेख छ । तर भ्याट सहित भने उक्त रकम २० हजार हुने करारमा स्पष्ट लेखिएको छ । जुन सरासर कानुन विपरित छ ।   
करारको दोश्रो बुँदामा यस्तो लेखिएको छ । पूर्ण करार अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।  

सगरमाथा टेलिभिजनले ८००० का दरले ५२ भागको कार्यक्रम बापत पैसा लिएको छ भने सबैको रिसिप्ट दिएर भ्याट बिल भने दिएको छैन । सन् २०१२ मा गरिएको यो करारपछि उसले करचुक्ताको प्रमाण समेत लिइसकेको छ । तर करचुक्ता लिएको नाममा छानविननै हुँदैन र उसले गरेको गल्तीबाट उ मुक्त भयो भनेर सोच्नु गलत भएको आन्तरिक राजश्व विभागका कर्मचारीहरु बताउँछन् ।

 भ्याटबिल नपाएपछी कार्यक्रम नै छोडे निर्माताले :

‘कार्यक्रम उत्पादनताका मलाइ भ्याट सम्बन्धी खासै ज्ञान थिएन । मलाइ कार्यक्रम सुरु गर्नु थियो । त्यसैले टेलिभिजनले के गरेको थियो भन्ने मलाइ थाहा थिएन । तर पछी विभिन्न सिएहरुसँग यसबारे बुझ्दा त्यसरी भ्याट छल्नु अपराध हो भन्ने थाहा पाएँ । त्यसपछि मैले तिरेको रकमको भ्याट बिल माग्दा दिइएन ।  करार बमोजिम हुनुपर्छ भनियो ।’ करारमा पहिलो पक्षबाट हस्ताक्षर गरेका हस्ताक्षरकर्ताले भने ।  
उनी अगाडी भन्छन्, ‘टेलिभिजनले भ्याट छली गरिरहेको थाहा पाएपछि मैले टेलिभिजनमा भ्याट बिल मागें । तर करार बमोजिम गर्नुपर्छ भन्ने कुरा आएपछि टेलिभिजनको मार्केटिङ समूह, र लेखामा रहनुभएकी सिता तिवारीसँग मेरो मनमुटाव भयो । टेलिभिजनले भ्याटबिल तिर्न आनाकानी गर्ने, तर आफ्ना क्लाइन्टलाइ भ्याट बिल दिनुपर्ने भएपछी मलाइ मेरो कम्पनीका अन्य साथीहरुलेनै  मसँग काम नगर्ने भन्नुभयो । त्यसपछी मैले कार्यक्रम लिएर न्यूज २४ टेलिभिजनमा गएँ । मसँग सगरमाथाले दिएको सबै रिसिप्ट छ । अहिले उक्त कार्यक्रम मेरो एकल स्वामित्वमा रहेको कम्पनी बाट उत्पादन भइ न्यूज २४ टेलिभिजनमा प्रशारण भइरहेको छ । ‘ 
के भन्छ सगरमाथा टेलिभिजन ?
यस विषयमा सगरमाथा टेलिभिजनको मार्केटिङ विभागमा सोध्दा ‘प्रवेश’ नामका एक कर्मचारीले भूलबस् त्यस्तो भएको हुन सक्ने बताएका छन् । करारमा हस्ताक्षर गरेका तिलक गुरुङले धेरै अघिनै टेलिभिजन छोडिसकेको बताउँदै उनले त्यसरी भ्याट बिल चाहिएको खण्डमा २० हजार र भ्याट बिल नदिएको खण्डमा ८००० हुनै नसक्ने स्वीकारेका छन् । यहि बिषयमा भ्याट बिल नदिने तर रिसिप्ट दिने लेखा विभागकि कर्मचारी भन्छिन्, ‘मैले यो करार नै देखेको थिइन । दिव्याका प्रतिनिधिले भ्याट बिल मागेपछि मैले टेलिभिजनको सरलाई यस बारे जानकारी गराएँ । तर उहाँले भ्याट बिल लाने भए थप शुल्क लाग्ने बताएपछि मैले त्यहि कुरा दिव्याका प्रतिनिधिलाई भनें । सरसर्ती हेर्दा टेलिभिजनबाट गल्ती भएको छ । करारमा हुन नसक्ने कुरा लेखिएको छ । जहाँसम्म भ्याट बिलको कुरा छ, म पनि यहाँको कर्मचारी मात्र हुँ।  माथिबाट जे आदेश आयो त्यहि गरेको हुँ । भ्याट बिल अनिवार्य जारी गर्नुपर्छ भन्ने मलाई थाहा छ ।’   
यो त ठाडो अपराध हो : करविज्ञ 
सगरमाथा टेलिभिजनले कर छलेको हो वा होइन भनी टेलिभिजनले दिएको रिसिप्ट र करारबारे बुझ्दा करविज्ञ मुकुन्द देव अधिकारी भन्छन्, ‘भ्याटमा दर्ता भएका कुनैपनि कम्पनीले भ्याट बाहेकका बिल दिन पाउँदैनन् । भ्याट बिल नदिने तर भ्याट रिसिप्ट दिएको छ भने त लेखामा समस्या देखिएको हुनुपर्छ । भ्याट रिसिप्ट कुन बिललाइ आधार बनाएर दिएको हो भन्ने नखुल्ने हुनाले यहाँ भ्याट छलीको भएको स्पष्ट देखिन्छ ।’ यता सगरमाथा टेलिभिजनले भ्याट बिल नदिने तर रिसिप्ट दिएको प्रमाण सुरक्षित रहेको उक्त करारको पहिलो पक्ष दिव्या एडभरटाईजीङको दावी छ ।
यस्तो छ नियममा :
 सगरमाथा टेलिभिजनले आफु मात्र होइन अरु कम्पनीहरुलाई पनि भ्याट बिल नदिने र रिसिप्ट दिने गरेको उनको आरोप छ। उक्त बिज्ञापन एजेन्सीका अर्का प्रतिनिधि भन्छन्, ‘हामीले टेलिभिजनमा पहिलो पटक सगरमाथासँग काम गरेका थियौं । भ्याट बिल नदिने, तर रिसिप्ट दिने काम कानुनत : अपराध भएको थाहा पाएपछि हामीले सगरमाथासँग काम गर्न छोड्यौं । पछि कार्यक्रमका मुख्य निर्माताले उक्त कार्यक्रम आफ्नै कम्पनी खोलेर अर्को टेलिभिजनमा लैजानुभयो ।’  
करविज्ञ मुकुन्ददेव अधिकारी अगाडी भन्छन्, ‘यस्तो काम गर्नेलाई कानुनमा सजायको स्पष्ट व्यवस्था छ । छलिएको भ्याट, त्यस वापतको बिगो सहित तिर्नुपर्ने लगायत भ्याटछलीमा अन्य कार्वाही समेत हुने उनको भनाइ छ ।  
आन्तरिक राजस्व विभागका कर्मचारी भन्छन्, ‘उजुरी दिनुस् विभागले कार्वाही गर्छ ‘
यस विषयमा आन्तरिक राजस्व विभागमा बुझ्दा विभागका एक कर्मचारीले यस्तो गरिनु अपराध भएको र उजुरी गरेको खण्डमा विभागले टेलिभिजनलाइ कार्वाही गर्ने बताएको छ । भ्याट छली त सिधै अपराध हो । ‘मिडियाको त पहुँच हुन्छ, तपाइँहरु के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सगरमाथा टेलिभिजन कानुनभन्दा माथि छैन र हुन सक्दैन । दोषी ठहरिएमा टेलिभिजनलाइ कार्वाही हुन्छ ।

मिलाउने ठाउँ थियो, सगरमाथाले त जानेनछ : विज्ञापन एजेन्सीका प्रतिनिधि 
सगरमाथा टेलिभिजनसँग काम गरेका अन्य विज्ञापन एजेन्सीसँग अर्थ सरोकारले बुझ्दा केहि बिज्ञापन एजेन्सीहरुले टेलिभिजनमा भ्याट छली हुनु नौलो नभए पनि सगरमाथाले देखिनेनै गरी भ्याट छल्ने गरेको बताएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक बिज्ञापन एजेन्सीका संचालक भन्छन्, ‘भ्याट बिल नकाट्ने हो भने ‘प्रोफोमा इन्भोइस’ दिएर मिलाउने चलन छ । कानुन विपरित नै भएपनि यो टेलिभिजनहरुमा चलेको अभ्यास हो । तर सगरमाथाले भ्याट बिल नदिने तर भ्याट रिसिप्ट दिने गरेर सिधै आफु फस्ने काम गरेको छ ।’

हेर्नुहोस् इन्भोइस नम्बर नराखिएका भ्याट रिसिप्टका केहि कपिहरु :

   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: