नाम यसको सोना । सोना अर्थात सुन । तर,बजारमा सुकेको लसुनको भाउ भन्दा सस्तो भईसक्यो सोनापुर सिमेन्ट एण्ड आयल लिमिटेडको सेयरको मूल्य । दोश्रो बजारमा कारोबार हुन थालेको तेश्रो दिनसम्म पनि यो सेयरको भाउमा नेगेटिभ सर्किट लागेको लाग्यै छ । सम्भवत: इतिहासमै पहिलोपटक प्रिमियममा आएको सेयरको भाउ यसरी खुलेकै दिनदेखि निरन्तर रुपमा नेगेटिभ सर्किट लागेको लाग्यै छ । कारोबारको तेश्रो दिनसम्म आइपुग्दा सेयरको भाउ दिनहुँ १० प्रतिशतका दरले घटिरहेको छ । यस्तै हो भने यो सेयरको मूल्य लगानीकर्ताले आईपीओमा तिरेको मूल्यभन्दा तलमात्र होइन, उस्तै परे १०० रुपैयाँ तल नआउला भन्न सकिन्न । हुन पनि यो सेयरलाई प्रिमियम भाउ दिनु नै गल्तीमात्र होइन ‘ एक खालकोअपराध’ नै थियो । तपाईंले युट्युबमा गएर, वा अर्थ सरोकार डटकममा गएर हेर्नुभयो भने आज पनि भेट्टाउनुहुनेछ, हामीले त आईपीओ आउनुअघि नै भनेका थियौँ, यो झण्डीमार कम्पनी हो । यसमा कम्पनीको फण्डामेन्टल बुझेकाहरुले लगानी कुनै हालतमा गर्दैनन् । तर लोभी मन के मान्थ्यो र ? आफुले नभरे अरुले भर्लान, कुथली बुखरीजस्तै ९०० पुग्ला, अनि झ्याप्पै बेचेर रमाइलो गरौँला भनेर धेरै लगानीकर्ताहरुले यो झण्डीमार कम्पनीमा लगानी गरे । परिणाम : साहुहरु मालामाल भए, लगानीकर्ताहरु घाटाको बाटोमा छन् । कन्फर्म घाटा हुने डरले अहिले यो सेयर जति भाउ आउँछ त्यतिमा बेच्न लालायित छन् लगानीकर्ताहरु । जसका कारण बजारमा कृष्णभीरको पहिरोभन्दा पनि गहिरो पहिरो सोनापुर सिमेन्टको सेयर भाउमा देखिएको छ । यो पहिरो रोकिनेवाला पनि देखिंदैन । थाहा छैन, यो पहिरोले कति लगानीकर्ताहरुलाई गहिरो चोट दिने हो ।
अहिले लगानीकर्ताहरु आफु डुबेपछि दोष कम्पनी र नियामकलाई दिईरहेका छन् । हुन त कम्पनी झण्डीमार हो, र, यसले सबैखालका तथ्यांकहरु बंग्याएर, घाटामा रहेको कम्पनीलाई जवर्जस्ती नाफामा देखाएर जनता झुक्याईरहेको छ भन्ने तथ्य पनि आईपीओ भर्नेहरुमध्ये धेरैलाई थाहा थियो । तर ‘अरुले खेलाईदिन्छ, भाउ बढाईदिन्छ’ अनि त्यसको नाफाचाहिं म खाउँला भनेर पर्खिरहेका लगानीकर्ताहरु अहिले आजै बेचौं, अहिले बेचौँ भन्दा पनि सेयर नबिक्दै नेगेटिभ सर्किट लागेर सोनापुर सिमेन्टको सेयर कारोबार बन्द भएको टुलुटुलु हेर्न विवस् छन् । यसले लगानीकर्तालाई यसपाली सिकाईको मूल्य भारीमात्र परेको छैन, आईपीओ भन्दैमा जस्तो पायो त्यस्तै कम्पनी किन्न नहुनेरहेछ, र आईपीओको सेयर पनि यसरी भकाभक दिनदिनै नेगेटिभ सर्किट लागेर तनाव हुनेरहेछ, र सबै सेयरमा खेलाडी पसेर माथि उचाल्ने काम नहुने रहेछ भनेर पाठ सिकायो सोनापुरले । पाठ त सिकायो, तर ‘लाग्नु घाटा लागेर सिकेको पाठ के काम?’ भनेजस्तै सोनापुरका लगानीकर्ताहरु अझै पनि यो पाठ सिक्दै गर्दा घाटाको बाटोमा छन् । यो कम्पनी ठिक छैन, आईपीओ नभरेको राम्रो भनेर चिच्याईचिच्याई कराउँदा पनि, तिमी कराउँदै गर, म आईपीओ बेचेर डबल कमाउँछु भन्नेहरुलाई, माफ गर्नुस्, यसपाली रामराम नै भनियो । बरु प्रार्थना छ भगवानसँग, अझै हरेराम भन्ने दिन नआओस् । यो कम्पनीको नाडी छाम्ने हो भने त यो कम्पनीको भाउ भविष्यमा १००मुनि नआउलासमेत भन्न सकिन्न, तर पनि आशा गरौँ, आईपीओमा हालेको भाउ भन्दा धेरै नघटोस् सेयरको भाउ । किनकि साहुहरुले त १० बर्षमा पनि सिमेन्ट बेचेर कमाउन गाह्रो हुने पैसा १०० दिनमै जनतालाई आईपीओ भिडाएर कमाईहाले, लगानीकर्ताको बेहाल नहोस् ।
यसो भन्दैमा फेरी सोनापुर सिमेन्टको सेयर भरेकाहरुलाई ‘खुचिङ्ग’ भन्न खोजेको होइन, तर अलिअलि अध्ययन पनि गर्नुपर्छ, सुनै भए पनि सुनको भाउ दिने हो, सुन भनेर तेब्बर भाउ दिनु हुँदैन भनेर हामीले यसअघि नै बुझाउन खोजेको कुरा, फेरि दोहोर्याउन मात्र खोजेको हो । सोनापुरमा लगानीकर्तालाई घाटा हुने पक्का छ, किनकि यो नाफा दिने कम्पनी नै होइन । खेलाडीले खेलाएर माथि नपुर्याउने हो भने भविष्यमा यो कम्पनीको झन् बिजोग हुने पक्का छ । खेलाडीले खेलाईदिए पनि तीनै खेलाडीले कमाउने हो, फेरी पनि सोझासाझा फस्ने नै हो । यो सोनापुरबाट सोझा लगानीकर्ताले फाइदा निकाल्छु भन्नु र बालुवा निचोरेर तेल निकाल्छु भन्नु उस्तै उस्तै हो । त्यसैले त भनिएको हो नि, सेयर बजार जोखिमको क्षेत्र हो, यसमा लगानी गर्दा ख्याल गरेर, सोचविचार पुर्याएर गर्नुपर्छ । नत्र भने त हालत सोनापुरकै हुने हो । सुन अर्थात सोनाले पुरीने गरी पैसा कमाउँछु भनेर सोनापुरमा लगानी गर्नेहरुलाई त्यहि सिमेन्टले खाल्डोमा पुर्ने निश्चित छ । किनकि थारो गाईले जति घाँस दिए पनि दुध दिंदैन । थारो गाई पनि के भन्नु, यो सोनापुर सिमेन्ट एण्ड आयल लिमिटेड त मर्न लागेको गाईजस्तै हो, जसबाट दुधको अपेक्षा गर्नु भनेको नै मुर्खता हो ।
सोनापुर सिमेन्टलाई प्रिमियममा आईपीओ निकाल्न स्वीकृति दिनेहरु पनि त गलत हुन् नि भन्ने बहस यतिबेला चर्चामा छ । हो, पक्कै हो, सतही रुपमा हेर्दा यस्ता झण्डीमार कम्पनीलाई आईपीओमा प्रिमियम भाउ दिएर नियामकले गलत नै गरेको छ । तर नियामकले पनि हेर्दा कागज हेर्ने हो, जुन कागजमा नै गम्भीर चलखेल गरिएको थियो । ३ बर्षसम्म सिमेन्टको बिक्री घटेको कम्पनी ३ बर्षदेखि नाफामा छ भनेर कागजमा देखाइएको थियो । अझ सो कागजमा मै हुँ भन्ने सिएले सर्टिफाईसमेत गरेका थिए । अव स्वीकृति नदिउँ भने सिएले सब ठिक छ भनेर सर्टिफाईड गरेको छ, फेरी फाइल रोकेर घुस खान खोज्यो भन्ने बात लाग्ला, दिएको फेरी पनि घुस खाएर यस्ता झण्डीमार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर जनता डुबाइस् भन्ने आरोप लागेको छ नियामकीय नेतृत्वलाई । के गर्नु यो देश नै यस्तै छ । पाइला पाइलामा सेटिङ्ग गरेर कागज मिलाइन्छ । कागज मिलेपछि फाइल अघि बढ्ने नै भयो । फेरि पनि भन्छौँ, दोहोर्याएर मात्र होइन तेहेर्याएर भन्छौँ, नियामकले यस्ता कम्पनीलाई प्रिमियम मूल्यमा सर्वसाधारणबाट पैसा उठाउन दिनु गल्तीमात्र थिएन महागल्ती थियो । तर, सँगै यो पनि भन्छौँ, यस्तो गल्ती नियामकले गर्यो, गलत विवरण देखाएर जनतालाई गुमराहमा पार्न खोजियो, सिए सापले प्रभावमा परेर आफ्नो प्रोफेसनल इथिक्ससम्म छोडेर त्यसलाई सर्टिफिकेसन गरेका हुन् भन्ने थाहा पाउँदापाउँदै पनि खेलाडीले खेलाईदिन्छन् र कमाउने हो भनेर यो आईपीओमा प्रिमियम मूल्य हाल्नु पनि लगानीकर्ताको गल्ती थियो ।
हामी ठोकुवाका साथ भन्न सक्छौँ, फण्डामेन्टलमा विश्वास गर्नेहरुमध्ये अधिकांसले यसको आईपीओ भरेका थिएनन् । कम्पनी छानेर पैसा हाल्नेहरुले सोनापुर सिमेन्टजस्तो कम्पनीमा पैसा हाल्दैनन् । र जसजसले हाले उनीहरुमध्ये पनि धेरैलाई यो कम्पनी राम्रो छैन भन्ने थाहा थियो । र थाहा पाउँदा पाउँदै पनि अरुले खेलाईदिएर म पैसा कमाउँछु भन्नेहरुले आँखै अगाडी ३ दिन नेगेटिभ सर्किट हानेर सोनापुरले तिरीमिरी देखाईदिएपछि अहिले नियामकदेखि कम्पनीसम्मलाई गाली गरिरहेका छन् । गाली नगरुन् पनि किन, पैसा डुब्ने पीर भनेको अचम्म र भयानक हुन्छ । त्यसमाथि पनि कुण्ठा फेर्ने ठाउँ त्यहि सामाजिक सञ्जाल न हो । ‘गर्लफ्रेण्डले धोका दिँदा’ त माया पिरती यस्तै रहेछ यार भनेर बह पोख्ने सामाजिक सञ्जालमा, सबै केटी यस्तै हुन् भनेर पूर्वप्रेमिका सराप्ने सामाजिक सञ्माजाल घाटा भएपछि सोनापुर र धितोपत्र बोर्डलाई सराप्नु नौलो कुरा होइन, रहेन । तर यसपाली लगानीकर्ताले पनि कम्पनीचाहिं छानेरै लगानी गर्नुपर्ने रहेछ भन्ने बुझेको हुनुपर्छ, नबुझे पनि बुझ्नुपर्छ । बुझ्नै मन नलागे घाटा खान तयार हुनुपर्छ । किनकि सोनापुरजस्तै झण्डीमार अरु कम्पनीहरुको पनि आईपीओ आउँदैछ । अझ प्रिमियम मूल्यमा पनि आउँदैछ । हामी फेरी पनि भन्छौँ, नराम्रो कम्पनीको सेयरमा भाउ नदिउँ, पछि घटे पनि मतलव हुँदैन, बढे पनि कुनै न कुनै टोपी लाग्ने त्यस्ता सेयरको कुनै स्थान रहनुहुन्न बुझ्ने लगानीकर्ताको पोर्टफोलियोमा ।
सोनापुर सिमेन्ट स्थानीयले बहिष्कार गरेको सेयर थियो र हो । सोनापुर सिमेन्टले बैंकको ऋण तिर्न मात्र लगानीकर्ताबाट पैसा उठाउँदै थियो । कागजमा जे देखिए पनि यो सेयर अझै पनि राम्रो सेयर हुँदै होइन । प्रिमियम त परै जाओस्, यो सेयरको असली औकात १०० रुपैयाँ पनि हुने देखिंदैन । स्वयम् धितोपत्र बोर्डका अधिकारीहरुको बुझाई सबै कम्पनी राम्रा हुँदैनन् भन्ने नै छ । तर नियमानुसार आएको कम्पनीलाई स्वीकृति दिनुपर्ने बाध्यताले थिचिएको बोर्ड स्वयम् भन्छ- जनता आफैं जागरुक हुनुपर्छ । एउटा कुनै कम्पनीको सेयर नबिके बल्ल यसबारे चेत खुल्थ्यो । अहिले लगानीकर्ताले नै कन्फर्म घाटा हुन्छ भन्ने जान्दाजान्दै सेयर किन्छन्, अनि बोर्डले के गर्नु ?
यो देशमा विधिको कानुन हुन्थ्यो भने, र धेरै कुरा सेटिङमा चल्दैन थियो भने सोनापुरको वित्तीय विवरणलाई सर्टिफाई गर्नुअघि सिएले ५ पटक सोच्थे । ब्याज पूँजीकरण गरेर देखाइएको नाफा साँचो अर्थमा नाफा नै होइन नि, किन नाफा भनेर सर्टीफाई गरेको त ? भनेर सर्टिफाई गर्ने सिएलाई उसको नियामकले कार्वाही प्रक्रिया अघि बढाउँथ्यो । तर यहाँ त सबले आफु उम्कने र जनता लुट्नेगरी सबै कुरा ठिक बनाईदिन्छन्, र बनाईदिए सोनापुरको हकमा पनि । परिणाम आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनी साधारण सेयर निस्कासन गर्ने उद्देश्यसहित आव ०७६/७७ मा पब्लिक लिमिटेड कम्पनी गएलगत्तै सोही आवदेखि नाफामा देखाइयो । बीचमा कोरोना आयो, मन्दी आयो, मान्छेले घर बनाउन छोडे तर सिमेन्ट कम्पनी नाफामा गयो । किन गयो, कसरी गयो, धेरै भनिरहनुपर्दैन । जनताबाट पैसा उठाउन लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार पुरा गरेको हुनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएका कारण त्यसैअनुरुप झुटो योजना बनाएर आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ मा कम्पनी नाफामा देखाइयो । नियामकले हेर्ने भनेको त नाफा न हो, दियो स्वीकृति कागज हेरेर ।
सबैलाई थाहा छ, सोनापुरमा जे भयो त्यो गलत भयो । तर सर्टिफाई गर्ने सिएलाई कसैले कार्वाहीको आँट गर्दैन किनकि सिएहरुको नियामक नेपाल चार्टड एकाउन्टेन्टस् संस्था आइक्यानमा अध्यक्ष र उपाध्यक्ष कसलाई बनाउने भन्ने विषयमा तीनै सिएले माहोल बनाईदिन्छन् । अनि तीनै उपाध्यक्ष धितोपत्र बोर्डमा पदेन सदस्य हुन जान्छन् । फेरी आफ्नै फेट्रनिटिको मान्छेलाई चलाउनु भनेको सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हानेको सम्झन्छन् आइक्यानमा नेतृत्वमा जानेहरु पनि । आज सोनापुरको कागज सर्टिफाई गर्नेलाई गलत भन्दा हिजो अर्को कुनै कम्पनीको त्यस्तै झुर विवरणलाई एकदम सहि भनेर हस्ताक्षर गरेको सम्झन्छन् आइक्यानको नेतृत्वमा पुग्नेहरु । अनि त, नियामक कम संरक्षक बढी बनेको आइक्यानको यस्तै प्रवृतिका कारण जनता पैसा डुबाउन बाध्य छन् । गाली खान बोर्ड अध्यक्ष छँदैछन् ।
सोनापुरमा त फसियो फसियो, अव अरु सेयरमा नफस्न नयाँ सेयर लगानीकर्ताले बुझ्नुपर्छ सोनापुरले पूँजीकृत गरेको ब्याज पनि कम्पनीको दायित्व नै हो । उद्योग सञ्चालनमा आएसँगै नियमित ऋण भुक्तानी तालिका र पूँजीकृत ब्याजको भुक्तानी तालिका फरक फरक हुन्छ । र यहि लुपहोललाई टेकेर वित्तीय विवरणमा चलखेल गरी जनताको आँखामा छारो हालेर जसरी सोनापुरले विवरणपत्रमा कुल लागत ८ अर्ब ७१ करोड दाबी गरेको छ, अव आईपीओ ल्याउने झण्डीमार कम्पनीहरुले पनि गर्ने त्यहि हो । जसरी सोनापुरले आर्थिक बर्ष २०७८/७९ मा कम्पनीको दिर्घकालीन बैंक कर्जा ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन बैंक कर्जा १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपैयाँ रहेको दाबी गरेको छ, अरु झण्डीमारहरुले पनि गर्ने त्यहि हो । खासमा दीर्घकालीन प्रकृतिको कर्जामा मात्रै ब्याज पूँजीकरण गर्न पाइन्छ । अझ त्यसमध्ये पनि क्षमता विस्तारका लागि लिएको ऋणको ब्याज मात्रै पूँजीकरण गर्न पाइन्छ । तर, आईपीओबाट पैसा उठाउन पल्केकाहरु सबैले सोनापुरले गरेजस्तै सबै कर्जाको ब्याज पूँजीकरण गरेर वित्तीय विवरणमा ठुलो चलखेल गर्छन् । यस विषयमा अव सेयर लगानीकर्ताहरु सचेत हुन जरुरी छ ।
सोनापुरले पछिल्लो ३ आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिएको छैन । अर्को बर्षौंसम्म पनि दिने अवस्था नरहन सक्छ । अनि ३ बर्षसम्म दुध नदिने गाईलाई पाल्दिना भन्नेहरुले के भनेर सोनापुरलाई पाल्छन् र। गाईको भाउ आकासिएला र त्यहि गाई बेचौँला भनेर बसेका लगानीकर्ताहरुले थारा गाईको भाउ नआउने भएपछि अहिले भकाभक सोनापुर नामको थारो गाई बेचिरहेका छन् । ३ बर्षदेखि कम्पनीको बिक्री घटिरहेको छ, तर, एकै बर्षमा तीन गुणा विक्री बढाउने भन्दै जनताको आँखामा छारो हालिरहेको छ कम्पनी । आर्थिक बर्ष २०७७/७८ २ अर्ब ९२ करोड १९ लाख आम्दानी गरेको कम्पनीको आम्दानी २०७८/७९ मा २ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ मात्र छ । अझ आर्थिक बर्ष २०७९/८० सम्म आईपुग्दा कम्पनीको आम्दानी १ अर्ब ७७ करोड ५३ लाख थियो । तर कम्पनीले आर्थिक बर्ष २०८०/८१मा ४ अर्ब ८९ करोड ५५ लाख ५० हजार आम्दानी गर्ने प्रक्षेपण गरेको छ, जुन आकासको फल, आँखा तरी मर भनेजस्तै हो । निरन्तर बिक्री घटिरहेको कम्पनीले यो आर्थिक बर्षमाचाहिं के त्यस्तो गर्छ होला वा गर्न सक्छ होला जसको कारण उसको बिक्री २.७५ गुणा बढी होला र ! यो भन्दा ठुलो झुट अरु केहि हुन सक्छ ? अव सोनापुरमा त फसियो नै, अरु सेयरमा नफस्न लगानीकर्ताहरु सचेत बन्न जरुरी छ ।
त्यसो भए के अव सोनापुर माथि जाने सम्भावना नै छैन त ? यसको सिधा जवाफ हो कम्पनीको हालत हेर्ने हो भने यो कम्पनीको भाउ माथि जाने वा लगानीकर्ताले नाफा कमाउनेगरी माथि यहि अवस्थामा जाने अवस्था कुनै हालतमा छैन । किनकि यो कम्पनी नै सार्है कमजोर कम्पनी हो । तर पनि बजार हो, भन्न सकिन्न । गोर्खाज फाइनान्सले नबिल बैंकको सेयर भाउ उछिन्ने हाम्रो बजारमा सोनापुरको पनि एक दिन समय नआउला भन्न सकिन्न । त्यस्तो बेला फेरी लोभ पलाएर राखे सोनापुरले कहिले उँभो लाग्न दिंदैन । बजार बुलमा गएका बेला बेचेर निस्किन सके फेरी यहि सोनापुरबाट पनि फाइदा हुन्छ । तर बेचेर निस्किन त फेरी किन्ने मुर्गा पनि भेटिनु पर्यो । यो कुरामाचाहिं सेयर बजार बुझ्दै नबुझेको वा बढी बुझेर सिद्दिन दशा लागेका लगानीकर्ता नआउन्जेल सोनापुरबाट केहि हुने स्थिति देखिंदैन । बाँकी त हिजो पनि यहि भनेको हो, आज पनि यहि भन्छौँ र भोलि पनि यहि भनिरहने हो, पैसा तपाईंको, भएको घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । त्यसैले तपाईंकै मर्जी ।