काठमाडौँ । भारी वर्षासहित उच्च जोखिमको पूर्वानुमानलगत्तै सरकारले देखाएको तदारुकताको अहिले खुलेर प्रशंसा भइरहेको छ । नागरिकहरुले ‘वास्तवमै नागरिकको सरकार पाइयो’ भन्दै अहिले सरकारलाई धन्यवाद दिइरहेका छन् ।
यति सम्मकी यही सरकारले देखाएको तदारुकता र भरोसाका कारण विपदमा समेत ढुक्कसँग सुत्न सकिएको भन्दै नागरिकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मार्फत अस्विनी कोइरालाले अहिलेको सरकारले ‘सरकार छ’ भन्ने महसुस गराएको बताएका छन् । काठमाडौँको मूलपानीको मनोहरा खोलाको छेउमा बस्ने उनले यसपालि आफूले सरकार भएको अनुभूति गरेको बताएका छन् ।
‘…हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भइहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । तर यसपटक रातभर हामीसँग सरकारको पनि उपस्थिति थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो । घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो ।’, उनले लेखेका छन्, ‘ ३ बजेतिर म सुतेँ ! अहिले थाहा पाएँ सरकार रातभर जागा थियो ।’
त्यस्तै, उनले सरकार छ भन्ने महसुस गराउनु नै ठूलो कुरा भएको भन्दै आफूले पहिलो पटक सरकार छ भन्ने अनुभूति गरेको बताएका छन् । साथै उनले सरकारलाई धन्यवाद समेत दिएका छन् ।