
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सुन्दापनि अचम्म लाग्ने, ‘सिभिल बैंक नेपालजस्तो वित्तीय रुपमा थर्ड क्लास बैंकले अवार्ड पायो रे !’ अझ अचम्म लाग्दो कुरा त जुन बैंक काम नपाएकाहरु र अन्य बैंकले निकालेकाहरुको ट्रायल सेन्टरजस्तै भएको छ, त्यो बैंकले ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ प्राप्त गर्यो’ रे । अझ अचम्मको कुरा त के छ भने जुन बैंकका सीइओ बैंकिङ क्षेत्रकै सर्वाधिक विवादित सीइओहरुमध्येमा पर्छन्, जुन बैंकको सीइओले विभिन्न गैरकानुनी काम गरेको खुलासा भइसकेको छ, जुन बैंकका सीइओ लगभग एक महिनामा एउटाजस्तो काण्डमा फस्छन्, र जुन बैंकका सीइओले बैंकको प्रागति सुन्य प्राय बनाएका छन्, त्यस्तो सीइओ भएको बैंकले ‘एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ प्राप्त गर्यो । के रहेछ त यसको फन्डा ? अर्थ सरोकार डटकमले खोजी गरेको छ र अचम्मको तथ्य फेला पारेको छ । बैंक त सम्मान पाउने नाममा २ लाख रुपैयाँ तिरेर त्यो अवार्ड किनेको पो रहेछ ।
एउटा अवार्डको १ हजार डलर !
जसले पैसा दिन्छ, उसैलाई अवार्ड दिने र पैसा लुटेर विदेश लैजान पल्केको संस्था सीएचआरओ एशीयाले नेपालमा पनि यस्तो लुट मच्चाएको तथ्य बाहिर आएको छ । उक्त संस्थाले हरेक बैंकमा फोन गर्ने, इमेल गर्ने र कार्यक्रम प्रायोजन भन्दै एउटा अवार्ड थाप्न १००० डलर शुल्क राखेको खुलासा भएको हो । यसको अर्थ एउटा अवार्ड लिन कुनै पनि बैंकले १ लाख रुपैयाँ तिर्नुपर्ने नियम उसले राखेको छ । विभिन्न बैंकहरुलाई आएको इमेल, त्यसमा आएका विवरण र बैंकको ‘बुक अफ एकाउन्टस’मा बुक भएको खर्चको विवरणले यो घटनाको पुष्टी गरेको छ । यसअघि पनि उसले नेपालमा यस्तै कार्यक्रम आयोजना गरेर लाखौँ रकम लागेको थियो । ‘जसले पैसा दिन्छ, अवार्ड उसैलाई दिने हो ।’ सिभिल बैंकभित्रकै यस अवार्डसँग जानकार एक बैंकरले अर्थ सरोकारसँग भने, ‘अरु बैंकहरुलाई एउटा अवार्डको एक लाख रुपैयाँ लिएका छौं, तपाईंहरुलाई डिस्काउन्ट भनेर १ लाखमा दुइवटा अवार्ड दिने सहमति भएको हो ।’ उनका अनुसार उक्त संस्थाले बैंकलाई इमेल पठाएर यस्तो प्रस्ताव राखेको थियो । ‘सबैतिर छि-छि र दुर दुर भएका बेला अन्तराष्ट्रिय अवार्ड पाइन्छ भने किन नलिने ? किन नतिर्ने १ लाख ?’ भनेर सीइओले आफैं यो प्रस्तावलाई ‘अप्रुभल’ दिएका हुन् ।
को हो यो अवार्ड दिने ठग कम्पनी ?
यसो त यसरी नेपाली बैंकहरुलाई ‘मुर्गा’ बनाएर ठगी गर्ने कम्पनी सीएचआरओ एशीया हो । उसले रिसर्च भन्दै मनलाग्दी रिपोर्ट बनाउने गरेको छ । कम्पनीले रिसर्चका आधारमा अवार्ड दिएको दावी गर्ने गरेको थियो । तर उसले जसले पैसा दियो, उसैलाई अवार्ड दिने गरेको खुलासा भएको छ । यो ठग कम्पनीलाई थाइल्याण्डको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुप लगायत अन्य ठग कम्पनीहरुले साथ दिएका छन् । स्रोतका अनुसार सिभिल बैंकले आफुले मात्र अवार्ड पाउँदा उल्टै विवादमा परिने भन्दै अन्य केहि बैंकहरुलाई पनि अवार्ड थाप्न पैसा तिर्नका लागि ‘दलाली’ गरेको थियो । स्रोतका अनुसार उक्त संस्थाले नेपालका सबैजसो कमर्सियल बैंकमा अवार्डका लागि प्रस्ताव गरेको थियो । तर यसअघि स्ट्याण्डर्ड चार्टड बैंकले यो अवार्ड पाउँदा नै कम्पनीको ठगी धन्दाबारे थाहा पाएका बैंकहरुले उक्त कार्यक्रममा पैसा तिरेर अवार्ड लिएनन् । अन्तत: कम्पनीले पनि जस-जसले पैसा दियो उसैलाई अवार्ड दियो ।
अवार्ड पाएकाहरुले नै यसरी लाज माने
अझ खास कुरा त के छ भने अवार्ड पाएको दिन अवार्ड पाएकाहरुले विभिन्न संचारगृहमा बैंक सम्मानित भएको खबर पनि पठाए । तर कार्यक्रम स्थलमै पैसा दिनेलाई मात्र अवार्ड दिएको थाहा पाएका कतिपय बैंकहरुले बैंकले अवार्ड पाएको समाचार कतैपनि नपठाउन पीआर विभागलाई निर्देशन दिइसकेका थिए । अवार्ड पाएको खबर पत्रपत्रिकामा छापीएपछी उल्टै विवादमा तानिएपछी केहि बैंकहरुले लाज मानेका थिए । ‘अवार्ड त हामीले पनि पायौं । सिभिल बैंककै एक कर्मचारीले हामीलाई यसबारे जानकारी गराएका थिए ।’ एक अर्का बैंकका उच्च तहका कर्मचारीले अर्थ सरोकारसँग भने, ‘पछी सिभिलले पाएको अवार्ड देखेर आफैंलाई लाज लाग्यो ।’ सोल्टी क्राउनप्लाजामा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशम्शेर जबरासमेत उपस्थित भएर उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । जसमा जसले जति राम्रो पैसा दियो, त्यसलाई त्यति नै राम्रो अवार्ड दिने काम भएको थियो ।
सिभिलले अवार्ड पाएपछी राष्ट्र बैंकले लगायो लगाम !
सिभिल बैंकले समेत उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड पाएपछि राष्ट्र बैंकका उच्च अधिकारीहरुले यस्तो अवार्डमाथि लगाम लगाउनुपर्ने भन्दै यस बारेमा कडा निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले अवार्ड र विदेश भ्रमणमा नाममा गरिने खर्चमाथि कडाइ गर्दै सर्कुलर जारी गरिसकेको छ । राष्ट्र बैंकको निर्देशनपछी पैसा तिरेर ‘ताइ न तुइको’ अवार्ड थाप्नेहरु समस्यामा परेका छन् भने अवार्डदाताको व्यापारपनि धरापमा परेको छ । यो अवार्ड लिएपछि सिभिल बैंकको बेइज्जत त भएको छ नै, अवार्ड थापेका केहि राम्रा कम्पनीहरुपनि मारमा परेका छन् । यहि अवार्ड केहि चलेका कम्पनीहरुले पनि प्राप्त गरेका छन् । सिभिलले अवार्ड पाएपछि अवार्डको हैसियत नभएको विश्लेषण गरिएपछि यी कम्पनीहरुलाई पनि लाज भएको छ । यद्यपी सबै कम्पनीहरुले यो अवार्ड प्राप्त गर्ने पैसा तिरेका थिए । राम्रा कम्पनीहरुले थोरै पैसा तिरेर अवार्ड लिएका थिए भने नचलेका सिभिलजस्ता वित्तीय रुपमा थर्डक्लास बैंक सिभिलले बढी पैसा तिरेर अवार्ड हातपारेको थियो ।
यो पनि पढ्नुहोस् :













