१.तपाईंले संसदमै सेयर बजार खारेज गर्नुपर्छ भनेर अभिव्यक्ति दिनुभयो । बजार खारेज नै गर्दा लगानीकर्ताको खरबौँको लगानीको जिम्मा कसले लिन्छ ? ख्याल गर्नुभएको छ ?
डुब्ने पैसाको जिम्मा कसले लिन्छ भन्दा पनि साना लगानीकर्ताको १७ खर्ब रुपैयाँ डुबेको छ । त्यसको जिम्माचाहिँ कसले लिन्छ ? ४४ खर्बको कुल सेयर कारोबारमध्ये अब जम्मा २७ खर्ब बाँकी छ । अनि डुबेको पैसा कसले तिरिदिन्छ ? मान्छेहरु भकाभक आत्महत्या गर्दैछन् । उनीहरुको पैसाको चाहिँ कसले जिम्मा लिन्छ ? मैले यो सब देखेर यो सेयर बजार नै खारेज गरौँ भनेको हो ।
२. सेयर बजार खारेज गरौँ भनेर बुझेरै भन्नुभएको हो कि, नबुझेर भन्नु भयो कि कसैले टिपाईदिएर भन्नुभएको हो ?
बुझेरै भनेको हो । सेयर बजारमा धेरै मान्छेहरुको सम्पत्ति डुबेको छ । डुब्नेहरुको पैसा कसले तिरिदिन्छ ? यो त जुवाजस्तै खेलाईरहेको छ सरकारले ।
३. सेयर बजार त अर्थतन्त्रको ऐना हो नि, होइन र ?
यो सेयर बजार भनेको पूँजीवादको रक्तनलीजस्तै हो । यसले पूँजीवादलाई बलियो बनाउँछ । अनि पूँजीवादले सिमित मुख्य घरका व्यक्तिहरुको हातमा देशको सम्पत्ति र स्रोतसाधन पुर्याउँछ । यसको अर्थ असंख्य गरिब जनतालाई दुःख हुनु हो । अब अहिले सेयर कारोबारको कुल ४४ खर्ब पूँजी २७ खर्बमा झरेको छ । झण्डै १७ खर्ब रुपैयाँ त डुब्यो नि ! अब त्यो डुबेकाहरुमध्ये कतिले आत्महत्या गरे, उनीहरुको डुबेको सम्पत्तिको क्षतिपूर्ति कसले दिन्छ ? एक सय जना सेयर कारोबारीले सेयर बजारलाई घटाउने र बढाउने गर्छन् । तर, सरकार निरिह छ, अनि जनताचाहिँ मर्नुपर्ने ? त्यसकारण यस्तो व्यवस्था राख्नु हुँदैन ।
४. त्यसो भए तपाईको निष्कर्ष सेयर बजार खारेज नै गर्नुपर्छ भन्ने हो ?
गरिब जनता मार्ने नीति राख्न मिल्छ र ? केही सयजना कारोबारीले सेयर बजारलाई कब्जा गरेका छन्, अनि यस्तो चिज राखेर जनताको कल्याण हुन्छ ? यसरी त बर्बाद नै हुन्छ ।
५. बजार नै खारेज गर्दा त झन् धेरै डुब्छन् नि होइन र ?
त्यो त हो । तर, त्यसको जिम्मा सरकारले लिनुपर्छ । सरकार भनेकै त्यसैको लागि चाहिएको त हो । सरकार भनेको प्रधानमन्त्री-मन्त्री भएर झण्डावाला गाडीमा सिंहदरबारको भित्र बाहिर गर्ने होइन नि । यस्तै चल्ने हो भने त यो सेयर बजारले झन् दुःख दिन्छ । सारा चिज विदेशबाट आयात हुन्छ, अनि जनतालाई सेयरमा लगानी लगाएर डुबाउनु त भएन नि ।
६. समस्या बजारमा पक्कै छन् । तर समस्याको त समाधान गर्ने हो, खारेजी नै विकल्प हो र ?
होइन । ठगीजस्तो भईरहेको काम कसरी समाधान हुन्छ खारेज नगरी ? समाधान हुने भएको भए पहिले नै भइसक्थ्यो नि । सेयर घटेर मान्छेहरु डुबिरहेका छन्, झनझन् डुब्ने स्थिति छ । जनतालाई बरु अरु काममा लगाउनुपर्यो । भएजति सबै सेयर बजारमा लाग्ने अनि हासिल गरेको विशेषज्ञता कामै नलाग्ने स्थिति भयो यो देशमा ।
७. विकल्प नखोजी खारेज नै गर्नुपर्छ भन्नु त फेरि पनि सार्है हतार हुँदैन र ?
के को हतार ? अब लगानीकर्ता झन्झन् डुबिरहेकाछन्, आत्महत्या गर्नेहरु झन् बढ्दैछन्, अनि खारेज नगरी हुन्छ त ? अप्रेशन गर्नुपर्ने बिरामीलाई मलहमपट्टी मात्रै लगाएर हुँदैन नि । मलहमपट्टी मात्रै लगाउँदा झन् घाउ बल्झिन्छ नि । धेरैले बैंक, वित्तीय संस्था र सहकारीबाट ऋण लिएर सेयर बजारमा लगाएका छन् । अहिले सेयर बजारमा पनि डुब्यो, ऋण तिर्न पनि सकेनन् । बैंक तथा वित्तीय संस्था पनि डुब्ने, सहकारी पनि डुब्ने, जनता पनि डुब्ने अनि के गर्ने त ? त्यसैले अब कोही पनि नडुब्ने गरी सबैको जिम्मा सरकारले लिनुपर्छ र सेयर बजारमा कारोबार नगर्नुस् भन्नुपर्छ । यो सरकारले सेयर बजारलाई सुधार गर्छ भनेर सोच्नु नै गलत हो, त्यसैले सेयर बजार खारेज नै गर्नुपर्छ ।
८. तपाईंको चाहिँ सेयरमा लगानी छ कि छैन ?
छैन । सेयर बजारमा लगानी नै गरेको छैन । डिम्याट खाता पनि छैन, केही छैन अहिलेसम्म । मैले त जनताको गुनासो आएको भएर मात्रै यो कुरा उठाएको हो ।